प्राचीन तपोभूमि धार्मिक पर्यटकीयस्थल बन्दै

प्राचीन तपोभूमि धार्मिक पर्यटकीयस्थल बन्दै

लोकसंवाद संवाददाता  |  पर्यटन  |  मंसिर १२, २०७७

पोखरा । पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ । कर्दम–कश्यपजस्ता ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस मन्दिर परिसरमा नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिले भौतिक पूर्वाधार विकासका योजनालाई अघि बढाएको हो । 

प्राचीनकालदेखि साधकहरूको अभिलाषा पूर्ण गर्ने तीर्थस्थलका रूपमा परिचित भए पनि यस तीर्थस्थलको आवश्यक प्रचारप्रसार भने हुन नसकेको नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यले बताउनुभयो । तीर्थस्थलको महत्वलाई थप उजागर गर्दै पूर्वाधार विकासका योजनालाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो । 'धाम परिसरमा द्वादश ज्योर्तिलिङ््गसहित जमिनमुनि १५ फिट गहिराइ, ३२ फिट लम्बाइ र १५ फिट चौडाइको गर्भगृहमा ११ फिट उचाइको श्री नर्मदेश्वर शिवलिङ्ग स्थापना गरिनेछ', उहाँले भन्नुभयो । 

बाह्र रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा सर्वेश्वर शिव, श्रीरामचन्द्र, श्रीकृष्ण आदि भगवान्का लीला शैलीमा आधारित कलात्मक मूर्ति रहने समितिले जनाएको छ । मन्दिरको उचाइ जमिनको सतहबाट ४५ फिट र चौडाइ ५० फिट हुने जानकारी दिँदै आचार्यले नेपाल आमा एवं अवतारी महापुरुषहरूको मूर्ति स्थापना गरी यस क्षेत्रकै अपूर्व दर्शनीय धाम बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

समितिले धाममा साधु, सन्त, वृद्धवृद्धा, ब्रम्हचारी, बटुक र भक्तजनका लागि नित्य भोजन, आवासका साथै अन्य अतिथि तथा धार्मिक पर्यटकका लागि प्राथमिकतानुसार आतिथ्य भोजन उपलब्ध गराउँदै आएको छ । उक्त कार्यका लागि मुठ्ठीदानको आह्वान गरिएको छ । समितिले धाममा गौशाला, विशाल अतिथिगृह, पोखरा तथा मुक्तिनाथमा आउनुहुने तीर्थालुका लागि सुविधासम्पन्न भवन, गौशाला, यज्ञमण्डप, १०८ शिवलिङ्ग, धर्मकुवा, महाकालेश्वर अखण्ड दीप, १०८ दीपलगायतको निर्माणका लागि लघु तथा गुरुयोजना अघि सारेको छ । धाममा वैदिक सनातन आधुनिक गुरुकुल पाठशाला स्थापनाको लक्ष्यसमेत राखिएको अध्यक्ष आचार्यले बताउनुभयो । गुरुयोजनानुसार पूर्वाधार निर्माणका लागि रु आठ करोड लागतको अनुमान गरिएको बताउँदै उहाँले लक्षित योजनामध्ये ३५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

ऋषिमुनिहरूको प्राचीन तपोभूमिका रूपमा रहेको यस तीर्थस्थलको अस्तित्व कहिलेदेखि रहेको भन्ने अझै कुनै यकिन तथ्य भने अनुसन्धानकै क्रममा रहेको नर्मदेश्वर मोक्षश्रमधामका पीठाधीश इञ्जिनीयर स्वामी अनुराग (मौनीबाबा) ले बताउनुभयो । यस तीर्थलाई पितृतीर्थका रूपमा समेत लिइने उहाँले जानकारी दिनुभयो । 'लक्षित योजनालाई सम्पन्न गर्दै यस धामलाई यस क्षेत्रकै महत्वपूर्ण धार्मिक पर्यटकीय तीर्थस्थलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ', निर्माणाधीन मन्दिरको नक्सा परिकल्पनाकारसमेत रहनुभएका पीठाधीश मौनीबाबाले भन्नुभयो ।

धामका सम्बन्धमा केही रोक किंवदन्तीसमेत रहेका छन् । परापूर्वकालमा बरवृक्षको छहारीमा बसी तपस्या, साधना एवं यज्ञादि कार्य हुने भएकाले नर्मदेवर भगवान्लाई दायाँपारी बरवृक्षको समीप हुँदै बग्ने नदीलाई बरगाछी भनिएको र पछि अपभ्रंश भई बगादी भनिएको किंवदन्ती छ । यसै स्थलमा कुनै साधकले तपस्या र साधनाको माध्यमबाट विशेष धार्मिक पर्वमा अदृश्य पुजारीको माध्यमबाट पूजाअर्चना गर्ने गरेको र पूजाका लागि भक्तजन पुग्दा पूजा भइसकेको देखिने जनश्रुति अझै पनि कायमै छ । धाममा वैशाख, साउन र माघे सङ्क्रान्तिका साथै शिवरात्रि, नवदुर्गा, हरिशयनी एकादशी, हरिबोधिनी एकादशी, रामनवमी आदि महत्वपूर्ण तिथिमा विशेष मेला लाग्ने गर्दछ । धामको गरिमा र महत्वलाई उजागर गर्ने लक्ष्यका साथ समितिले प्रत्येक महिनाको शुक्ल पक्षको एकादशी तिथिमा विशेष गङ्गा आरती गर्दै आएको छ । देश–विदेशबाट ख्याती कमाएका सन्त महन्तको आगमन भइरहने यस धाममा विसं २०७३ फागुन ११ गतेदेखि २१ गतेसम्म सन्त सम्मेलन गरिएको थियो ।

महत्वपूर्ण तीर्थस्थल भएर पनि प्रचारप्रसारको अभावमा पछि परेको यस धामलाई धार्मिक पर्यटकीय तीर्थस्थलका रूपमा विकास गर्ने धेरै सम्भावना रहेको समितिका सल्लाहकार पीताम्बर पौडेलले बताउनुभयो । प्रचारप्रसारका साथै लक्षित योजनालाई सम्पन्न गर्न सकेमा यस क्षेत्रको समग्र विकासमा पनि महत्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो ।