ओशोका उनन्तीस शब्दले एक मानिसको अहम् भस्मीसात बनायो !

ओशोका उनन्तीस शब्दले एक मानिसको अहम् भस्मीसात बनायो !

ज्ञानमित्र  |  साहित्य  |  मंसिर १२, २०७७

मेरो जीवनको दोस्रो एवं काठमाडाै‌ंको पहिलो जागिर थियो ‘मार्केटिङ्ग लाइन’ मा । २०४५ सालको दशै‌ं पछि हुलास वायर इण्डस्ट्रीजको ‘केमिस्ट’ पदको जागिर छाडेर ‘प्रक्टर एण्ड गैम्बल इन्डिया लिमिटेडको सेल्सम्यान’ को रुपमा  मैले राजधानी प्रवेश गरेको थिएँ । काम थियो कम्पनीका उत्पादनहरु रिक्सामा हालेर काठमाडाै‌ंको पसल पसलमा गई बेच्नु पर्ने ।

शहरबाट सर्वथा अनभिज्ञ, कुन बाटो कहाँ पुग्छ, कता जोडिन्छ, केही थाहा नभएको अवस्थामा रिक्सा चालक नै मेरा पथ प्रदर्शक हुन्थे । 

दिनभरी शहरका गल्ली–गल्लीमा हिंडेर त्यहाँ रहेका पसलमा कम्पनीको माल– सामान बेचेर साँझमा ‘कम्पनी डीलर’लाई हिसाब बुझाउनु पर्दथ्यो । यसरी नै रिक्साको पछि पछि काठमाडाै‌ंचहारेर दुई वर्ष बिताइयो । 

त्यसपछि कम्पनीले तलब वृद्धि गर्दै पुर्वाञ्चल हेर्ने जिम्मा दिएर विराटनगर पठायो । अब भने काम केही हलुका भएको थियो, स्थानीय ‘डीलर’ले एउटा सहायक उपलब्ध गराउँथ्यो । सारा हिसाब–किताब, सामानको रेखदेख, लेनदेन उनै सहायकले गर्थे । 

‘मार्केटिंङ्ग सेक्टर’को कामले नै मलाई तराई र पहाड घुम्ने मौका मिल्यो । नत्र, आफ्नो बजेटले नेपाल घुम्ने सपना सपना नै  रहने थियो । चार महिनामै म सारा पुर्वाञ्चल घुमीसकेको थिएँ । 

अब त्यहाँ बस्ने कुनै आकर्षण बाँकी रहेनन् । मैले कम्पनीसँग सरुवा मागें र पाई पनि हालें । म पुनः काठमाडाै‌ँआएँ । अबको काम भने काठमाडौँ बसेर वीरगंजदेखि हेटौडा, नारायणघाट, बुटवल, भैरहवा, सुर्खेत, नेपालगंज, दाङ, घनगढी र पोखराको मासिक भ्रमण गर्नुपर्ने । 

पाँच सात दिन काठमाडौँ बसाई बाहेक महिना भरी नै भ्रमण । घुमन्ते स्वभावको भएका हुनाले यो कार्य मेरो स्वभाव अनुकुलको जुरेको थियो ।

काठमाडौँमा भएको बेला मेरा तत्कालीन साथीहरु थिए रमेश अमात्य, प्रभाकर शर्मा, राजविक्रम शाह, सम्राट सापकोटा, वीरेन्द्र हमाल, खेम शर्मा, रविविक्रम शाह, सारङ्गा श्रेष्ठ, हरि प्रसाद रिमाल, स्वर्गीय उमेशमान मल्ल ,सुरेश मान मल्ल, लक्ष्मी बस्नेत र तत्कालीन राष्ट्रीय नाचघरका सबै कलाकार ।   

प्रायः नाचघरतिर, सम्राटको न्यूरोड पछाडिको कीटनाशक पसल वा वनकाली गएर समय बिताइन्थ्यो । वनकाली गएर साहित्य वा नाट्य चर्चा गर्नेमा प्रमुख हुन्थे, रमेश अमात्य, प्रभाकर शर्मा, वीरेन्द्र हमाल र म । 

चोखो माया फिल्म बन्दा ताका हाम्रो केन्द्रविन्दु बनेको थियो राजविक्रम शाहको भोटेबहाल स्थित डेरा । बडो फिल्ममय, नाट्यमय, साहित्यमय थिए ती दिन । 

ठाउँ ठाउँमा हाम्रा चिया अखाडाहरु थिए । प्रभाकर, वीरेन्द्र, सारङ्गा श्रेष्ठ, लक्ष्मी बस्नेतहरुका लागि ती संघर्षका दिन थिए, उनीहरु कला क्षेत्रमा आफ्नो व्यक्तित्व बनाउन अभावमय परिश्रम गरी रहेका थिए ।

त्यो बेला म ओशो रजनीशको बडो प्रशंसक थिएँ, मसँग सँधै उनको कुनै न कुनै पुस्तक हुन्थ्यो । त्यो बेलासम्म ओशो काठमाडाै‌ंमा सम्मानित भइसकेका थिएनन, उनको प्रशंसक हुनु भनेको अन्य साथीहरुको नजरमा गएगुज्रेको  मानिस झैं होइन्थ्यो । 

उपलब्ध भएसम्म म शनिवार सोल्टी पछाडीको आशीष ध्यान केन्द्र जान्थें र गरिन्थ्यो त्यहाँ आउनेहरुसँग मुखौटे ब्रह्मज्ञान चर्चा । 

ओशो नरहेको खबर आएको दिन पनि म आशीष ध्यान केन्द्रमै थिएँ । त्यो नै मेरो आशीष ध्यान केन्द्रको अन्तिम दिन थियो । 

मलाई अझै सम्झना छ त्यो दिन ध्यान केन्द्रमा मसँग मेरो बिराटनगरको साथी सुमन निरौला पनि थियो । स्वामी अरुणले ओशोले शरीर छाडेको समाचार दिनु हुँदा माहौल गमगीन बनेको थियो । 

ओशोलाई भेट्दासम्म म भैरहवाको ‘टप’को व्यवसायी थिएँ, भैरहवाको सबैभन्दा ठूलो थोक किराना पसल मेरै थियो, यही पसल । ओशोलाई भेटे पछि म आन्तरिक सन्यासी भएँ । मेरै पसलमा काम गर्नेहरु पसलबाट चोरेर अहिले ठूला व्यापारी बनेका छन् । म उनीहरुले चोरेको द्रष्टा भावले हेर्थें, फैसला गर्ने, दण्ड दिने म भित्रको अहम भस्मीसात भइसकेको थियो । 

सुमन त्यो बेला कुपण्डोलको एकजना साहित्यकारको घरमा डेरा गरी बस्थ्यो । त्यो रात सुमनकै डेरामा गई बियर खाँदै ओशोलाई विदा गरेको कहिल्यै बिर्सन सकिंदैन । २२–२५ दिनको वीरगंजदेखि धनगढीसम्मको यात्रा उप्रान्त मेरो ५–७ दिने काठमाडाै‌ं प्रवास रमाइलैसँग व्यतीत हुन्थ्यो ।

भैरहवामा कम्पनीको डिलर थियो ‘आदित्य किराना स्टोर’। पहिलो पटक भैरहवा जाँदाको संस्मरण मेरो जीवनको महत्वपूर्ण पाठ भयो, शायद त्यो नै थियो मेरो सन्यासी जीवनमा रुपान्तरण हुने निर्णायक बिन्दु । 

डीलरको मेनरोड स्थित पसलमा पुगेर सामान्य कुराकानी पछि म बजार भ्रमणमा जान तत्पर भएँ, मेरा सहायक तैयारी भई सकेका थिए ।

हिंड्न लाग्दा पसल मालिकले भने–‘म बाह्र बजे पसल बन्द गर्छु तपाईँ बाह्र बजे फर्किनु होला । किन ? म त काम पूरा गरी साँझमा मात्र फर्किन्छु, मैले आफ्नै पारामा भनें ।

होइन, तपाइँ सँधै आफ्नै हिसाबले काम गर्नुहुन्छ, आज म मित्रको हिसाबले दिन बिताउनुसन, उनले हाँस्दै भने ।

उनको हाँसोमा निश्छलता थियो, म हुन्छ भनेर बाहिरिएँ । बाह्र बजे म उनको पसलमा पुनः हाजिर भएँ, उनले कामदारहरुलाई पसल बन्द गर्न भने । पाँच मिनेटमै पसल बन्द भयो । पसलको शटरमा ताला लागे पछि  कामदारबाट साँचोको झुप्पा लिंदै उनले मसँग ‘ल अब जाउँ’ भने । पाँच मिनेट उनीसँग हिंड्दा म उनका साथ पुगें उनको घरमा  ।

ठूलो हलमा लामो खाने मेच माथि सबै खाने कुराहरु राखिएका थिए, आठ दस वटा प्लेट सजिएका थिए । हामी मेचमा बस्दा अन्य चारजना पनि उपस्थित थिए । 

खाँदै गर्दा उनले भने–मेरो पसलमा आएको मानिस, मलाई भेट्न आएको मानिससँग एक छाक खाना नखाई मलाई सन्तुष्टि हुँदैन, म एक्लै खान सक्दिन यो मेरो शौक हो, कमजोरी हो, के हो मलाई थाहा छैन ? यसैका लागि मैले तपाईँलाई बाह्र बजे बोलाएको थिएँ । 

खाना खाएको ३०–४० मिनेट पछि हामी दुबैजना फेरी पसल आयौँ । र, म फेरी सहायकसँग बजार व्यापारका लागि घुम्न निस्कें ।

५ बजेतिर काम सकेर आइयो । उनी मेरो पर्खाइमा थिए, उनले एउटा कामदारलाई चिया ल्याउन घर पठाए र मसँग गफ गर्न थाले ।

उनले सोधे, तपाईँले ओशोका  पुस्तक पढ्न थालेको कति भयो ? म छक्क परें यिनलाई कसरी थाहा भयो म ओशोका पुस्तक पढ्छु ? तपाईँले कसरी थाहा पाउनु भयो म ओशो का पुस्तक पढ्ने गर्छु ?

यसमा कुनै ठूलो रहस्य होइन । पुरीजी (मेरा तत्कालीन बोस) भैरहवा आउँदा म उहाँसँग ओशोको चर्चा गर्छु ।  उहाँले नै भन्नु भएको थियो तपाई ओशोलाई खुबै पढ्नु हुन्छ ।

मलाई राम्ररी सम्झना छ मैले ओशोलाई कहिले देखि पढ्न थालेको हुँ, उहाँ भगवान रजनीश हुँदादेखि नै मैले उहाँका पुस्तक पढ्न प्रारम्भ गरेको थिएँ । मेरा पिताजी ज्योतिषका राम्रै ज्ञाता हुनु हुन्थ्यो र साथै पढ्नका अत्यन्त नशेडी । 

उहाँसँग तमाम दुर्लभ पुस्तकहरुको संकलन थियो । मेरो दुर्भाग्य मैले भारतबाट नेपाल बसाई सर्दा ती पुस्तक ल्याउन सकिन । उहाँको संकलनमा ओशोका तमाम पुस्तक थिए ।

उहाँ सातामा एक पटक शहर जानु हुन्थ्यो र प्रत्येक पटक ओशोका १–२ वटा पुस्तक र मनोहर कहानिया, नूतन कहानिया लिएर आउनु हुन्थ्यो । 

आचार्य श्री रामचन्द्र शर्माको मासिक पत्रिका ‘अखण्ड ज्योति’ को उहाँ आजीवन सदस्य हुनुहुन्थ्यो । महिनै पिच्छे अखण्ड ज्योति घरमै आई पुग्थ्यो । सन् १९७६ तिर मैले भगवान रजनीश लिखित पुस्तक जुन ‘पकेट बुक साइज’मा थियो ‘ज्योतिष अद्धैतका  विज्ञान’ पढेको थिएँ । यो नै मैले पढेको ओशोको पहिलो पुस्तक थियो ।

मैले उनलाई सारा वृतान्त  सुनाएँ, उनले चाख मानेर सुने र मसँग सोधें – होइन १९७६ मा तपाईँकति वर्षको  हुनुहुन्थ्यो ?

शायद यो प्रसंग २०४८/०४९ तिरको हो । त्यो बेला मेरो उमेर २५/२६ वर्ष रहेको थियो । ओशोको पहिलो पुस्तक पढ्दा मेरो उमेर जम्मा १०/११ थियो र म ६ कक्षा पढ्दै थिएँ ।

दस वर्षको बच्चाले चम्पक–पराग (कार्टूनका किताब) नपढेर ओशोलाई पढ्यो उनले हाँस्दै भने । मैले पनि उनकै शैलीमा जबाब दिएँ, बच्चालाई सित्तैमा जे उपलब्ध थियो त्यै पढ्यो ।  

‘के तपाईले ओशोलाई भेट्नु भएको छ ?’

मेरो उत्तर छैन भनेर सुनेपछि उनले भने, मैले २०४२  सालमा ओशो नेपाल आउँदा भेटेको थिएँ । के मैले ओशोलाई भेट्दाको त्यो प्रसँग तपाईँ सुन्न चाहनु हुन्छ ?

मेरो सकारात्मक जवाफ पाए पछी उनले भने – ओशो सोल्टी होटलमा बस्दा म उहाँलाई भेट्न गएको थिएँ ।  उहाँसँग प्रत्यक्ष भेट गर्ने र कुराकानी गर्ने अवसर त पाइएन । 

तर, म उहाँको प्रवचन सुन्न प्रत्येक दिन सोल्टीको सभागारमा पुगेको हुन्थें । उहाँ काठमाडाैं बसुन्जेल म पनि काठमाडाैं बसें, मैले अनेकौं पटक उहाँलाई प्रत्यक्ष सुन्ने अवसर पाएको छु ।

एक दिन सोल्टी होटलको सभागारमा भइरहेको सभामा सूचना दिइयो, आज ओशोले श्रोताहरुका प्रश्नको जवाफ दिनु हुन्छ । तपाईँहरु आफ्ना प्रश्न लेखेर दिनुस, हाम्रा स्वयंसेवक तपाईँबाट प्रश्न संकलित गर्न आउनु हुन्छ । ओशोले चुनिएका तीनवटा प्रश्नको मात्र उत्तर गर्नु हुन्छ ।

म ओशोलाई पटक्कै नबुझेको मानिस, मात्र समाजमा व्याप्त उहाँको चर्चा सुनेको व्यक्ति, त्यसमा पनि अधिकांश नकारात्मक चर्चा सुनेको आम नागरिक । मैले पनि एउटा प्रश्न लेखेर संकलनकर्तालाई सुम्पीदिएँ । 

ओशो आफ्नै अन्दाजमा, मानिस होइन कुनै ‘मेशीन’ हिंडे झैं प्रत्येक पाइला सन्तुलित राख्दै  आएर मञ्चमा राखेको सोफामा बस्नुभयो । 

बस्नु पूर्व सन्तुलित ढंगले यन्त्रवत दुबै हात माथि लगेर उपस्थित जनसमुदायलाई नमस्कार गर्नुभो, उहाँको एक एक कृत्यमा गजबको सन्तुलन र संयम थियो । 

सोफामा आसीन भए पछि दायाँ पट्टीको टेबुलमा राखिएका कागजमाथी निर्लिप्त दृष्टिपात गर्नु भयो । र, मानाै‌ं आफ्नो दायाँ हातलाई आदेश दिँदै हात टेबुलतिर लानु भयो ।

प्रश्न लेखिएको एउटा कागजको टुक्रा उहाँको निर्देश अनुसार उहाँको हातले उठाएर आँखाबाट पढ्ने दूरीमा ल्याएर स्थिर भयो ।                      

पहिला प्रश्न आफैं पढ्नु भयो र पढी सके पछि ‘हल’मा चिर परिचित गम्भीर स्वर सुनियो– ‘पहला प्रश्न’ । उहाँले प्रश्न पढी सके पछि मेरो मनमा भने निराशा छायो किनकी यो मेरो प्रश्न थिएन । मेरो प्रश्नको उत्तर ओशोबाट प्राप्त हुने एक तिहाई सम्भावना नष्ट भइ सकेको थियो । 

ओशो बोली राख्नु भएको थियो, मात्र बोली राख्नु भएको थियो ।  एवंरीतले पहिलो प्रश्नको उत्तर दिए पछि उहाँले यन्त्रवत दोश्रो कागजको टुक्रा उठाउनु भयो । मेरो हृदयको धड्कन बढ्यो, यो मेरो प्रश्न हुन्छ कि ? मलाई जीवनमा यत्तिको उत्तेजना कहिले पनि भएको थिएन ।  

ओशोले प्रश्न पढे पछि मलाई झन निराशा भयो । शायद मैले लेखेको कागजको भाग्यमा ओशोको स्पर्श पाउनु रहेको थिएन । दोश्रो प्रश्नको उत्तर पूरा भए पछि उहाँको हात पुनः कागजको खोस्टो उठाउन लम्कियो ।  

मेरो हृदय उच्च आवेगमा कम्पित हुन थाल्यो, यो अन्तिम अवसर हो । आशा, निराशा, हताशा सबै–सबै भावले मेरो मस्तिष्क उद्वेलित भइरहेको थियो । उहाँको स्वर सुनियो, तीसरा प्रश्न, खूबसूरत प्रश्न ! 

‘खूबसूरत प्रश्न’ भने पछि उहाँले पूरा प्रश्न पढ्नको बिचमा दस सेकेण्डको अन्तराल पनि थिएन । तपाईँ विश्वास गर्न सक्नु हुन्न, यो दस सेकेण्डको अवधि मेरा लागि निराशाको लामो कालखण्ड बन्यो । 

तेश्रो प्रश्नलाई उहाँले ‘खूबसूरत प्रश्न’ भन्नु भयो, मेरो प्रश्न त उहाँका लागि खूबसूरत हुन सक्दैन । पक्कै यो उहाँको कुनै परम शिष्यले गरेको गरिमामय प्रश्न होला । मेरो अवसर समाप्त भयो । 

मेरो प्रश्नमा त्यो सामर्थ्य कहाँ जे ओशोले खूबसूरत  प्रश्न भन्नु हुन्छ ? यो झण्डै दस सेकेण्डको समयमा मैले घण्टौंमा गर्न नसकिने नैराशिक चिन्तन गरें । 

मनले भन्यो तैंले त्यो प्रश्न नसोधेर अरु कुनै प्रश्न सोधेको भए शायद छनौटमा पर्थ्यो कि ? प्रश्न छनौट गर्नेहरुले पनि कहीं आफ्नो गुरुको आलोचना गरिएको प्रश्न रोज्छन र ? मेरो मन मलाई नै दोषी बनाएर झन झन व्यथित हुन थाल्यो ।  यस पछि भैरहवाका मेरा मित्रले,  अब यस पछिको सारा वृतान्त तपाईँ ओशोकै वाणीमा सुन्नुहोस भनी आफ्नो बोलीमा विराम लाउँदै टेप रेकर्डर बजाए ।  

‘थर्ड क्वेश्चन, अ वण्डरफुल क्वेश्चन, भगवान यु से वी अल आर गड, इफ इट इज ट्रयु, देन व्हाई शुड वी नीड यु?’

‘यस आइ अगेन से, यू अल आर गड इट इज ट्रयु, बट  हाउ लँग यु शुड क्यारी दिस इफ यु अल नीड मी ।  विदआउट इफ यु अल आर गड ।’

ओशोको उत्तर सकियो । प्रायः ओशो जुन पनि प्रश्नको लम्बेतान उत्तर दिन्थे । यहाँ सम्म कि प्रश्नकर्ताले  उनको शब्दजालमा अल्झेर आफ्नो प्रश्न नै बिर्सिसकेको हुन्छ । तर, आदित्य किराना स्टोर भैरहवाका ती भद्रको १७ शब्दको प्रश्नको प्रत्युत्तर ओशोले २९ शब्दमै फर्काए ।    

ओशो शान्त भए पछी मित्र भन्न थाले –यस घटनापछि मेरो जीवनसँगसँगै आबाद भयो, बर्बाद भयो । म आन्तरिक रुपमा जति सुखी, खुशी र सन्तुष्ट हुँदै गएँ भौतिक रुपमा त्यति नै बर्बाद हुँदै गएँ । यस प्रकरण पछि म ओशोलाई पढ्न थालेंं । पढें, उनले भनेको संसारमा साक्षी भएर बाँच, जे भइ रहेछ हुन देऊ, द्रष्टाभावले हेर मात्र, निर्णायक नबन । 

ओशोलाई भेट्दासम्म म भैरहवाको ‘टप’को व्यवसायी थिएँ, भैरहवाको सबैभन्दा ठूलो थोक किराना पसल मेरै थियो, यही पसल । ओशोलाई भेटे पछि म आन्तरिक सन्यासी भएँ । मेरै पसलमा काम गर्नेहरु पसलबाट चोरेर अहिले ठूला व्यापारी बनेका छन् । म उनीहरुले चोरेको द्रष्टा भावले हेर्थें, फैसला गर्ने, दण्ड दिने म भित्रको अहम भस्मीसात भइसकेको थियो । 

बाहिरी भौतिक रुपमा जति सुकै तन्नम हुँदै गए पनि म आफूभित्रको आनन्द तपाईँलाई भन्न सक्दिन । मैले थाहा पाइसकेको थिएँ– शास्त्र र शास्ताका वाणी पढेर र सुनेर होइन, आफूमा लागू गरेर मात्रै जीवन परिवर्तित हुन्छ । 

अब मैले ओशोलाई पढ्न पनि छाडिदिएँ, मात्र द्रष्टाभावले जीवन जिउँछु । म आनन्दित छु, केही अन्य हुने चाहना छैन, केही पाउने इच्छा छैन । बस, तपाईँहरु जस्तो मित्र भेट्दा ओशोको यो प्रसँग साटासाट गर्छु । तनको सन्यासी हुन्छु कि हुन्न थाहा छैन, म मनले  सन्यासी हुँ ।

उनीसँगको यो भेट मलाई सन्यासी जीवनमा प्रवृत गराउने कोसे ढुँगा साबित भयो । त्यो बेलासम्म म दर्शन र कुरौटे अध्यात्मको प्रतिमूर्ति मात्रै थिएँ । 

उनलाई भेटे पछि  विचारमा आयो– जे गर्छौ त्यो भएर गर, जे भन्छौ, त्यो गरेर बाँच । सिद्धान्त र उपदेश चिया पिउँदै गरिने गफ होइनन्, उपदेश अनुुसार बाँचेर देखाऊ ।

यस घटनाको झन्डै दस वर्ष पछि म पूर्णरूपेण सन्यासी बनें । सन्यासी बनेदेखि अहिलेसम्म पनि साथीभाइले सोध्ने गर्छन - तपाईँको जीवनमा यस्तो कुन मोड आयो जसले तपाईँ सन्यासी बन्नु भयो ?

यस प्रश्नको मसँग केही जबाब हुन्न । कुनै पनि कुरा हुनलाई सैयौं कारणको पिरामिड बन्नु पर्छ । तपाईँलाई ज्वरो आउँदा के सोझै ज्वरो आएको हुन्छ र ? 

अब त मेडिकल साइन्स पनि भन्छ – शरीरमा ज्वरो आउनलाई सैयौं कारण संग्रहित भए पछि मात्रै ज्वरो आउँछ । जस्तो कि तपाईँको शरीरमा ९९ कारण संग्रहित भई बसेका हुन्छन् । तर, ज्वरो देखा परिसकेको हुन्न ।

तपाईँ बजार जानु हुन्छ । बाटोको धूलोले, वातावरणीय प्रदुषणले, तपाईँले खाएको आइसक्रीमले अथवा बजारमा खाएको कुनै खाने कुराको प्रभावले त्यो सैयौं कारणको पूर्ति गरी दिन्छ, त्यो अन्तिमको कारण जुटाई दिन्छ र तपाईँको शरीरमा ज्वरोको आगमन हुन्छ । 

तपाईँ हदै भए त्यो अन्तिमको कारण सम्झिन सक्नु हुन्छ । तर, शरीरमा पहिलादेखि संग्रहित रहेका ९९ कारणहरुको व्याख्या/विश्लेषण गर्नु कसैका लागि पनि सम्भव हुन्न । 

मेरो सन्यास यात्रा पनि यस्तै सैयौं कारणको पिरामिड संग्रहित भएका कारण फलित हुन सकेको हो । हो म इमानदारीका साथ भन्न सक्छु मेरो सन्यास रूपी पिरामिडमा सबैभन्दा ठूलो चट्टान भैरहवाका आदित्य किराना स्टोरका तिनै मित्रले लगाएका हुन् ।

मैले जीवनमा ओशोको माला झुण्डाएर हिंड्ने तमाम ओशोमार्गी भेटेको छु, संगत गरेको छु । सबैजना मात्र ओशोका प्रवक्ता, कुरौटे–मुखौटे अध्यात्मका धनी एवं यशस्वी प्रवर्तक ! आदित्य किराना स्टोरका ती मालिक जस्तो ओशोको निष्ठावान अनुयायी मैले भेटेको छैन । अझै भैरहवा पुग्दा उनको सम्झना आउँछ । तर, ‘मार्केटिङ्ग लाइन’ छाडे पछि फेरी कहिल्यै उनीसँग मेरो भेटघाट भएन । 

ओशोले मलाई कहिल्यै पनि प्रभावित तुल्याएनन् । उनका तमाम पुस्तकले मेरो मस्तिष्क खारिए पनि मेरो अन्तर्मन भने सँधै कर्कला झै रह्यो, बरु ओशोका ती ‘भर्चुअल’  अनुयायी मेरो जीवन यात्रामा मेरा गुमनाम गुरुका माफिक अंकित भए । 

शिक्षा त्यो हो जसले जीवन परिवर्तन गरोस, सूचनाको आदान प्रदानले मस्तिष्क भरिनु बाहेक अरु के नै हुन्छ ? सूचनाको संग्रहले व्यक्तिलाई अहँकारी बनाउँछ, अहँकार र अन्धकार एउटै सिक्काका दुइवटा पाटा हुन् । 

आजका ओशो सन्यासीलाई हेरेर र ओशोको नाममा भइरहेको व्यवसायले लाज लाग्छ । हरे शिव जुन ओशोले  जीवनभरी उधारो धर्मको विरोध गर्नमा आफ्नो शक्ति खर्चे आज उनी आफैं उधारो अध्यात्मका ‘हटकेक सेलिंग ब्राण्ड’ बनेका छन् ।