पुरञ्जन राई : विदेशी सैनिक ब्यारेक भित्रको  ‘विद्रोही’ लाहुरे, सफल व्यवसायीदेखि समाज सुधारकसम्म

पुरञ्जन राई :  विदेशी सैनिक ब्यारेक भित्रको  ‘विद्रोही’ लाहुरे, सफल व्यवसायीदेखि समाज सुधारकसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  मंसिर १३, २०७७

सामान्यतया व्यवस्था विरुद्धको विद्रोह सामान्य मानिन्छ र  पनि त्यो सहज हुने गर्दैन । अझ सैनिक ब्यारेक भित्रको आन्दोलन कल्पना बाहिरको कुरा हो । फलामको चिउरा चपाए सरह हो । त्यो पनि विदेशी भूमिमा अनि विदेशी सैनिक ब्यारेक भित्र जहाँ आन्दोलन, क्रान्ति र विद्रोह भन्ने शब्दले प्रवेशसम्म पाउने कुरा होइन । 

तर, यस्ता सैनिककाे  ‘कठोर र फलामे अनुशासन ’ भित्र पनि अन्याय, अत्याचार र विभेदका विरुद्ध खुला चुनौती मात्र नभई आन्दोलनको सफल नेतृत्व गर्दै त्यसलाई टुङ्गोमा पुर्‍याएर जागिरबाट समेत सहज अवतरण गर्दै पेन्सन पकाएर स्वदेश फर्कनु  भएका  ‘विद्रोही’  लाहुरेकाे नाम हो पुरञ्जन राई । 

साँच्चै भन्नुपर्दा उहाँका विद्रोहका यी हरफहरू लेख्दा पनि हात कामेका छन् । तर, त्यो कल्पनालाई समेत साकार पार्दै अनि हाल सफल व्यवसायी साथै थोरै नै सही केहीका लागि रोजीरोटी प्रदान गर्दै  आउनु भएका एक जना सफल ‘क्रान्तिकारी’ लाहुरेको  कथा हो यो । हालसम्म पनि उहाँ इमानदार  ‘काम’ र ‘विद्रोह’ दुवैको ब्याज खाँदै हुनुहुन्छ । एउटाको ‘पेन्सन’को रुपमा भने अर्कोको ‘सफल व्यवसायी’का रुपमा । 

यो आलेख यस्तै विभेद, विद्रोह अनि बन्धन विरुद्ध आवाज उठाउँदै  सफल हुँदै आउनु भएका पुरञ्जन राईको जीवन कथाकाे हो । 

पारिवारिक अवस्था

उहाँको बाजे परशुराम राई त्यस बेलाको जिम्मावाल । तत्कालीन श्री ३ को समयमा जनताले बाउन्न ढोके घर बनाउन नपाउने बेलामा पनि उहाँको बाजेले बाउन्न ढोके घर बनाउनु भएको थियो । हालसम्म पनि उक्त घर छँदै छ । तर, मर्मत सम्भारको अभावमा उक्त घर जीर्ण भने बनेको छ । 

उहाँले केही समय अघि करिब एक महिना गाउँमा बसेर उक्त बाउन्न ढोके घरको मर्मत सम्भार पनि गर्नुभएको थियो । तर, अहिले व्यस्तताका कारण उहाँले त्यो हेर्न भने भ्याउनु भएको छैन । उहाँको बाजे त्यो बेलाकाे जिम्मावाल भए पनि उहाँ आफ्नो परिवारलाई मध्यम स्तरको नै भन्न रुचाउनुहुन्छ । 

उहाँको बाजेको नौ जना बज्यै । त्यस कारण पनि साह्रै ठूलो परिवार । प्रायः मुकारुङ्गहरु उहाँहरूको कतै न कतैबाट साइनो सम्बन्ध पर्ने बताउनुहुन्छ उहाँ । श्रवण मुकारुङदेखि बुलु मुकारुङ अनि आभा मुकारुङसम्म उहाँको साइनो जोडिन्छ । एउटै बाजेको सन्तान हो उहाँहरू ।

कतै कतै किताबमा उहाँको बाजेलाई सामन्तीको रुपमा चित्रित गरिएकोमा उहाँको चित्त दुखाई रहेछ । कारणमा उहाँ भन्नुहुन्छ, त्यो बेलाको परिवेश नै त्यस्तै थियो । राज्य प्रणाली नै त्यसै गरी चल्थ्यो । 

उहाँहरूको अहिले पनि सयौँ रोपनी डाँडा पाखा छन्, उहाँ भन्नुहुन्छ । तर, विडम्बना सबै आफ्नै काम अनि रोजगारी तथा विभिन्न बहानामा घर बाहिर हुँदा ती जग्गाहरू भने बाँझै छन् । 

उहाँको बुवा भीम प्रसाद राई । उहाँ भने जिल्लाको राजनीतिमै रम्नु भयो । नेपाली काँग्रेस पार्टीप्रति आबद्ध रहेर । एक पटक राष्ट्रिय पञ्चायतको सदस्यमा पनि चुनाव लड्नु भएको थियो । उहाँको बाजेको नौ जना बज्यै त्यसैले गर्दा सन्तानले डाँडाकाँडा ढाकोस् भन्ने उखान चरितार्थ हुन्छ उहाँको परिवारमा । 

जन्म र बाल्यकाल   

उहाँको दुई जना आमा । दुई जना आमाबाट नौ सन्तान । उहाँको आमातर्फ भने हाल दिदीबहिनी कोही पनि हुनुहुन्न ।  उहाँको जन्म भोजपुर जिल्लाको दिल्पा अन्नपूर्णमा भएको हो । २०१८ साल कात्तिक २१ गते आइतबार । उहाँको आधिकारिक दस्ताबेजमा पनि जन्म मिति यही नै छ । र, अर्को रोचक कुरा भनेको उहाँको चिनामा भएको नाम र हालको आधिकारिक नाम समेत उही नै छ । 

उहाँको बाल्यकाल पनि नेपालको सामान्य गाउँघरका केटाकेटीको जस्तै रह्यो । डन्डी बियो, पाङ्ग्रा अनि लुकिमारी खेलेर नै बितेको हो उहाँको बाल्यकाल पनि । अलि ठूलो भएपछि गुच्चा अनि खोप्री पनि खेल्नुभयो । अझ ठूलो भएपछि भने भलिबलसम्म हात पर्‍यो । तर, अहिले हामीले देख्ने भलिबल जस्तो भने होइन । 

आकार नमिलेको अनि तुनाले बानेको भलिबल अहिले हामी कल्पना पनि गर्न सक्दैनौं । तर, त्यस्ता भलिबल पनि हानियो, उहाँ भन्नुहुन्छ ।  कहिले काँही त सट हान्नेको हात त्यो गाँठोमा पर्दा भुतुक्कै हुने अचम्मको भलिबल पाे हुन्थ्यो त्याे, उहाँ सम्झनुहुन्छ । अनि सट उठाउन खोज्नेको हालत पनि उस्तै, त्यस बेलाका दिन सम्झेर उहाँ मुस्काउनु भयो । 

पछि भने लाहुरे दाजुभाइले आकार मिलेका भलिबल पठाउन थालेपछि त्यसले सुखद सम्झना दियो, उहाँ भन्नुहुन्छ । उहाँको हुर्काई तीन नं वडामा भएको हो । त्यो भनेको एकदमै मिश्रित समाज । बाहुन, क्षेत्री, नेवार, कुमाल, भुजेल दलित लगायत सबै तप्काका समूदायका मानिस थिए । नेवारहरू भने थिएनन् । 

मिश्रित समाजमा हुर्कँदा भने मिश्रित रहनसहन र संस्कृतिको बारेमा बुझ्न पाइयो । त्यसले समाजका हरेक तह तप्कालाई बुझ्न सजिलो बनाएको उहाँको अनुभव छ । जसले गर्दा नेपाली भाषामा समेत राम्रो पकड रहेको उहाँको बुझाई छ । कतिपय बाहुनहरू पनि उहाँहरूको भाषा बोल्थे, उहाँ भन्नुहुन्छ । 

उहाँको पल्टन दश गोर्खा राइफल हो । आन्दोलन पश्चात् सबै गोर्खा सिपाहीले पनि जिन्स पाइन्ट लाउन पाउने तथा अरु थुप्रै माग कार्यान्वयन गरेर उहाँ सन् १९९२ मा नेपाल फर्कनु भयो । उहाँको नोकरी अवधि करिब साँढे तेह्र वर्ष पुगेको थियो । तर, बिदा लगायत अन्य सुविधा जोडेर उहाँको नोकरी अवधि पन्ध्र वर्ष पुर्‍याइयो । र, उहाँ अहिले पन्ध्र वर्षकै पेन्सन थाप्दै हुनुहुन्छ । 

उहाँको बजू भने तामाङ त्यसकारण उहाँको मुहार हेरेर तपाईं त राई होइन भन्नेहरू पनि भेटिन्छन् । त्यसलाई उहाँको लवजले पनि मद्दत पुर्‍याउँछ । अनि घरमा पनि मातृभाषा नबोलेका कारण पनि मातृभाषा भने उहाँको कमजोर रह्यो । 

उहाँको बुवा राजनीतिमा लागेका कारण पनि पढ्नुपर्छ भन्ने एक प्रकारको सचेतता घरमा थियो । बुवाले जिल्लामा पनि धेरै स्कूलदेखि शैक्षिक चेतना विस्तार गर्न पनि ठूलो भूमिका खेलेको उहाँ बताउनुहुन्छ । 

राजनीतिक परिवार भएका कारण घरमा भिन्न प्रकारका मानिसको आउजाउ हुन्थ्यो । मानिसहरूसँग कसरी व्यवहार गर्नेदेखि लिएर समाजमा हुने गरेका राजनीतिक र अन्य कुरा पनि चासोका साथ हेरिन्थ्यो । यसले चेतनाको स्तर माथि लैजान निकै मद्दत गरेको उहाँको बुझाई छ । गोठाला, खेतालाहरू पनि हुन्थे घरमा । तर, तिनीहरूलाई काम लगाउन पनि आफू खेतबारीमा होमिनै पर्थ्याे, उहाँ भन्नुहुन्छ । 

गोबर सोहोर्नेदेखि ढिकी काट्नेसम्मका काम उहाँले गर्नुभएको छ । त्यसकारण अहिले पनि यदि जस्तोसुकै दुःख पाए पनि म गरी खान सक्छु भन्ने एक प्रकारको आत्मविश्वास आफूमा रहेको बताउनुहुन्छ, उहाँ ।

प्रारम्भिक शिक्षा 

उहाँको प्रारम्भिक शिक्षा अन्नपूर्ण स्कुलमा भएको हो । जो उहाँको घरबाट करिब दुई/तीन मिनेटको दूरीमा थियो । घण्टी लागेपछि खुर्र कुदेर स्कूल गए हुन्थ्यो, उहाँ भन्नुहुन्छ । 

उहाँको प्रारम्भिकदेखि माध्यमिक तहसम्मको सम्मूर्ण पढाई अन्नपूर्ण माविमा नै भएको हो । विद्यालय घरबाट दुई मिनेटको पैदल दूरीमा रहेका कारण घण्टी लागेपछि   कुद्दै  जानुहुन्थ्यो उहाँ । 

उहाँका अग्रजहरूले जस्तो भवन नै नभएको अवस्थामा भने उहाँले पढ्नु परेन । उहाँको पालोसम्म आइपुग्दा ढुङ्गा र माटोका भवनहरू बनिसकेको थिए । पर्याप्त मात्रामा डेस्क बेन्च नभए पनि गाउँघरका सिकर्मीले बनाएका डेस्क बेन्च भने आइसकेको थिए ।  उहाँको गाउँ तथा स्कूल भएको स्थान भोजपुरको पश्चिम भागको केन्द्रजस्तै भएको हुनाले पनि शैक्षिक चेतना भने अग्रणी रहेको बताउनुहुन्छ उहाँ । 

अनि लाहुरे दाजुभाइले शिक्षा सबैभन्दा महत्त्वपूर्ण हो भन्ने कुराको सन्देश दिएका कारण पनि शिक्षामा लगानी गर्ने प्रचलन रह्यो त्यहाँ ।  स्तरीय शिक्षाका लागि दार्जिलिङ तथा कालिम्पोङबाट शिक्षक लैजाने काम पनि भयो । कतिपय अवस्थामा लाहुरे दाजुभाइको शैक्षिक स्तर उति नभए पनि शिक्षक नभएका कारण उहाँहरूको व्यवहारिक शिक्षणले पनि राम्रै चेतना थप्ने काम गर्‍यो उहाँ भन्नुहुन्छ । 

उहाँले २०३६ सालमा एसएलसी दिनुभएको हो । त्यस बेलासम्म उहाँमा राजनीतिक चेतना जागृत भैसकेको थियो । तर, त्यो बुवाको भन्दा विपरीत । उहाँको झुकाव भने वामपन्थी राजनीतितिर थियो । 

जीवनको अर्को मोड 

एसएलसी दिएपछिको कुरा हो यो, उहाँ र उहाँको माइलो दाइ गाउँमा एउटा बिहे हेर्दैहुनुथ्यो राति । बुवाले आफ्नो सहयोगीलाई राति उहाँहरूलाई बोलाउन पठाउनु भयो ।

उहाँहरू सहयोगीको साथ लागेर घरमा आउनुभयो । घरमा एक जना ब्रिटिस आर्मीको अग्लो गोरो मान्छे बसिरहनु भएको रहेछ ।

घर आइसकेपछि बुवाले ल केटाहरू यिनै हुन् भनेर परिचय गराई दिनुभयो । अनि ती आर्मीका मानिसले आर्मीकै लवजमा के हो माइला अनि साइँला लाहुरे हुन जाने होइन  ? भनेर प्रश्नको शैलीमा आदेश दिनुभयो ।

त्यस बेलासम्म उहाँलाई लाहुरे बन्नका लागि राति बिहे हेर्न छोडेर बोलाइएको भन्ने मनको कुनै कुनामा पनि थिएन । शायद छोराहरू बिग्रन्छन् भन्ने अभिभावकीय चिन्ता होला यो, उहाँ भन्नुहुन्छ ।

त्यसबेला उहाँहरूले बुवाको अगाडि केही बोल्न सक्नुभएन । आर्मी दाईले फलानो दिन फलानो ठाउँमा आउने भनेर बोलावट भनौँ कि उर्दी लगाउनुभयो ।

साइँलाको अलि उचाइ पुग्दैन कि भन्ने कुरो पनि नउठेको होइन । उहाँ त्यस बेला भर्खर अठार वर्षको मात्र हुनुहुन्थ्यो । शायद उचाइको कुरोमा अलि अड्डी लिएको भए यो बेग्लै इतिहास पनि हुने थिएन होला, उहाँ भन्नुहुन्छ । 

लाहुरेको यात्रा

एसएलसीको नतिजा नआउँदै उहाँ लाहुरे हुन पुग्नुभयो । उहाँको विचार र लाहुरेको सैनिक परिवेश भने मेल खाइरहेको थिएन । तर, पनि बावुको चाहनामा कुठाराघात नहोस् भनेर जसोतसो उहाँ बाह्र तेह्र वर्ष भने लाहुरे नै हुनुभयो । 

आर्मी भनेको यस्तो ठाउँ रहेछ जहाँ सिनियरले ढुङ्गा देखाएर यो आलु हो नि भन्दा पनि हो त यो त आलु नै हो भनेर भन्नुपर्ने रहेछ । याे उहाँकाे भाेगाइ हाे । 

त्यहाँ कमजोर मानिसलाई केही उठाउने र माथिलाई केही तल झार्दै समान बनाइँदो रहेछ अनि त्यस्ता 'प्राणी'लाई सैनिक भनिँदो रहेछ भनेर बुझ्दै हुनुहुन्थ्यो उहाँ । आखिर यसो नगरेका खण्डमा आर्मीको चेन अफ कमान्ड जहिले पनि धराशायी हुने खतरा हुँदो रहेछ । 

उहाँलाई त्यहाँ भित्रको परिवेश बडो सकसपूर्ण भयो । कैयौँ अपमान र असमानता सहनु पर्‍यो त्यसको कुनै लेखाजोखा नै छैन, उहाँ भन्नुहुन्छ । 

ब्रिटिस सेना भित्रको आन्दोलन 

ब्रिटिस सेनाभित्र रहँदा उहाँले ठूला ठूला आन्दोलन तथा त्यसको नेतृत्व गर्नुभयो । जुन भनेको असम्भव प्रायः र कल्पना बाहिरको कुरा हो । एक जना विदेशी त्यो पनि सामान्य पदको मानिसले ब्रिटिस सेनाभित्रको आन्दोलन, त्यो कतैबाट पनि सम्भव र परिकल्पना बाहिरको कुरा हो । 

गोर्खा र गोरा सैनिकबीच हरेक कुरामा ठूलो विभेद थियो । खाने र अन्य सुविधामा मात्र नभएर लगाउने कुरासम्म यस्तै थियो । गोराहरूले आफूले चाहेको लगाउन पाउँथे भने गोर्खाले जिन्स पाइन्ट लगाउन समेत पाउँदैन थिए । त्यतिसम्म चरम असमानता र विभेद थियो ।

यस्ता कुराले उहाँमा चरम असन्तुष्टि जन्मायो । भित्रभित्रै औडाहा भएर आउँथ्यो । जसको परिणाम थियो सेनाभित्रको भद्र आन्दोलन । 

तरपनि त्यहाँ जाने अन्य गोर्खाहरू भने नोकरी अनि पैसाका लागि जाने भएका कारण कसैले केही बोल्ने हिम्मत नै राख्दैन थिए ।  उहाँलाई लाग्यो हामीले भोगेको यो अन्यायका विरुद्ध चेतना जगाउनु पर्छ । यसाे नगरेका खण्डमा भाेलिका लाहुरेले समेत याे अन्याय भाेगिरहनुपर्छ भन्ने लाग्याे उहाँलाइ । लामो समय बस्दा उहाँले याे अन्याय विरूद्धकाे  तयारी गरिरहनु भयो । 

तर, त्यो नाजायज किसिमले नभईकन विधि प्रक्रियामा गएर त्यसलाई चिर्नुपर्छ भन्ने उहाँलाई लाग्यो । त्यसका लागि उहाँको नेतृत्वमा ठूला ठूला आन्दोलन नै भए ।आन्दोलनको तयारी स्वरूप उहाँले राति ब्यारेक बाहिर चर्चमा गएर ठूला ठूला मिटिङ गर्नुभयो । आफू एक्लै कराउँदा त सजिलै जागिरबाट निकालिदिन्थे र आन्दोलन सजिलै तुहाइदिन्थे भन्ने राम्रो हेक्का थियो उहाँलाई । 

यसरी सबैलाई सङ्गठित गरेर मजबुत गराइसकेपछि उहाँहरूले तेह्र बुँदे माग राखेर आन्दोलन गर्नुभयो । 

जिन्स आन्दोलन

एक दिन ब्रिगेडका ठूला अफिसरहरूको भयङ्कर पार्टी चलिरहेको थियो । त्यसलाई बिथोल्नु पर्छ भन्ने उहाँहरूको योजना थियो । 

उक्त दिन सबैले जिन्स पाइन्ट लगाएर जाने निर्णय भयो । त्यसले त्यहाँ ठूलो होहल्ला नै मच्चियो । उक्त कुरा थाहा भइसकेपछि हतियार बोकेका सैनिकभित्र सशस्त्र विद्रोह समेत हुनसक्छ भन्ने भयले कमान्डरहरूले तपाईँको माग भोलि पूरा हुन्छ । त्यसका लागि सबै सैनिकहरूको भात खाने ‘राइस एण्ड स्ट्रेन्थ’मा उपस्थित हुन भनियो । 

'राइस एण्ड स्ट्रेन्थमा' सबैको उपस्थितिमा सिनियर अफिसरहरू आरएसएम, जिएम, बटलाइन ट्वाइसीले सबैलाई हकार्दै हिजोको घटनाले पल्टनको ठूलो बदनाम भयो, अब जो जो गल्ती गर्नेहरू छन् उनीहरू चौबिस घण्टाभित्र खाली खुट्टा जानुपर्छ भनेर भने । यसो गर्दा केटाहरू डराउँछन् अनि नडराउनेलाई चाहिँ पठाउनु पर्छ भन्ने उनीहरूको रणनीति रहेछ । 

त्यहाँको बटलाइनमा झन्डै आठ सय मान्छे थिए । त्यहाँ भित्र डेल्टा, हेडक्वार्टर अनि सर्पोट भन्ने कम्पनीहरू हुन्छन् । अरु कोही कतै भए पनि उक्त दिन त्यहाँ झन्डै सात सय उपस्थित थिए । अनि हिजो जिन्स लगाएर आन्दोलनमा हुनेहरू अगाडि आउने र नलगाउनेहरू पछाडि बस्ने भनेर कमान्डरले भन्यो । उनीहरूले ए,बी,सी कम्पनी भन्दै गए । केटाहरू कोही पनि निस्केनन् । 

उहाँको भने सी कम्पनी थियो । उहाँ निस्कनु भयो । र, अरूहरूलाई ए केटा हो निस्की भन्नुभयो । अनि सी कम्पनीको सबै केटाहरू निस्किए । त्यो देखेपछि ए र बी कम्पनीका केटाहरू पनि निस्किए । केवल सैँतिस जना बाहेक सबै निस्किए । अब त्यहाँको माहौल कस्तो भयो होला तपाईँ अनुमान गर्न सक्नुहुन्छ, उहाँका आँखा चम्किए । 

यसो हुँदा उनीहरूले कसैलाई कारबाही पनि गर्न सकेनन् । विद्रोहको डर पनि थियो होला शायद । त्यसपछि सबैलाई आफ्नो कम्पनीमा जान भनियो । 

निशानामा उहाँ 

जिन्स आन्दोलन पछि उहाँलाई भने एकदमै निशाना बनाइयो । घरी सिइओकोमा त घरी जिएमकोमा बोलाउने गर्न थालियो । त्यो पनि एकदमै अचानक । कहिले खेलिरहेका बेला त कहिले केही गर्दै गरेका बेला । 

त्यसको एउटै मात्र कारण थियो कि तयारी गर्न नपाओस् । तर, अब त्यो उहाँलाई भने थाहा भैसकेको हुन्थ्यो । उहाँलाई कैयौँ पटक सिइओले बोलाएर तेरो नेतृत्वमा किन मिटिङ बोलाएको भनेर छड्के जाँच गर्ने कोसिस पनि नगरिएकाे हाेइन् । 

तर,उहाँको जवाफ हुन्थ्यो, तपाईँ सिइओको नेतृत्वमा भएका सबैले त तपाईँले भनेको नमान्न सक्छ भने म जाबो एउटा ‘सिनियर कर्पल’ले भनेको बटलाइनका सबैले मान्लान् र ? र, अर्को कुरा उहाँहरूले यो आन्दोलन अघि हरेक कम्पनीबाट मागहरू रितपूर्वक पेस गर्नुभएको थियो । त्यसको सुनुवाइ नभइसकेपछि मात्रै आन्दोलन भएको थियो ।

प्रमाणको खोजी 

गोराहरूको एउटा राम्रो कुरा के भने उनीहरूले पक्का प्रमाण नभेटीकन भने कसैलाई कारबाही गर्दैनन् । त्यसका लागि उनीहरू प्रमाण खोजिरहेका थिए । त्यो उनीहरूले कहीँबाट केही गरी जुटाउन सकेनन्, उहाँ भन्नुहुन्छ । 

त्यति बेला उहाँको जागिर भने साँढे बाह्र वर्ष भैसकेको थियो । र, उहाँ नोकरी नगर्ने मनसायमा पुगिसक्नु भएको थियो । अनि उहाँलाई अब सर्जेन्ट भएर ट्रेनिङ टेबुलमा जानुपर्छ भन्दै थिए । तर, उहाँले भने अब मलाई ट्रेनिङ टेबुलमा होइन पेन्सन सहित घर पठाउँदा तपाईँहरूलाई पनि राम्रो हुन्छ भन्नुभयो । 

सफल जिन्स आन्दोलन

उहाँको पल्टन दश गोर्खा राइफल हो । आन्दोलन पश्चात् सबै गोर्खा सिपाहीले पनि जिन्स पाइन्ट लाउन पाउने तथा अरु थुप्रै माग कार्यान्वयन गरेर उहाँ सन् १९९२ मा नेपाल फर्कनु भयो । उहाँको नोकरी अवधि करिब साँढे तेह्र वर्ष पुगेको थियो । तर, बिदा लगायत अन्य सुविधा जोडेर उहाँको नोकरी अवधि पन्ध्र वर्ष पुर्‍याइयो । र, उहाँ अहिले पन्ध्र वर्षकै पेन्सन थाप्दै हुनुहुन्छ । 

उहाँ भन्नुहुन्छ आखिर उनीहरूले पेन्सन दिए राम्रै भयो । तर, पेन्सनको बारेमा सोचेको भए त आन्दोलन नै हुँदैन थियो नि । अनि अर्को कुरा कुनै पनि नाजायज माग र सेवाले अवैध ठहर्‍याएको कुनै पनि माग प्राप्तिका लागि भने उहाँले कहिल्यै आन्दोलन गर्नु भएन, त्यस कारण पनि आन्दोलन सफल भएको उहाँको ठम्याई छ । अहिले पनि उहाँको दश गोर्खा राइफल्सका साथीहरूले भेट्दा उहाँप्रति निकै सम्मान व्यक्त गर्ने गर्नुहुन्छ, उहाँ भन्नुहुन्छ ।  

स्वदेश फिर्ती 

उहाँ सन् १९९२ मा नेपाल फर्किँदा उहाँका समकालीन धेरै साथीहरू जिल्लाको राजनीतिमा स्थापित भैसकेका थिए ।  अब उहाँलाई भने फेरी यी साथीको तल बसेर काम गर्न मन लागेन । यस कारण उहाँले फरक क्षेत्रबाट अगाडि बढ्ने निर्णय लिनुभयो । र, त्यो क्षेत्र भनेको समाज सेवा थियो । 

त्यसपछि उहाँ जिल्ला छोडेर काठमाडौँ आउनुभयो । अहिले पछाडि फर्केर हेर्दा उहाँलाई त्यो बेलाको निर्णय ठिकै रहेछ भन्ने लाग्छ ।  त्यसपछि उहाँ किराँत राई यायोख्खाको जिल्ला सदस्यमा प्रवेश गर्नुभयो । उहाँ जिल्ला सदस्य हुँदै केन्द्रीय कमिटीको नजरमा पर्नुभयो । र, केन्द्रीय सदस्य बन्नुभयो । केन्द्रीय कोषाध्यक्ष पनि बन्नुभयो । 

अनि आजभन्दा २१ वर्ष अगाडि गोर्खा मिलेनियम नामक सहकारी संस्था पनि खोल्नुभयो ।  अब जागिर छोडेर ल्याएको पैसा घर बनाउँदा अनि छोराछोरी पढाउँदै सकियो । अब फेरी घरपरिवारले यसरी बसेर कहाँ हुन्छ भने करकर गर्न थाले । त्यसपछि फेरी उहाँको अर्को जागिरको यात्रा सुरु भयो । 

सिभिल सेक्युरिटी सर्भिस ब्रुनाई

पछि उहाँ ब्रुनाईको सिभिल सेक्युरिटी सर्भिसमा काम गर्न ब्रुनाईको जिआरयु भन्ने ठाउँमा जानुभयो । उहाँहरू यहाँबाट काम गर्न २७ जना जानुभएको थियो । उहाँहरूले काम गर्न जानका लागि भरेको फर्ममा सेक्युरिटी गार्ड भनेर स्पष्ट लेखिएको थियो । 

त्यहाँ पुगेपछि कमाण्डिङले तपाईँहरू ब्रिगेड अफ गोर्खाजबाट आएको एकदमै उच्च क्षमतायुक्त सैनिक हुनुहुन्छ । एकदमै राम्रो र असल हुनुहुन्छ । यहाँका मले सैनिकहरू काम नलाग्ने अल्छी छन् । त्यसकारण भोलि सुल्तानलाई केही भयो भने फ्रन्टलाइनमा बसेर लड्ने भनेको तपाईँहरू नै हो भनेर भन्यो । 

अरूलाई त्यसले केही भयो भएन थाहा भएन । तर, उहाँलाई भने त्यो कुराले चसक्क छोयो । किनकि ब्रिगेड अफ गोर्खाजबाट झिटीगुन्टा बुझाएर आएको मान्छे फेरी यहाँ आएर फ्रन्टलाइनमा लड्ने पो कुरा आयो । भोलिपल्टदेखि त्यहाँ कार्यरत अरु मान्छेले सुल्तानले दिएको पैसा अरूले खाइदियो, यसो गर्‍यो र उसो गर्‍यो भनेर रुखको फेदमा बसेर भनेको सुन्दा उहाँलाई झन् वितृष्णा उत्पन्न भयो । 

एउटा जिम्मेवारीमा अन्याय सहन नसकेर लडाईँ लडेर आएको यहाँको अवस्था झन् त्यो भन्दा गएगुज्रेको पो देखियो । अनि उहाँले ती साथीहरूलाई तपाईँले यो कुरो कतै भन्नुभएको छैन भन्दा कसले कुरो उठाउने मारिहाल्छ नि भन्नुभयो । 

त्यसो भए यो रुखको फेदमा बसेर यो कुरो गरेर के फाइदा । कि चुप लागेर जागिर खाने, होइन भने त्यसका विरुद्ध आवाज उठाउन तयार रहनुपर्छ भनेर उहाँले एकै पटक पुग्ने गरी सबैलाई सम्झाउनु भयो । अनि त्यहाँ भएको समस्याका बारेमा अध्ययन गर्न थाल्नुभयो । 

उहाँहरूलाई सेक्युरिटी गार्डका लागि भनेर लगिएको थियो । तर, तालिम भने सैनिक कमाण्डो भन्दा चर्को । भाडाको सिपाही भनेको चाहिँ साँच्चै यो हो भन्ने लाग्यो उहाँलाई । 

यो भनेको संयुक्त राष्ट्र सङ्घको घोषणा पत्रको पनि खिलाफ छ भन्ने पनि लाग्यो उहाँलाई । यस प्रकारको काम कुनै पनि सरकारले गराउन सक्दैन । र, यो मुद्दा यदि हामीले अगाडि बढाएको खण्डमा त सुल्तानकै पत्ता साफ हुन बेर लाग्दैन । अनि यो त मलेसिया अनि सिंगापुरले थाहा पायो भने पनि कारबाही गर्छ भन्ने थाहा थियो उहाँलाई । 

उहाँ त्यहाँ पनि सी कम्पनी अन्तर्गत नै हुनुहुन्थ्यो । उहाँले भित्रभित्रै ती सबै कुराको अध्ययन थाल्नुभयो र साथै आफ्नो कम्पनीलाई पनि यसका बारेमा सचेत गराउँदै लग्नुभयो । 

उहाँले त्यहाँ काम गरेको एक वर्ष पुग्दै थियो । र, एक वर्ष पुगेपछि बयालिस दिन छुट्टी आउन पाइन्थ्यो । अनि केही पहिले काम गर्दाको साथीहरू ब्रुनाई आउने तयारीमा पनि हुनुहुन्थ्यो ।

ती मध्येका नरेन्द्र राईलाई उहाँले यहाँ त झन् ब्रिटिसको भन्दा पनि डरलाग्दो विभेद छ, त्यस कारण अब यहाँ पनि यसका विरुद्ध आवाज उठाउने हो भने आए हुन्छ नत्र आउनुको केही अर्थ छैन भनेर त्यहाँको अवस्थाका बारेमा पत्र लेख्नुभयो ।

साथीहरूले ल ठिक छ आएर आवाज उठाउने भन्ने ढाडस दिनुभयो ।

अर्को आन्दोलनको तयारी 

यसैबीच उहाँ बयालिस दिनको छुट्टीमा नेपाल आउनुभयो । अनि अरु साथीहरूसँग पनि छलफल भयो । र, लाजिम्पाटको एउटा होटेलमा गोप्य पत्रकार सम्मेलन गर्नुभयो नाम नछाप्ने सर्तमा ।

त्यस बेला काठमाडाैंमा साप्ताहिक पत्रिका मात्र निस्कन्थे । अनि पछि ती पत्रिका ब्रुनाई पुर्याएर ब्रुनाईमा छ्यापछ्याप्ती बनाउनु भयो उहाँहरूले । त्यसले ब्रुनाईमा ठूलो हङ्गामा भयो । खैलाबैला नै भयो ।  

बयालिस दिने छुट्टीपछि उहाँ ब्रुनाई फर्कनु भयो । अरु साथीहरू पनि ब्रुनाई आए । उहाँहरूले भित्रभित्रै सञ्जाल तयार गर्नुभयो । 

त्यसपछि उहाँहरूले आफ्ना माग पनि सँगसँगै अगाडि बढाउनु भयो । तर, मागको सम्बोधन भने भएन । मागको सम्बोधन नभइसकेपछि भने उहाँहरूले खुला रुपमा नै  ठूलाठूला भेला गर्न थाल्नुभयो । जसका लागि त्यहाँ कुनै अनुमति नै थिएन । 

जहाँको राजालाई जनताले त एक शब्द बोल्न सक्दैनन् भने त्यहीँको सेक्युरिटीले हामीलाई सुल्तानले किन हातहतियार बोकाए भनेर अन्यायका विरुद्ध खुला आवाज उठाउनु भयो ।

यो पनि एक प्रकारले भन्नुपर्दा असम्भव प्रायः नै घटना हो, उहाँ भन्नुहुन्छ । संयुक्त राष्ट्रसङ्घको खिलाफ सुल्तानले हातहतियार बोकाए भनेर उहाँ लगायत अन्य दुईचार जनाले बोलेको भिडियो नै बाहिर आयो । 

साथीहरूले भिडियो बनाएर बेलायत तथा अन्यत्र यस्ता भिडियाे कति बेचे बेचे, उहाँ भन्नुहुन्छ । त्यहाँ धेरै ठूलो आन्दोलन हुँदै गयो । 

आन्दोलनको उत्कर्ष

एक दिन उहाँ लगायत एघार जनालाई हेडक्वार्टरमा बोलाएको छ भनेर लग्यो । तर, त्यहाँ भने ठूलो षडयन्त्र रहेछ । उहाँहरूलाई अपहरण गरेर नेपाल पठाउने योजना रहेछ त्यो । 

जाँदा जाँदै उहाँले सिभिल पुलिस देख्नुभयो । अनि नरेन्द्रजीलाई यहाँ केही हुँदै छ है भनेर सङ्केत गर्नुभयो । उहाँले जाउँ  न हामीलाई केही हुँदैन भन्नुभयो । 

तर, आर्मी ब्यारेकमा सिभिल पुलिस त्यत्तिकै आउँदैन त्यस कारण यहाँ केही खतरा छ भन्ने उहाँको अनुमान थियो । जो सही पनि निस्कियो । 

उहाँहरूलाई एउटा कोठामा राखियो । त्यसको गेटमा पहिले नै गाडी ल्याएर राखिएको रहेछ । एक जना कमाण्डिङ आएर तिमीहरूलाई सुल्तानले नोकरीबाट बर्खास्त गर्नुभएको छ र अब तिमीहरूलाई नेपाल पठाइँदै छ भनेर जर्बजस्ती गाडी भित्र हाल्यो । 

अनि उहाँले ठीक छ हामीलाई हाम्रो देशमा जान कुनै आपत्ति छैन । तर, हामीले मान्छे मारेका छौँ कि वा अन्य के गम्भीर अपराध गरेका छौँ जसका कारण यसरी अपमानित तरिकाले घर पठाइँदै छ भन्नुभयो । 

हाम्रो यहाँ बैङ्कमा पैसा छ, लुगा कपडा छ त्यो पनि लान नपाउने के त्यस्तो अपराध हो हाम्रो जानकारी दिनुपर्‍यो भनेर उहाँले अड्डी नै कस्नुभयो । तरपनि उनीहरूले उहाँको कुरो सुनेनन् ।

अगाडि गेटबाट लगेको भए अरु साथीहरूले देख्छन् भनेर उहाँहरूलाई इमर्जेन्सी गेटबाट जर्बजस्ती गाडीमा हालेर एयरपोर्ट लगियो । एक जना साथीले चाहिँ त्यो देखेका रहेछन् । अनि हाम्रो साथीहरूलाई लग्यो भनेर त्यहाँ हल्ला भएछ । ब्यारेकमा ठूलो हङ्गामा नै भएछ । तनावको वातावरण सिर्जना भएछ ।

तर, उहाँहरूलाई यो विषयमा केही थाहा थिएन । पुलिसले गर्ने व्यवहारमा फरक परेको हुनाले केही भयो कि भन्ने अनुमान चाहिँ उहाँहरूले लगाउनु भएको थियो । 

अनि एक जना अफिसर आएर तपाइँहरुलाई भेट्न सुल्तानको सेक्रेटरी आउँदैछन् । तपाईँको कुरा राख्नुहोस् भनेर भने । अनि उहाँले ल अब एक जना मात्रै बोल्ने सबैले बोल्दा कुरा बाझिन्छ भनेर त्यहाँ पनि राम्रो व्यवस्थापन गर्नुभयो । 

सुल्तानको सेक्रेटरी पनि आए । सबैसँग हात मिलाएर उता ब्यारेकमा स्थिति तनावपूर्ण भएकोले तपाईँहरू गएर समाधान गर्नुपर्‍यो भनेर भने ।  अनि उहाँले पनि मौकाको सदुपयोग गर्दै हाम्रो जागिर जाँदै छ, अब हामी घर जान्छौँ हामीलाई केही थाहा छैन भन्नुभयो । 

सुल्तानको सेक्रेटरीले त्यस्तो होइन नोकरी पनि जाँदैन र तपाईँहरू पनि घर जानु पर्दैन । तर, अहिले भने ब्यारेकमा गएर स्थिति समाधान गरिदिनुपर्‍यो भने ।  

तपाईँहरूको समस्या के हो ? म अहिले नै समाधान गर्छु भनेर सुल्तानको सेक्रेटरीले भनेपछि उहाँले उहाँ लगायत नरेन्द्रजी तथा रामनारायणजी हामी ब्यारेक जाऊँ भन्नुभयो । 

उता ब्यारेकमा पनि उहाँहरू आउँदै हुनुहुन्छ भनेर भनेको रहेनछ । खाली माइकबाट साथीहरू कुनै अप्रिय घटना नघटाउनुस् । तपाईँहरुको साथी सिंगापुर नै पुगेको भए पनि हामी रातारात फर्काउँछौँ भनिँदै रहेछ । 

उहाँहरू तीन जना सुल्तानको सेक्रेटरीको गाडीमा ब्यारेक पुगेपछि त्यहाँ पुरै जिन्दाबाद र मुर्दावादको नारा लाग्यो । उहाँहरूले अहिले हामी तीन जना मात्र यहाँ आएका हौँ । अरु साथीहरू एअर पोर्टमा हुनुहुन्छ । उहाँहरू पनि आउनुहुन्छ भन्नुभयो । 

त्यहाँका साथीहरूले अफिसरलाई सिमेन्टको चिसोमा घुँडा टेकाएर राखेका रहेछन् । एक जना अलि बिरामी भएकोले पङ्खा लगाएर हावा दिएर राखिएको रहेछ । अनि दुई जना अफिसरले हामीलाई बचाउनुस् भनेर खुट्टा समातेर ढोगेको पनि सम्झनुहुन्छ, उहाँ । उहाँहरूले साथीहरूलाई आफ्नो आफ्नो स्थानमा जान भन्नुभयो । त्यसपछि स्थिति साम्य भयो । 

अब सिपाहीहरू अफिसरको अन्डरमा छैन भन्ने कुरा प्रष्ट भयो । अनि सुल्तानको सेक्रेटरीले उहाँहरूसँग कुरा गरेर त्यहीँको त्यहीँ कमाण्डिङलाई निलम्बन गरेर बर्खास्त गर्ने काम गरे । शायद ‘अन द स्पट’ यसरी आर्मीमा निलम्बनको यो घटना संसारमै पहिलो हुनुपर्छ  । अनि याे भनेकाे बिरलै हुने घटना हाे उहाँ भन्नुहुन्छ ।

निलम्बनकाे घटनापछि त्यो बिचमा कुनै निर्णय गर्नुपर्दा उहाँहरूसँग सरसल्लाह लिने काम प्रशस्तै भयो, उहाँ भन्नुहुन्छ । 

यो सबै घटनाका बारेमा बताइरहँदा अन्यायका विरुद्ध लडेर पाएको सफलताको भाव सजिलै अनुमान समेत गर्न सकिन्थ्यो उहाँको मुहारमा । 

त्यसपछि तीन वर्ष काम गरेर उहाँ फर्कनु भयो । उहाँको करार समाप्त भयो र त्यो थप्ने काम गरेन त्यहाँको सरकारले । यदि थपेको भए पनि म काम गर्दैन थिएँ उहाँ भन्नुहुन्छ ।  अनि नेपाल फर्किएसँगै उहाँले प्रण गर्नुभयो अब म काम गर्न भनेर कतै जान्न । कारण थियो उहाँको त्यो अन्याय अनि हेला होचो सहनै नसक्ने स्वभाव ।

विवाह 

उहाँको विवाह २०३९ सालमा भएको हो । प्रेम विवाह । उहाँको दुई सन्तान । एक जना छोरा र छोरी । छोरीको भने देहान्त भैसकेको छ । छोरा बुहारी भने हाल बेलायत बस्दै आउनु भएको छ । 

व्यवसायतिर  

दुई सय तीन वर्ष अगाडि नेपालमा रेमिट्यान्स भित्र्याउने पहिलो वर्ग भनेकै गोर्खाहरू थिए । तर, अहिलेसम्म पनि त्यो वर्ग किन नोकरीमै लागेको छ ? उहाँ प्रश्न गर्नुहुन्छ । यदि जागिर खाएर पैसा कमाउने हो भने त अहिलेसम्म धनी भैसक्नुपर्थ्याे ।

बाऊ, बाजे, छोरा, नाति अनि पनातिसम्म अहिले पनि किन जागिर नै खान जाँदैन, उहाँको प्रश्न छ । त्यसकारण पनि गोर्खाहरूको छरिएर रहेको पैसाको सही सदुपयोग गर्ने उद्देश्यले पनि गोर्खा ग्रुपले विविध क्षेत्रमा लगानी थालेको उहाँ बताउनुहुन्छ । 

नेपाल फर्किएपछि अब उहाँको ध्यान व्यवसायतिर लाग्यो । उनन्तीस वर्ष भयो उहाँ यो गोर्खासँग सम्बन्धित व्यवसायमा लागेको ।

गोर्खा मिलेनियम सहकारी संस्थाको कार्यकारी अध्यक्ष भएर उहाँले चलाएको अठार वर्ष भयो । मिनभवनमा अवस्थित संस्था आफ्नै भवनमा रहेको छ । 

उहाँ गोर्खा समूहको अध्यक्ष हुनुहुन्छ । जसअन्तर्गत गोर्खा विकास बैङ्क, गोर्खा फाइनान्स तथा सहकारी रहेका छन् । फाइनान्सको काठमाडौँ उपत्यकामा पाँच वटा शाखा छन्  भने सहकारीका २३ वटा शाखाहरू रहेका छन् । त्यसको संयोजक पनि हुनुहुन्छ उहाँ । ग्रामर स्कूल तथा कलेजको पनि उहाँ अध्यक्ष हुनुहुन्छ । 

सोलुमा ५.२ मेगावाटको हाइड्रो पावरको निर्माण पनि अन्तिम अवस्थामा पुगेको बताउनुहुन्छ, उहाँ । गोर्खा फाइनान्स लगायतका संस्थाको कुरा गर्दा गोर्खाजहरुको लगानी रहेको विविध संस्थाबाट उहाँहरूले करिब छ, सात सय मान्छेलाई रोजगारी दिइरहनु भएको छ । 

प्रकाशन 

उहाँले गोरखा सैनिक आवाज भन्ने पत्रिका समेत नौ वर्षसम्म निकाल्नु भयो । पछि उहाँले छोडेपछि भने यसको प्रकाशन अवरुद्ध भएको छ । 

सङ्घसंस्थामा संलग्नता 

उहाँको दर्जन बढी सङ्घसंस्थामा संलग्नता रहेको छ । नारदमणि थुलुङ स्मृति परिषद्को सदस्य । गेसोको सल्लाहकार ।  किराँत राई यायोख्खाको केन्द्रीय कोषाध्यक्ष पनि हुनुहुन्थ्यो तर अहिले भने त्यसबाट विश्राम लिनुभएको छ ।

यलम्बर प्रतिष्ठानको अध्यक्ष । प्रतिष्ठानलाई नेपालको सबैभन्दा ठुलो धनराशि पुरस्कार भएको संस्था बनाउनका लागि उहाँहरूले अर्थ सङ्कलन पनि सुरु गरिसक्नु भएको छ । 

अन्त्यमा 

कुनै पनि काम गर्न अनि त्यसलाई सफलताको उचाइसम्म पुर्‍याउन चाहिन्छ त केवल समर्पण, नैतिकता अनि इमानदारिता । शैक्षिक स्तरले काममा निश्चित रूपले सहजता प्रदान गर्ला । तर, यो नै प्रमुख कारण होइन भन्ने ठूलो शिक्षा पुरञ्जन राईको जीवनीबाट लिन सकिन्छ । र, फेरी पनि भन्नै पर्छ इमानदारिता र नैतिकता सफलताका अचुक अस्त्र हुन् ।