मोह मेलाको यात्रा
मंसिर १३, २०७७

म मान्छे सानै हुँ !
मेरा इच्छा-आकांक्षा
र सपना पनि सानै हुन्।
 
अंग्रेजको गल्लावालले
मेरो उँचाइ पाँच फिट चार इन्च नापेकै हो
मेरो छाती ३२ इन्च पुर्याएकै हो
सिङ्खुर जोखेर ५० केजी तौलेकै हो
साँच्चि नै
म मान्छे सानै हुँ १
मेरो घर- संसार
र मैले बाँचेको जीवन पनि सानै हो।

पाँच, छस् फिट अग्लो ढुङ्गा र माटोको गारो
दुई चार भारी काठको घुरी
र दुई चार भारी खरको छानो
जसलाई म दरवार भन्थें,
एउटा सुंगुरको खोर
हलगोरु र भैंसीको गोठ
जसलाई म संसार ठान्थें
साहुकै सहि-
दुई चार भारी मकै हुने घुर्यान
दुई चार डोको कोदो फाल्ने पाँदुर बारी
दुई चार मुरी धान फाल्ने सिमखेत
जसलाई म साम्राज्य भन्थें,
एउटा माउ पोथी र बिउ भाले
एउटा दशैंया सुंगुर र लैनो भैंसी  
एक हाल गोरु, किला र दाम्ला  
जसको म आफूलाई मालिक ठान्थें,
दुई चार डोका, नाम्ला, कचिया र खुकुरी
एक दुई कुटो, कोदालो, हलो र जुवा
जसलाई म सम्पति ठान्थें।

मसंग के थिएन ?
ढुकुटीमा धन थिएन
तर मन थियो
अलिनो टार्न नुन थिएन
तर शरीरमा खुन थियो
डालोमा मकै थिएन
तर घुन थियो
भान्सा टार्न भुटुन थिएन
तर साहुको ऋण थियो
आमाको कानमा सुन थिएन
तर आकाशमा जून थियो
हिंड्नका लागि बाटो थियो
बाँच्नका लागि मुटु थियो
अनागरिक भए पनि नागरिकता थियो
मसंग के थिएन ?
केही नभएर पनि सबथोक थियो
माटो थिएन त के भो ?
सबभन्दा ठूलो कुरो त देश थियो।

सानो मान्छे म
सानो आकांक्षा र सानो सपनालाई  
सानो झोलामा हालेर
सानो आँगनको डिल
र सानो करेसाबारीको कान्ल्हा
फुत्तै नाघेर जान्छु- सोंचेको थिएँ
अलिक तल झरेपछि
दिखुवाका जंघारहरु तर्छु
साप्शुका भंगालाहरु नाँघ्छु
र दुधकोशीको साँघु चढ्छु-सोंचेको थिएँ
तर मोह मेलाको यात्राले मलाई
सयौं डांडा कटाएर
महादेश र महासागरहरु नघाएर
घाम झुल्किने देशबाट
घाम अस्ताउने देश ल्याई पुर्यायो
र म मान्छेबाट मुर्कुट्टा, पिसाच र मसान भएँ
रातमा जाग्ने
दिनमा सुत्ने
भूत-प्रेत र निशाचर भएँ
कति ठाउँमा शिर झुकाएँ
कतिका अघि हाँसी दाँत देखाएँ
कतिलाई पसिना, रगत र मासु खुवाएँ
कतिको मुटु र कलेजो चपाएँ
छुटाएँ आफैलाई र आफूलाई भेट्न
समयको धार टेकेर दौडिएँ
घडीको अलरम र काँटा समातेर दगुरें
दिन र रातजस्तो ओहोर दोरोह गरें
पृथ्वीजस्तो सुइसुइति घुमें
घडीजस्तो फन्फनी रिङ्गटा लागेँ ।

आज मलाई,
पृथ्वीले अभेगमा फालीराख्यो
र समयले देहातमा छाडीराख्यो
जहाँ मेरो अघि
बिगबेन छ, तर घन्टाघर छैन
लन्डन ब्रिज छ, तर सप्तकोशी पूल छैन
लन्डन आइ छ, तर सगरमाथा छैन
समय आफै पनि फन्फनी घुम्दै फेरिए छ,
कालो कपाल फुलेर सेतो भए छ
हरियो पासपोर्ट पाकेर रातो भए छ
तर छाला फुलेर सेतो भएन
र वर्ण पाकेर रातो भएन।

हेर्छु, आफैलाई चिन्दिनँ
त्यो सानो मान्छे !
त्यो सानो झोला !
म आफै थिएँ कि अरु नै कोही ?
मन उही छ, तर शरीर अर्कै
ज्यान उही छ, तर आकार अर्कै
मान्छे उही छ, तर रुप अर्कै
अतीत उही छ, तर वर्तमान अर्कै
आमा भन्नु हुन्थ्यो -
भूईंको टिप्दा हातको भाग खस्छ
परको खोज्दा घरको छुट्छ
सोंच्छु -हो रहेछ
हिजो उसको
केही थिएन, तर सबथोक थियो
माटो थिएन, तर देश थियो
आज मेरो
सम्पति, ऐश छ, तर वैश छैन
सानो झोलाभरी सुन छ, तर आमाजस्तो जून छैन  
आलिशान महल छ, तर घर छैन
चिल्ला सडक र सुकिला सहरहरु छन्
तर धौराली र चौतारीहरु छैनन्  
मान्छे उही छु, तर नागरिकता छैन
मोटर, कार, बैंक व्यालेन्स र लगानीहरु छन्
तर आफ्नो देश छैन।

बेलायत।