बालुवासङ्ग्रही–खलङ्गा  सडक शिलान्यास

बालुवासङ्ग्रही–खलङ्गा  सडक शिलान्यास

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १४, २०७७

कर्णाली  । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बालुवासङग्रही–सल्यान खलङ्गा जोड सडकको शिलान्यास गर्नुभएको छ । योजनामन्त्री ज्वालाले शनिबार २७ करोड ३५ लाख रुपैयाँ लागतमा स्तरवृद्धिका साथै कालोपत्रे गरिने सल्यान वनगाड नगरपालिकाको बालुवासङ्ग्रही–कुपिण्डेताल–जयतपानी–खलङ्गा जोड्ने सडक शिलान्यास गर्नुभएको हो । 

सो अवसरमा मन्त्री ज्वालाले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि सल्यान खलङ्गा जोड्ने यो सडक सल्यानी जनताको जीवनरेखा भएको बताउनुभयो । 'पञ्चायकालीन सरकारले शिलान्यास गरे पनि यो सडक हालसम्म जहाँको त्यहीँ रह्यो,' उहाँले भन्नुभयो, 'यद्यपि अहिले ट्र्याक खोलेर स्तरवृद्धिका साथै कालोपत्रे गर्दैछौँ । तसर्थ यो लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको उपहार हो ।' यसले यहाँका नागरिकको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुको साथै जीवनस्तर माथि उकास्न ठूलो सहयोग पुग्ने उहाँले जिकिर गर्नुभयो ।

कर्णाली प्रदेश सरकारले यो तीन वर्षमा ४० करोड रुपैयाँ बजेट लगानी गरेको यो सडक सङ्घीय सरकारको राष्ट्रिय राजमार्गमा पर्छ भन्दै मन्त्री ज्वालाले प्रदेश सरकारले मोटो रकम छुट्याउँदा सङ्घीय सरकारले चार करोड रुपैयाँ मात्र छुट्याएको टिप्पणी गर्नुभयो । प्रदेश सरकारले बालुवासङ्ग्रही–कुपिण्डेताल–जयतपानी–खलङ्गा र सल्ली बजार हुँदै रुकुमपश्चिम चौरजहारी जोड्ने सडक निर्माण कार्यलाई प्राथमिकता राखेको उहाँको भनाइ थियो ।