‘एशिया सेल्टर फोरम’को कार्यशाला काठमाडौँमा

‘एशिया सेल्टर फोरम’को कार्यशाला काठमाडौँमा

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १४, २०७७

काठमाडौँ । राष्ट्रिय पुन:निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी काठमाडौँमा हुँदैछ । एशिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका बृहत् अनुभव आदानप्रदान गर्ने मूल अभिप्रायले गोष्ठीको आयोजना गर्न लागिएको हो । 

गत वर्ष इन्डोनेशियामा आयोजित तेस्रो कार्यशाला गोष्ठीको सर्वसम्मत निर्णयबाट चौथो कार्यशाला नेपालमा गर्ने निर्णय भएको थियो । कोभिड–१९ को महामारीका कारण यसपटक यो कार्यशाला अनलाइन विधिबाट गर्न लागिएको हो । अवस्था सामान्य भए २०७७ चैतमा भौतिक उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम काठमाडौँमै आयोजना गरिने बताइएको छ ।

गोष्ठीमा राम्रा अभ्यासको सिकाइबाट समुदायको संलग्नतामा समुदायबाट नेतृत्व गरिएका सुरक्षित र प्रतिष्ठित आवास कार्यक्रमका प्रयासलाई उजागर गर्दैै विपद् प्रतिकार्यमा सहकार्यका लागि सम्भावनाको खोजी गरिनेछ । फोरमले एशिया प्रशान्त क्षेत्रका आवास तथा आवासीय क्षेत्रमा काम गरिरहेका अभ्यासकर्तालाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै आवास अभ्यासकर्ताको क्षमता अभिवृद्धिका लागि प्रयास गर्नेछ ।