निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने चेतावनी

निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने चेतावनी

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १४, २०७७

सर्लाही । जिल्लाको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने स्थानीयवासीले चेतावनी दिएका छन् । ठेकेदारले लापर्वाही गरेका  कारण लामो समयसम्म पनि अलपत्र अवस्थामा रहेको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र पुनः सञ्चालन नगरे जिल्लाका राजनीतिक दल र स्थानीयवासी आन्दोलनमा उत्रने भएका हुन् ।

शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा बसेको सर्वदलीय बैठकले मङ्सिर २१ गतेसम्म सडक निर्माणको काम अघि नबढे सङ्घर्षमा उत्रने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले राससलाई बताउनुभयो । सङ्घीय सरकारबाट एक हप्तासम्म सडकको निर्माण कार्य अघि बढाउन पहल नभए मङ्सिर २१ गतेदेखि आन्दोलनमा उत्रने बैठकले निर्णय गरेको सभापति चौधरीको भनाइ छ ।

बैठकले अहिलेका ठेकेदारमार्फत सडक निर्माणको काम पूरा हुन नसक्ने भन्दै नयाँ ठेकेदारमार्फत काम अघि बढाउन पनि माग गर्नुभयो । मलङ्वादेखि पूर्वतर्फ सङ्ग्रामपुरसम्म, मलङ्वादेखि पश्चिम रोहुवासम्म र त्यहाँदेखि बलरासम्म तीन खण्डमा गरी सडकको ठेक्का लागे पनि ठेकेदारले केही समय अघि माटो भर्नेलगायत सामान्य काम गरे पनि अन्य काम अघि बढाएको छैन ।