पाँच सय ८२ सहयोगापेक्षीको उद्धार
मंसिर १४, २०७७

चितवन । मानव सेवा आश्रम शाखा कार्यालय भरतपुरले हालसम्ममा ५८२ जना सहयोगापेक्षीको उद्धार गरेको छ । विसं २०७२ देखि हालसम्म  विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गरिएको हो । 

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त शहर बनाउने उद्देश्यका साथ स्थापना गरिएको संस्थाले सो अवधिमा १६७ जनालाई परिवारसँग पुनर्मिलन गराएको जनाएको छ । संस्थाले आज आयोजना गरेको आव २०७६/०७७ को प्रगति प्रतिवेदन, लेखा परीक्षण र सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा आश्रममा रहेका २१७ जनाले स्वेच्छिक आश्रम छाडेको, ६६ जना स्थानान्तरण गरिएको र ५५ जना आश्रित रहेका जनाएको छ ।  

आश्रममा बसोबास गरेको समयमा ८० जनाको मृत्यु भएको आश्रमका संयोजक निता केसीले जानकारी दिनुभयो । केसीका अनुसार विसं २०७६ कात्तिक ९ गते भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडकमानवमुक्त महानगर घोषणापश्चात् २४५ जनाको उद्धार गरिएको छ । जसमध्ये ७७ जनालाई परिवारसँग पुनर्मिलन गराइएको, ७९ जनाले स्वेच्छिक आश्रम छाडेको, १५ जनालाई स्थानान्तरण गरिएको र १०८ जना आश्रित रहेका छन् । सो समयमा ल्याइएकामध्ये १८ जनाको मृत्यु भएको केसीले जानकारी दिनुभयो । 

आश्रमको सक्रियतामा दाताबाट भरतपुर महानगरपालिका वडा नं ३ बेलचोकमा प्राप्त जग्गामा सहयोगापेक्षी पुरुषका लागि नारायण भवन निर्माणको काम भइरहेको छ । जसका लागि ५० लाख रुपैयाँ वाग्मती प्रदेश सरकारबाट विनियोजन भएको र महिला राख्नका लागि लक्ष्मी भवन निर्माणका लागि महानगरसँग बजेटको माग गरिएको सो अवसरमा जानकारी दिइएको थियो । 

आश्रमले विभिन्न निकायबाट प्राप्त गरेको सहयोग र खर्चको विवरणसमेत सो अवसरमा सार्वजनिक गरेको छ । खर्च विवरण सार्वजनिक गर्दै आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले आव २०७६/०७७ मा रु ८६ लाख ९१ हजार ७५० विभिन्न निकायबाट प्राप्त भएकामध्ये  सात लाख ७७ हजार ५९८ रुपैयाँ मौज्दात रहेको जानकारी दिनुभयो । 

आश्रमकी अभिभावक प्रेमप्रभा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, समाजसेवी प्रेम श्रेष्ठलगायतले बोल्नु भएको थियो ।