इलाममा पर्यटकीय क्षेत्र समेट्दै चलचित्रबाट पर्यटन प्रवर्द्धन

इलाममा पर्यटकीय क्षेत्र समेट्दै चलचित्रबाट पर्यटन प्रवर्द्धन

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १५, २०७७

ईलाम । चलचित्रको खास काम के हो ? मनोरञ्जन दिने र सन्देश प्रदान गर्ने, तर पछिल्लो समय भने चलचित्रबाटै पर्यटन प्रवर्द्धन गर्न थालिएको छ । नयाँनयाँ क्षेत्रमा ‘लोकसन’ खोज्ने र चलचित्रमा समावेश गर्ने दर बढेको छ । चलचित्रमा आकर्षक ठाउँ देखेर नै कतिपय ठाउँमा पर्यटकको भीड लाग्ने गरेको उदाहरण पनि नौलो  होइन । इलाममा भने यो नयाँ उद्देश्यका साथ चलचित्र बनाउने क्रम चल्न थालेको छ । 

केही समयअघि मात्रै इलामकै सेरोफेरोलाई आधार बनाएर चलचित्र ‘प्रेम दिवस’ र ‘म यस्तो गीत गाउँछु’ चलचित्र निर्माण भएको थियो । प्रेम दिवसमा इलामका पर्यटकीय क्षेत्र श्रीअन्तु, ढापपोखरी, माइपोखरी, टोड्के झरनालगायतका क्षेत्रमा चलचित्र छायाङ्कन गरिएको थियो ।
 
प्रियङ्का कार्की र आयुष्मान देशराज जोशीलाई मुख्य भूमिकामा देखाइएको यो चलचित्रमा हालसम्म कुनै चलचित्रमा नदेखाइएका ठाउँ पनि छायाङ्कनमा परेकाले छायाङ्कन क्षेत्र केही राम्रो देखियो ।  चलचित्रको व्यापार औसत भयो तर पर्यटनको प्रवर्द्धन भने बढ्यो । पल शाह र पूजा शर्मा अभिनित ‘यस्तो गीत गाउँछु’ चलचित्रबाट पनि इलामका पर्यटकीय क्षेत्र प्रचारमा केही राहत मिल्यो । यस्तै, पछिल्लो समय इलामकै भूभागमा नयाँ चलचित्र ‘कृषि लीला’ छायाङ्कन थालिएको छ । 
 
इलामकै ८० प्रतिशत भूभागमा छायाङ्कन गरिने यस चलचित्रले पनि पानीटार, श्रीअन्तु, पशुपतिनगरलगायतका क्षेत्रमा छायाङ्कन गर्ने बताएको छ । अन्य २० प्रतिशत छायाङ्कन पाँचथरका विभिन्न ठाउँमा गरिने छ । हालसम्म प्रचारमा नआएका क्षेत्रलाई क्यामरामा देखाउने र प्रवद्र्धन गर्ने चलचित्रको उद्देश्य रहेको चलचित्रका निर्माता केवल तामाङले बताउनुहुन्छ । 
  
चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य अभिनय रहेको छ भने सहायक भूमिकामा बुद्धि तामाङ, रवीन्द्र झा, ह्युमला गौतम, किशोर सम्वाहाम्फेलगायतको भूमिका रहने छ । 'पूर्वी क्षेत्रमा धेरै लोकेसन छन् तर विविध समस्याका कारण खिच्न गाह्रो छ', नेपाल चलचित्रकर्मी सङ्घ प्रदेश नं १ का अध्यक्षसमेत रहनुभएका तामाङले सरकारी क्षेत्रबाट अपेक्षाकृत सहयोग नमिल्दा उल्लेखनीय मात्रामा स्थानीय पर्यटकीय ठाउँको प्रवर्द्धनगर्न गाह्रो भएको बताउनुहुन्छ । 
   
'हामीलाई केन्द्रीय सरकारले त सहयोग गरेन नै तर स्थानीय तहले समेत सहयोग नगर्दा दुःख लाग्छ', तामाङले भन्नुभयो, 'अहिले त चलचित्रको लोकेसनका बारेमा सरकारले कार्यक्रम नै ल्याएको छैन ।' चलचित्रका निर्देशक दीपक ओलीका अनुसार चलचित्रमा प्रेमिल जोडीलाई आकर्षक ठाउँमा माया÷प्रेम जोडेको आधार रहेछ । 

ओलीले यसभन्दा अघि ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकर्ण’, रोल्पा रोग’ चलचित्र निर्देशन गरिसक्नुभएको छ । यसअघिका चलचित्र व्यावसायिकरूपमा कमजोर भए पनि ‘कृष्ण लीला’ भने दर्शकले मनपराउने किसिमको बनाउने निर्देशक ओलीको भनाइ छ । 'पैसा कम कमाए भनेर मात्रै पनि सबै चलचित्रलाई हेर्न मिल्दैन, सामाजिक विषयवस्तु कतिको झल्कियो भन्ने आधारमा पनि हेर्नु पर्छ', ओलीले भन्नुभयो । 
 
हुन त इलाममा चलचित्र छायाङ्कन हुने क्रम नौलो होइन । केही वर्षअघि जीवन लुइँटेल र नीता ढुङ्गाना अभिनित ‘नोट बुक’, बुद्धि तामाङ र शुरवीर पण्डित अभिनित ‘मुर्चुङ्गा’, प्रियङ्का कार्की र स्वस्तिमा खड्का अभिनित ‘नाइ नभन्नु ल–५’,लगायतका दर्जन बढी चलचित्र छायाङ्कन भइसकेका छन् तर, प्रायः चलचित्रमा श्रीअन्तु र कन्यामको सेरोफेरो मात्र देखाइने भएकाले पछिल्लो समयका चलचित्रमा नयाँ क्षेत्र समावेश गर्न थालिएको छ । 
   
चलचित्रमा नयाँ क्षेत्र देखाउँदा चलचित्रका दर्शक बढ्ने त छन् नै पर्यटकीय गतिविधिसमेत बढ्ने छ । यसैले पनि आफूले नयाँ क्षेत्रमा चलचित्र छायाङ्कन थालेको चलचित्रका अर्का निर्माता रत्न श्रेष्ठले बताउनुभयो । 
  
यता चलचित्रका नायक पुष्प खड्का पनि उपत्यकाभित्र भन्दा उपत्यकाबाहिर चलचित्रमा काम गर्दा नयाँ अनुभव हुने बताउनुहुन्छ । 'पहिले एउटा चलचित्रमा पनि इलाम आएको थिएँ तर यसपल्ट नयाँ ठाउँमा आउन पाइयो ।' इलामको देउमाई नगरपालिकास्थित पानीटारमा चलचित्र छायाङ्कनका क्रममा रहनुभएका खड्काले आफूले नयाँ ठाउँमा चलचित्र खेल्न पाएको बताउनुभयो । 
   
लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र आउँदो ‘भ्यालेन्टाइन डे’मा ‘रिलिज डेट’ तोकेको निर्माता तामाङको भनाइ छ । 'स्थिति सामान्य भएमा सोही मितिमा रिलिज गर्छौं । नभएमा नयाँ वर्षमा निकाल्ने छौँ' । चलचित्रमा इलाममै छायाङ्कन गरिएका तीन वटा गीत रहने छन् भने चलचित्र दुई घण्टाभन्दा बढीको रहने बताइएको छ ।

किरण पौड्याल / रासस