चितवनमा बिपी स्मृति भवन शिलान्यास

चितवनमा बिपी स्मृति भवन शिलान्यास

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १५, २०७७

चितवन । वरिष्ठ समाजसेवी मैयाँदेवी श्रेष्ठले बिपी स्मृति भवन निर्माणका लागि भरतपुर महानगरपालिका–११ मा करीब १३ धुर जमीन उपलब्ध गराउनुभएको छ ।  नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज भवनको शिलान्यास गर्दै समाजसेवी मैयाँदेवीले  काँग्रेसको केन्द्रीय कार्यालयदेखि जिल्ला र वडासम्मलाई जग्गा उपलब्ध गराएर सहयोग गर्नुभएको बताउनुभयो । 

काँग्रेस भरतपुर–११ ले निर्माण गर्न लागेको भवनका लागि पार्टीले आवश्यक सहयोग गर्ने जानकारी उहाँले दिनुभयो । पार्टी  वडा समितिका उपसभापति महेश्वर ढकालका अनुसार सो भवन एक करोड रुपैयाँको लागतमा अत्याधुनिक तीन तलाको हुने छ ।  

भवन निर्माणका लागि समाजसेवी श्रीप्रकाश कँडेलको संयोजकत्वमा आर्थिक समिति र कविराज अधिकारीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । सोही भवनको नजिक तीन वर्षअघि समाजसेवी मैयाँदेवीले नै उपलब्ध गराउनुभएको जमिनमा नेपाल प्रेस युनियनले ‘मैयाँदेवी सूचना केन्द्र ’ निर्माण गरेको छ ।