उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर १६, २०७७

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गर्नु भएको छ । 

जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताउनु भएको हो । 

ह्यारी काजियानियासले लेख्नु भएको एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ट सरकारी अधिकारीहरु र उहाँका परिवारका सदस्यहरुले एक दुई साताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताउनु भएको छ । 

काजियानियास हाल वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ट निर्देशक हुनुहुन्छ । 

लेखमा उहाँले दुई जना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गर्नु भएको छ । तर चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उहाँका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन । 

चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन् । तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ । तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निक्र्यौल हुन सकेको छैन । 

उत्तर कोरियामा हालसम्म कोरोनाभाइरस संक्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाई गरिएको छ ।