सुशीला शर्मा | दृष्टिकोण | मंसिर १६, २०७७
महामारीको कहर छ एकातिर, अर्कोतिर बिहान व्यूझिएपछि सुनिने समाचारहरु भनेका बालिका तथा महिलामाथिका आततायी बलात्कारका घटनाले दिनभरी मन भतभती पोलिरहन्छ ।
सात बर्षमा १४ हजार महिला तथा ६ हजार ३ सय ६३ बालिका बलात्कृत भएको तथ्याङ्क सार्वजनिक भएको छ । यस्ता समाचारले राष्ट्रिय अखबारमा प्रमुखताका साथ स्थान पाइरहेका छन् । के यसले समाज अपराध उन्मुखतातिर उकालो लाग्दै गरेको संकेत दिंदैन र ?
चौध वर्षको बालकले चार वर्षीय बालिकालाई बलात्कार गरेर हत्या गरेको खबरले जो कसैको पनि मन झसङ्ग र आतंकित बनाइरहेको छ । बझाङ्गकी १२ वर्षीय बालिकाको बलात्कार पछि हत्या गरेर मन्दिर परिसरमा फालिएको घटना होस या जनकपुरमा ५ बर्षीय बालकमाथि अप्राकृतिक यौन सम्बन्ध राखेर घाँटि थिचेर हत्या गरिएको घटना होस् ।
यी र यस्तै अरु थुप्रै घटनाले समाजको विकृत यौन मानसिकताबाट आगामी दिनमा हाम्रा बालबालिकालाई कसरी जोगाउने भन्ने प्रमुख समस्या खडा भएको छ ।
बलात्कार घटनामा परिवार र समाजको संलग्नता
गत महिना एक घटना सर्वत्र समाचारमा आयो । बझाङकी एक एक्काइस बर्षीय युवतीमाथि उनको परिवारबाट नै भएको यौनजन्य दुर्व्यवहारले यौनप्रतिको हाम्रो समाजिक मान्यता उजागर गरिरहेको छ ।
ती युवती अर्धचेत अवस्थामा उपचार गराईरहेकोबारे पनि मिडियाले जानकारी गराए । उनको शरीरलाई आफ्नै ससुरा, लोग्ने,सासु,नन्देभाई मिलेर बेचेका रहेछन्, बलात्कार गरेका छन् । यहाँसम्म कि उनको स्थायी बन्ध्याकरण समेत गराइसकिएकव तथ्य सार्वजनिक भयो ।
हामीले सोच्नै पर्छ, गरिबीले, यौनिक विकृतिले, अचेतनाले या अरु केले आफ्नै परिवारको एक निरिह महिलालाई यौन साधनको रुपमा खेलवाड गर्नतर्फ अभिप्रेरित गरायो ?
यो एउटा उदाहरण मात्रले पनि हाम्रो समाजले महिला शरीरलाई कसरी भोग चलन र बेचबिखन सम्म गर्न पछि पर्दैन भन्ने प्रष्ट हुन्छ ।
धार्मिक र सांस्कृतिक मूल्य मान्यता भित्रको विभेद, दलित तथा गरिबीका रेखामुनी रहेका समुदायमाथि कथित ठूला जात र शक्तिशालीहरुको थिचोमिचो, हेलाहोचो पनि यसका लागि उत्तिकै जिम्मेवार छ । गन्यमान्य मानिएकै पुरुषका दम्भ,सोच र व्यवहारले पनि समाजमा कैयौं घटना घटाउने, दबाउने, अनि हत्यासम्म पुग्ने गरेको देखिन्छ ।
हाम्रा संरचनागत अनि परम्परागत पितृसत्तात्मक व्यवस्था र प्रचलनले नै कतिपय यौनजन्य हिंसाहरुको प्रवर्द्धनमा बल त पुर्याइरहेको छैन ? सोच्न ढिलो भैसकेको छ । हाम्रो नेतृत्व यो बहस गर्न समेत डराईरहेको छ कि, पुरुष र महिलाले एकअर्कालाई बुझ्ने क्रममा पुरुष महिला भन्दा शक्तिशाली हो भनेर सिकाईएको वा देखि जानेका कारणले त कतै यस्ता घटनामा बढोत्तरी भएको होइन ? प्रश्न गम्भीर छ ।
फेरी यसको अर्थ यो पनि होेइन कि सबै पुरुष बलात्कारी प्रवृतिको हुन्छन । तर, हाम्रा धर्मग्रन्थ, संस्कृति अनि ती बाटै प्रभावित नीति नियम महिला प्रति विभेदी भएकै कारण पनि महिला माथिकोदुर्व्यवहार बढेको चाँहि अवश्य हो भन्न सकिन्छ ।
मोबाईल स्क्रोल गर्दै जाँदा एउटा पुरानो हिन्दी फिल्मको क्लिपमा आँखा पर्याे । रजनीकान्त, अनिल कपुर रेखा आदि कलाकारहरु रहेछन् । फिल्ममा रजनीकान्त गाउँका नरम, न्यायिक मिजासका जमिन्दार बनेका हुन्छन् ।
दृष्यमा उनको दैलोमा मालिक भन्दै विन्ती बिसाउन आउने, गरिव किसान या मजदूरलाई के आवश्यकता छ त्यो पूरा गर्दिन मुन्सीलाई अर्हाउने रहेछन् । यस्तैमा ती जमिन्दारको भान्जा नाता पर्नेले गाउँकै एक युवतीलाई जवर्जस्ती उठाएर लगेर बलात्कार गर्छ र त्यो कुरा जमिन्दारकहाँ सम्म आईपुग्छ ।
न्यायप्रेमी जमिन्दार रिसले आगो हुन्छ, उसको बैनीले भान्जाको पक्षमा निर्णय गरिदिन गरेको अनुनय विनयलाई सिधैं इन्कार पनि गरिदिन्छ । जब यो घटनाको फैसलाको बेला हुन्छ, त्यहाँ अनेक रुवावासी चल्छ,गरीबहरुको अनि गरीब महिलाको सम्पत्ति भनेकै त्यही ‘ईज्जत’ (कौमार्य, झुक्नु, जी हजुरी जय मालिक) पनि चकनाचुर भएको अभिव्यक्तिहरु आउँछन् ।
जब गाउँका जमिन्दारले निर्णय सुनाउँछन, त्यो निर्णय भनेको पीडकलाई पीडितको सिउँदोमा सिन्दुर हाल्न लगाएर एक गरीब बेसहारा युवतीप्रति न्याय गरिदिएको अर्थमा ।
बलात्कारीसँग पीडितको बिहे गरिदिएपछि समस्याको समाधान हुने मनसाय यस फिल्ममा देखाईको छ । यसमा हाम्रो समाजमा महिलाप्रति घटाईने घटना र भित्रभित्रै मिलाईने मिलापत्रकै सोच र अभ्यासलाई दर्शाईएको छ ।
तर, जब बलात्कार भन्ने नाम नै दिईसकेपछि त्यो एकपक्षीय हो, बलजफ्ती हो, महिलाको ईच्छा विपरित हो । त्यो शक्तिको चरम दुरुपयोग हो, महिलालाई खेलौना, यौनबस्तु ठाने सरह हो भन्ने खालका सूचना, विचार सन्देश, शिक्षा खोई त ? हामी गम्भिर हुनुपर्ने भनेकै यहीं नेर हो ।
कतिपय मानिसहरुको दृष्टिकोणमा महिलाहरुका छोटा र पारदर्शी पहिरननै बलात्कारको कारण हो । अनि महिलाहरु पढेलेखेर मात्र के गर्नु आफ्नो मनलागि कपडा लगाएर निष्फिक्री बाहिर हिंडेपछि त यस्ता घटना घटिहाल्छ भन्नेले, गाउँ देहातका टाउको देखि खुट्टासम्म ढाकेर कपडा लगाउने महिला, निर्दोष बालिका, अनि सत्तरी असी वर्षका हजुरआमा उमेरका महिलामाथि हुने गरेका बलात्कारका घट्नालाई के उपमा दिन्छन् ?
पहिरनका कारण बलात्कार हुन्छ भन्ने सोच पनि एक प्रकारको दुषित सोच हो । यो केवल मानसिक दिवालियापन मात्र हो । म स्वयं महिला तथा बालबालिकासँग काम गर्ने संस्थामा कार्यरत रहँदा पनि यस्ता यौनजन्य घटनाहरुबारे धेरै घटनाहरुसँग परिचित हुने मौका पाएको थिएँ । यस्ता यौनजन्य घटनामा परेका पीडित र परिवारका सदस्यलाई मुद्दा फिर्ता लिनको लागि पीडक पक्षबाट धम्क्याईन्छ । र भविष्यमा हुने लाञ्छना तथा विभेदको डरले पनि बलात्कार भईसकेपछि पीडित पक्षहरु खुलेर बलात्कारको हिंसाबारे बोल्न सकिरहेको पाईँदैन् ।
भारतकी फुलनदेवीले आफूलाई गरिएको यौन दुर्व्यवहारको बदला २२ जना राजपूतको हत्या गरेर लिएको घटना त हामीले पढेकै हो । तर, सबै पीडितहरुले पीडकको विरुद्ध बदलाको भावना राखेर अघि बढ्न पनि सक्दैनन् ।
फेरी यस्ता बदलभावले कालान्तरसम्म पनि बदला नै निम्त्याउँदो रहेछ भन्ने कुराको उदाहरण पनि स्वयं फुलनदेवी नै हुन् ।
एउटा सहज जीवन बाँच्ने क्रममै फेरि तिनै राजपुत समुदायबाटै उनी मारिइन् । त्यसैले बलात्कार, हत्या जस्ता घटनाको विरुद्ध, सबै समुदाय, संगठन, महिला, पुरुष सबै मिलेरै अगाडि बढ्नुपर्ने हुन्छ । साथै न्यूनीकरणका लागि यसको सामाजिक संरचनाको जरो किलो पनि पत्ता लगाउनुपर्ने हुन्छ ।
बलात्कारका घटनामा मनोवैज्ञानिक, मनोसामाजिक कारणहरु
कतिपय अवस्थामा बलात्कार अनि त्यसपछि हत्याको विषयलाई लिएर मनोसामाजिक, मनोबैज्ञानिक पक्षलाई पनि अध्ययन, अनुसन्धान गर्नुपर्ने कुराहरु पनि उठिरहेका छन् ।
यौनजन्य हिंसा र हिंसा गरिसकेपछि गरिने हत्याको विषयलाई लिएर साईक्याट्री चिकित्सक डाक्टर कल्याण सुवेदीले नेपाली भाषामा सबैले बुझ्न सक्ने गरी एक भिडियो बनाएर फेसबुकको पेजमार्फत बाँडेका छन् । जुन भिडियोले पनि यी घटिरहेका बलात्कार तथा बलात्कारपछि हत्या गर्ने एउटा कारकको बारेमा बुझ्न मद्धत गर्दछ ।
यौन हिंसा पुरुषले महिलालाई, पुरुषले पुरुषलाई र महिलाले पनि पुरुष या महिलालाई नै पनि गर्न सक्छन् । संसारभरीको घटनाहरु हेर्ने हो भने चाँहि पुरुषले महिलामाथि गरेका यौन हिंसा नै बढी छन् । पुरुषले महिला या बालिकालाई गर्ने यौन हिंसाको सामाजिक संरचनात्मक पाटोहरु छन् ।
ती पाटोहरु भनेका पुरुष प्रधान समाज, लैङ्गिकताको सामाजिक अवधारणा, जातीय छुवाछुत, विभेद र धर्म, संस्कृतिको पाटो अनि त्यही समाजमा बस्ने समुदायका व्यक्तिहरुको मनोबैज्ञानिक र मनोसामाजिक पाटोले पनि प्रमुख भूमिका खेलिरहेको हुन्छ ।
यी विभिन्न मनोबैज्ञानिक पाटोलाई पनि नजरअन्दाज गर्न मिल्दैन । यस्तै आसयलाई व्यक्त गर्न डा.कल्याण सुवेदीले आफ्नो जानकारीमूलक भिडियोमार्फत सन्देश दिन खोजेका छन् ।
व्यक्तिको सानैदेखिका पारिवारिक पृष्ठभूमि हुन्छन नै । मदिरा लगायत, अन्य लागुऔषधको प्रयोगको आदत के छ, घरमा बाबुले आमालाई गर्ने व्यवहार । दाजुभाईले दिदीबैनीलाई गर्ने व्यवहार । छरछिमेक तथा समाजमा छोरा र छोरीलाई गर्ने व्यवहार । यी विविध व्यवहार बालबालिकाहरुले सानैदेखि अवलोकन गर्दै र सिक्दै आईरहेका हुन्छन् ।
अपराधमा सरिक हुने खालका यस्ता युवा तथा किशोरले केही न केही उपद्रोहरु गरिनै रहेका हुन्छन् । महिला नजिकै जाने, छुने, जिस्क्याउने, अश्लिल जोक सुनाउने, घुरेर हेर्ने, अश्लिल ईसारा गर्ने गरिरहेका हुन्छन् ।
जसले यो भोगिरहेका हुन्छन् प्रायः यस्ता व्यवहारलाई धेरैले नजरअन्दाज गरिरहेका पनि हुन्छन । कतिले यस्ता सानातिना बेहोरा भनेर त्यतिकै छोडिरहेका हुन्छन् । कसैले चाँहि डरले भन्न सकिरहेका हुँदैनन् ।
आम निम्नबर्गीय समुदायहरु, परिवारहरु आफ्ना जीविकोपार्जनमा व्यस्त हुने गर्छन् । परिवारका छोराछोरीहरु हुर्कँदै त छन । तर, कुन रुपमा हुर्कँदै छन् भन्ने कुरा त्यति ध्यान दिने फुर्सद र सचेतता पनि हुँदैन ।
अझ विखंडित परिवार, श्रीमान श्रीमतीबीच झै झगडा भईरहने परिवार र मदिरामा धुत भईरहने परिवारका छोराहरु, (छोरीहरुपनि) विशेष गरेर आफ्नै परिवारको बाटो अंगाल्न पुग्छन् ।
यस्ता कृयाकलापमा सहभागी हुँदाहुँदै किशोर तथा युवाहरु लागु औषध, मदिरा, महिलाप्रतिको यौन दूव्र्यवहारमा नजानिंदो तवरले संलग्न भईसकेका हुन्छन् ।
धार्मिक र सांस्कृतिक मूल्य मान्यता भित्रको विभेद, दलित तथा गरिबीका रेखामुनी रहेका समुदायमाथि कथित ठूला जात र शक्तिशालीहरुको थिचोमिचो, हेलाहोचो पनि यसका लागि उत्तिकै जिम्मेवार छ । गन्यमान्य मानिएकै पुरुषका दम्भ,सोच र व्यवहारले पनि समाजमा कैयौं घटना घटाउने, दबाउने, अनि हत्यासम्म पुग्ने गरेको देखिन्छ ।
सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक शक्तिहरुको आडमा गरिने यौन हिंसा तथा बलात्कारजस्ता हिंसाका अन्य मनोवैज्ञानिक पाटाहरु पनि छन जसले गर्दा अपराधहरु मौलाउँदै गएको पाईन्छ ।
साना बालिकाहरुलाई (बालकहरुलाई पनि) बलात्कार गर्ने र हत्या नै गर्ने घटनामा अझ यस्तै आपराधिक मानसिकता भएका या व्यक्तित्व विकार सम्बन्धी समस्या भएका व्यक्तिहरुको संलग्नता हुने गरेको पाईन्छ ।
तीस चालिस वर्षेदेखि नब्बे वर्षसम्मका प्रौढहरु जो पेडोफिलियाबाट ग्रस्त हुन्छन त्यस्ता व्यक्तिहरुले केवल पाँच छ वर्षदेखि १३ वर्षसम्मका बालबालिकाहरुसँगमात्र यौनसम्बन्धको बारेमा सोचिरहेको हुन्छन् ।
र, ती पेडोफाईलहरु जन्मजातै यस्ता मानसिकता लिएर जन्मेका हुन्छन् । यस्ता पेडोफाईलहरुले बालबालिकाहरुलाई माया गर्ने, फकाउने, आफ्नो हातमा लिने, यौन शोषणको हदसम्म पुग्ने र नमानेदेखि धम्क्याउने आदि गरेर आफ्नो यौन अभिष्ट पुरा गरिरहेका हुन्छन् । यस्तै पर्सनालिटी डिसअर्डर सम्बन्धी समस्या भएका व्यक्तिहरुले सानैदेखि आफ्ना हर्कत आम अन्य बालबालिकाभन्दा बढी नै गरिरहेका हुन्छन् ।
यस्ता व्यक्तिले आफूलाई मन नपराउनेलाई सिधै हिर्काउन पछि नपर्ने, परिवारमा आमाबाबु तथा दाजुभाई अनि विद्यालयमा शिक्षक, यहाँसम्म कि प्रहरीसंग पनि जुध्न जाने जस्ता व्यवहार देखाउने गर्दछन् ।
यस्ता व्यक्तित्वहरु लागु औषध लगायतको ग्याङ्गमा सजिलै फस्ने, राजनैतिक दलसंग पनि नजिक हुने आदि गर्दछन् । यस्ता डिसअर्डर भएका व्यक्तिहरुलाई माया, प्रेम, आत्मग्लानीका भावहरु नआउने हुनाले भरसक क्दो अपराध कर्ममा उनीहरु रमाइरहेका हुन्छन् ।
बलात्कारका घटना हुन नदिन के गर्ने ?
कम्तिमा बलात्कारका घटना हुन नदिनका लागि परिवारका सदस्यहरुले आफ्ना बालबालिकाका सानैदेखिका चाल चलनबारे अवलोकन गर्नुपर्र्ने देखिन्छ । केटाकेटीहरुका आनीबानीहरु परिवारले ध्यान नदिएपनि छिमेकी, शिक्षकहरुले त अवलोकन गरिरहेकै हुन्छन् । आफ्ना केटाकेटीका व्यवहारका बारे छिमेकीसँग बुझ्दा पनि यस्ता घटना न्यूनीकरणमा ठूलै मद्दत पुग्छ । तर, यस्ता कुरालाई वेवास्ता गर्दै गए बालबालिकाहरु अपराधउन्मुख कृयाकलापमा संलग्न हुने सम्भावना धेरै नै हुन्छ ।
यसरी समाजमा दिनदिनै घटिरहेका बलात्कार र हत्या जस्ता जघन्य अपराधका घटनाले परिवार र समाज नै मर्माहत तथा शोकमा डुबिराखेको पाइन्छ । कतिपय अवस्थामा शक्तिशाली राजनैतिक पहुँचको आडमा रहने अपराधीलाई प्रहरी, प्रशासन तथा न्यायीक निकाय समेत अपराध तथा अपराधी जोगाउनतिर लागेका घटना प्रशस्तै उदाहरण छन् हाम्रो समाजमा ।
गरिबी, अभाव, अचेतना त समाजमा व्याप्त छँदैनै छ त्यसमाथि पनि हाम्रा शक्तिकेन्द्रमा भएका ठूला मानिएका व्यक्तित्वहरुका समाजलाई हेर्ने दृष्टिकोण, अपराधी बचाउने मानसिकता हेर्दा समाजमा घट्ने यस्ता घटना अझै कति घटिरहने हुन भने झैं लाग्छ ।
पहिलो त यसका विरुद्ध लाग्न समाजलाई समानता र समताको आधारमा विकासित गरिनुपर्यो । जातीय विभेद, लैङ्गिक विभेद, चरम गरिबी, पछौटेपनलाई सम्बोधन हुने खालका विधि र व्यवस्था लागु गर्नेमा जोड दिनुुपर्यो ।
बल्ल समाजका सिमान्त वर्ग पनि चल्मलाउन पाउने र उनीहरुले पनि पढ्ने लेख्ने, सचेत हुने, सही गलत छुट्याउन सक्नेछन् । शिक्षा र रोजगार भएपछि बल्ल आफूमाथिको अन्यायबारे सोच्ने र त्यसको विरुद्धमा सर्वसाधारण पनि बोल्न सक्ने हुन्छन् ।
तर, नेतृत्व तह समाजको कुरीति अनि अपराधका जरो केलाउन लागेको देखिंदैन् । बहस भने बलात्कारीलाई फाँसी दिने सम्मका हुने गरेका छन् । नेपाल सरकारले बलात्कारका घटना मिलाउनेलाई पनि कैद सजायको प्रावधान गरेको छ । तर, अठार वर्षमाथिका व्यक्तिलाई बलात्कार गरेमा कम सजायको व्यवस्थाले फेरि पनि प्रश्न खडा गरेको छ ।
बलात्कार आखिर बलात्कारै भएकोले यसमा जुनसुकै उमेर समूहकालाई अधिकतम सजाय हुनुपर्ने देखिन्छ । केही अध्यनशील र प्रगतिपथमा लम्किरहेका युवा जमातसंग यो जघन्य अपराध रोक्न मृत्युदण्डबाहेक अरु के गर्न सकिन्छ भनेर फेसबुक मेसेन्जरमा गरिएको कुराकानीमा सुझाइएका उपाय यस्ता छन् ।
आफ्ना छोराछोरीहरुले बाल्यकालमा के कस्ता असामान्य व्यवहार देखाईरहेका छन त्यसमा परिवारका सदस्यले ध्यान दिनुका साथै बेलैमा सचेत गराउने साथै समस्या नै भन्ने लागेमा मनोविज्ञ तथा स्वास्थ्यकार्यकर्तासंग सहयोग लिने ।
विद्यालयमा यौन शिक्षा तथा दूव्र्यवहार र यसको परिणतिबारे पाठ्यक्रममा समावेश गरेर अध्ययन गराउने । सरकारी तथा गैहृसरकारी संस्थाले पनि बाल यौन दूव्र्यवहार, यसको दीर्घकालिन असर, यसको कानूनी उपचारका बारेमा व्यापक जनचेतना फैलाउने कार्यक्रम गर्ने ।
मदिरा,चुरोट खैनी जस्ता लागुऔषधका कारण पनि समाजमा यस्ता खालका यौन अपराध बढ्ने हुनाले यसको प्रयोगमा बन्देजको लागि स्थानीय निकाय, प्रहरी, सामाजिक संघसंस्था यसका बारेमा चनाखो बन्नुपर्ने ।
बलात्कार विरुद्धको कानूनको पूर्ण पालना गर्ने, बलात्कारको घटनामा मिलापत्र गर्ने,गराउने सबैलाई हदैसम्म कारवाही गर्ने । नेपालको कानूनमा अपराधीलाई जेलमा राखेपछि दिन र रात गन्दै २४ घण्टाको दुई दिन जोड्ने प्रचलन छ । जसले गर्दा सजाय पाएकाहरु चाँडै छुट्ने र पुनः अपराधकर्ममा लाग्ने सम्भावना रहने गर्छ । यसबारेमा पनि पुर्नविचार गर्नु जरुरी छ ।
बलात्कारपछि हत्या गर्ने जस्ता अपराध एक मानसिक विकार पनि भएकोले सबभन्दा महत्वपूर्ण कुरा परिवार, समाजलाई सचेत बनाउनु नै हो । बलात्कार जस्तो जघन्य अपराधलाई केवल सजायका भरमा नियन्त्रण गर्न सकिँदैन र यसको सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक पाटोमा छिरेर समाधान खोजेमा यो सम्भव छ भन्ने सकारात्मक चिन्तन राख्ने हो भने यो नूनिकरण सम्भव छ, हाम्रै पालामा ।