हवाइजहाज मार्फत चामल ढुवानी : वितरण प्रतिघर २५ किलो

हवाइजहाज मार्फत चामल ढुवानी :  वितरण प्रतिघर २५ किलो

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १६, २०७७

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर ३ बरगाउँका विपन्न तथा दलित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सोही वडाका तोर्पा गाउँका प्रेम दोर्जे लामाले व्यक्तिगत सहयोग तथा छिरिन पाल्देन लामाको सहकार्यमा मङ्सिर १४ गते खाद्यान्न वितरण गर्नुभएको हो । 

कोभिड १९ का कारण केही राहत होस् भन्ने भनेर बरगाउँका ४३ दलित तथा अति विपन्न वर्ग, पिछडिएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको छिरिन पाल्देन लामाले बताउनुभयो । उक्त गाउँका प्रतिघरलाई २५ किलो चामल वितरण गरिएको लामाले बताउनुभयो । 

हुम्लाबाट पहिलो सगरमाथा आरोही प्रेम दोर्जे लामाले मङ्सिर १४ गते नेपालगञ्जबाट हवाइजहाज मार्फत चामल ढुवानी गरी गाउँमा सो सहयोग गर्नुभएको हो ।  देशभर कोभिड १९ शुरु भएदेखि नै बरगाउँका दलितलाई खानाको समस्या हुने भएपछि आफूले सानो सहयोग गरेको लामाले बताउनुभयो ।