यस्लाई निरुत्साहित गर्नुपर्छ, प्रयोग नगर्न चेतावनी दिनुपर्छ : गुटेर्रेस

यस्लाई निरुत्साहित गर्नुपर्छ, प्रयोग नगर्न चेतावनी दिनुपर्छ :  गुटेर्रेस

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर १६, २०७७

एजेन्सी ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । 

विश्वलाई नै रासायनिक हतियार विहिन बनाउन उहाँले सोमबार सवैलाई आग्रह गर्नु भएको हो ।

रासायनिक हतियारबाट पीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै उहाँले यसको प्रयोग कहिल्यै, कहिँ, कुनै पनि बाहनामा वा कुनै पनि अवस्थामा ठिक नभएको दावी गर्नुभयो ।
 
रासायनिक हतियारको प्रयोगले अन्तर्राष्ट्रिय कानुनको उलङ्घन हुने गरेको पनि उहाँले स्मरण गराउनु भएको छ ।

'कुनैपनि तरिकाले रासायनिक हतियारको प्रयोगलाई सही सावित गर्न सकिदैन, हामीले यस्लाई निरुत्साहित गर्नुपर्छ, प्रयोग नगर्न चेतावनी दिनुपर्छ,' उहाँले लेख्नुभएको छ । 

उहाँले रासायनिक हतियारको प्रयोगलाई कहिल्यै पनि सहज र स्वभाविक रुपमा लिन नहुनेमा पनि जोड दिनुभयो । राष्ट्रसंघीय प्रमुखले रासायनिक हतियारको प्रयोग स्वीकार्य हुन नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले रासायनिक हतियारबाट पीडित भएकाहरुप्रति पनि विश्व समुदायको नैतिक जिम्मेबारी रहेको तर्फ सवैको ध्यानाकर्षण गराउनुभयो । 

सन्देश मार्फत उहाँले पीडितहरुप्रति सहानुभूति पनि व्यक्त गर्नुभएको छ ।