सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवन उद्घाटन

सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवन उद्घाटन

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर १६, २०७७

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्ष जनशक्तिको विकासले समृद्धिको आधार बनाउने बताउनुभएको छ । बर्दिबास नगरपालिका–११ सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री पोखरेलले मुलुकका सातै प्रदेशमा एकएक मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय र सङ्कल्पअनुसार काम अघि बढेको बताउनुभयो ।  

नवनिर्मित भवन तीन करोड ७४ लाखको लागतमा निर्माण भएको हो । जम्मा २१ कोेठाको सो अत्याधुनिक भवनमा प्राविधिक विषयको सैद्धान्तिक र व्यावहारिक अभ्यास छात्रछात्रालाई गराइने शिक्षालयका प्राचार्य रमणकुमार मेहताले बताउनुभयो । शिक्षालयको ४० कोठे अर्को भवन अझै निर्माणाधीन छ ।

शिक्षालय स्थापना भएर सञ्चालनमा आएको तीन वर्ष भएको छ । तीनवर्षे डिप्लोमा (स्नातक) तहको पठनपाठन र विषयगत अभ्यास गराइने सो शिक्षालयमा सिभिल इञ्जिनीयरिङ, जोमेट्रिक इञ्जिनीयरिङ (अमिन, सर्भे), वनविज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी र होटल म्यानेजमेन्ट विषयको सैद्धान्तिक र व्यावहारिक सीप दिँदै आएको छ । अब यसपालिको शैक्षिक सत्रदेखि फार्मेसी, रेडियोग्राफी (रेडियोलोजी), आयुर्वेद र प्राकृतिक चिकित्सा तथा योग विषयको पठनपाठनको थप स्वीकृति पाएपछि यो मुलुककै शैक्षिक गन्तव्यमध्येको एक बनेको छ । 

फार्मेसी र रेडियोग्राफी शिक्षालयकै भवनमा सञ्चालन गरिएको छ भने आयुर्वेद जिल्लाकै मटिहानीस्थित राजकीय संस्कृत मावि र प्राकृतिक चिकित्सा तथा योग सिरहा जिल्लाको धनगढी नगरपालिकासँगको साझेदारीमा तिनै ठाउँमा सञ्चालनको अनुमति दिइएको प्राचार्य मेहताले बताउनुभयो ।  शिक्षालयमा अहिले मुलुकका  २२ जिल्लाका ५३८ जना छात्रछात्रा अध्यनरत छन् ।