कावासोती–बोझापोखरी हुँदै कोखेटारसम्मको सडक निर्माणले गति लिन सकेन

कावासोती–बोझापोखरी हुँदै कोखेटारसम्मको सडक निर्माणले गति लिन सकेन

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १७, २०७७

नवलपरासी । नवलपरासी  (बर्दघाट सुस्तापूर्व) नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग जोड्ने सडक निर्माणको कामले गति लिन सकेको छैन । आफ्नै प्रदेशको बाटो हुँदै राजधानी पोखरासम्म पुग्ने सडकको रुपमा लिइएको कावासोती–बोझापोखरी हुँदै कोखेटारसम्मको सडक निर्माणको कामले गति लिन नसकेको हो । 

कावासोतीको फलफूल चोक–बोझापोखरी–कोखेटार हुँदै निर्माणाधीन कालीगण्डकी करिडोरमा यो सडक जोडिन्छ । बुलिङटारमा कालीगण्डकी करोडरमा जोडिने सडक डेढगाउँबाट तनहुँको भीमाद हुँदै खैरेनीटार निस्किन्छ । यसले नवलपुरलाई गण्डकी प्रदेशको राजधानीसँग सीधै जोड्ने छ । हाल यहाँका बासिन्दा चितवन मुग्लिङ हुँदै वा बुटवल–स्याङ्जा हुँदै पोखरा पुग्नुपर्ने अवस्था रहेको छ । 

जिल्लालाई प्रदेशसँग जोड्ने महत्वपूर्ण सडकका रुपमा हेरिएको भए पनि निर्माणको कामले भने गति लिनसकेको छैन । विसं २०७४ जेठ ३१ गते ठेक्का सम्झौता भएको कावासोती–कोखेटार सडक निर्माणको काम विसं २०७७ जेठ मसान्तसम्ममा सकिसक्नु पर्नेमा तर सो अवधिमा काम नसकिएपछि यसै वर्षको चैत १३ गतेसम्मका लागि म्याद थप गरिएको सडक डिभिजन कार्यालय बुटलका इञ्जिनीयर सागर पोखरेलले बताउनुभयो । 

कावासोती–बोझापोखरी र बोझापोखरी–कोखेटार गरी सडक निर्माणको कामलाई दुई खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा कावासोतीको फलफूल चोकदेखि १४ किलोमिटर कालोपत्र र त्यसपछिको ६ किलोमिटर  ग्राभेल तथा दोस्रो खण्डमा सबै २० किलिमिटर ग्राभेल गर्ने गरी ठेक्का सम्झौता भएर काम अगाडि बढेको तर हालसम्म पहिलो खण्डमा २० प्रतिशत र दोस्रो खण्डमा करिब ६० प्रतिशत मात्रै काम भएको छ । 

पहिलो खण्डमा सन्तोसी–रौताहा–हरिहर जेभी र दोस्रो खण्डमा पप्पुकोशी–न्यौपाने–बन्धन भगवती जेभीले काम गरिरहेका छन् । ठेकेदार कम्पनीले निर्माणको काम सुस्तगतिमा गर्दा समेत प्रगति राम्रो देखिएको छैन । केही समय कोभिडले समेत निर्माणको कामलाई प्रभाव पारेको इञ्जिनीयर पोखरेलले बताउनुभयो । 

यस्तै पहिले सडक डिभिजन कार्यालय बुटवलबाट निर्माणको काम भएकामा बीचमा गण्डकी प्रदेश सरकारमार्फत काम गरिएको थियो । अहिले पुनः सडक डिभिजन कार्यालय बुटवलमार्फत काम शुरु भएको पोखरेलले बताउनुभयो । सडक निर्माणको अख्तियारीले समेत केही अलमल भएको उहाँले बताउनुभयो । अहिले निर्माणको कामले गति र थपिएको अवधिमा समेत निर्माणको काम सम्पन्न हुन सक्ने अवस्था भने देखिएको छैन । पहिलो खण्डको कालोपत्र गर्ने क्षेत्रमा अझै नाला निर्माणको काम पूरा हुन सकेको छैन ।