कृषि कानुनको विरुद्धमा भारतमा किसानहरुको प्रदर्शन एक हप्ता पुरा

कृषि कानुनको विरुद्धमा भारतमा किसानहरुको प्रदर्शन एक हप्ता पुरा

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर १७, २०७७

एजेन्सी । भारतमा किसानहरुले गरिरहेको विरोध प्रदर्शनको सिलसिला बुधबार एक हप्ता पुरा भएको छ । 

सरकारले ल्याएको कृषि सम्बन्धी तीन ओटा कानुनको विरुद्धमा असन्तुष्टि जनाउँदै किसानहरुले प्रदर्शन गरेका हुन् । 

संसदको गत अधिवेशनबाट सरकारले पारित गरेको कानुनका विरुद्धमा उनीहरुले त्यति बेलादेखि नै असन्तुष्टि जनाउँदै आएपनि पछिल्लो केही समयदेखि आन्दोलन नै गर्न थालेका छन् ।

उनीहरुले केन्द्रीय राजधानी नयाँदिल्लीको निराकार संगम मैदानमा शुरु गरेको प्रदर्शन बुधबार एक हप्ता भएको हो ।

आन्दोलन चर्किदै गएपछि सरकारले आन्दोलनकारी किसानहरुलाई वार्तामा बस्न आग्रह गरेको थियो । सरकारको आग्रह अनुसार मंगलबार राती भएको वार्ता पनि विना निश्कर्ष सकिएको छ । 

मंगलबार रातीको वार्तामा सरकारी पक्षले मागहरुको सम्वोधनका लागि छुट्टै समिति बनाउन प्रस्ताव गरेपनि आन्दोलनरत किसानहरुले भने अस्विकार गरेका छन् । 

आन्दोलनकारीका प्रतिनिधिहरु तथा अगुवाहरुसँग भएको वार्ताले पनि सकारात्मक संकेत नदिएपछि आन्दोलन थप चर्किने र लम्बिने संभावना देखिएको छ ।  

वार्ता सकारात्मक नभएपछि कृषि मन्त्री नरेन्द्र सिंह तोमरले भने वार्ता राम्रो भएको प्रतिक्रिया दिनुभएको छ । 

उनीहरुसँगको वार्ता यही डिसेम्बर ३ तारिख भोलि (बिहीबार) फेरी गर्ने तय भएको पनि उहाँले जानकारी दिनुभयो । 

'हामीले आन्दोलनरत किसानहरुका प्रतिनिधिहरुसँग निरन्तर कुराकानी गर्न खोजेका छौँ, तर उहाँहरु छुट्टा छुट्टै गर्न चाहनुहुन्छ, हामीलाई त्यसमा पनि समस्या छैन,' मन्त्री तोमरले भन्नुभयो । 

सरकारले किसान र उपभोक्ताकै हितका लागि कानुन ल्याइएको दावी गरेको छ भने किसानहरुले नयाँ कानुनले किसानलाई मर्कामा पार्ने दावी गरेका छन् ।