आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृत निलम्बित
मंसिर १७, २०७७

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा  प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया छन् । मन्त्रालयको मङ्गलबारको सचिवस्तरीय निर्णयले तिनलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । 

प्रहरी वरिष्ठ उपरीक्षक कुँवरका अनुसार घटनाका विषयमा अहिले छानबिन भइरहेको र कसुरको मात्रा हेरी कारवाही हुनेछ । तीनै जनामाथि विगतमा कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहँदा आचरण विपरीत र गैरव्यावसायिक कार्य गरेको आरोप छ ।

 यादव हाल महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रवक्ताका रुपमा, बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र चौरासिया इलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत छन् ।  मन्त्रालयका अनुसार उनीहरुले प्रहरी सङ्गठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीलाई असर पु¥याउने किसिमको कार्य गरेको जानकारी प्राप्त भई प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरेको पाइएको छ । 

मन्त्रालयले प्रहरी नियमावली,२०७१ विपरीत आचरण, व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टि हुन आएकाले थप जाँचबुझ एवं छानबिन गर्न प्रहरी नियमावली, २०७१ को नियम ११५ को ९४० बमोजिम सचिवस्तरको निर्णयअनुसार बढीमा ६ महिनाका लागि निलम्बन गरिएको जनाएको छ । केही दिनअघि मात्रै मन्त्रालयले इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका प्रहरी नायब उपरीक्षक भरतराज चौधरीलाई पनि निलम्बन गरेको थियो ।