गंगा विष्ट : जसलाई मनका कुराले दुर्गम, विकट र अभावग्रस्त भौगोलिक क्षेत्रको पश्चगमनमा डोर्‍यायो
मंसिर १७, २०७७

संखुवासभाको मूलधारको सञ्चारकर्मीका रुपमा चिनिन्छन् उनी । तर अहिले जिल्लाका मूल–बजारको भिडभाडबाट बाहिर गुमनाम छन्, सञ्चारकर्मी गंगा विष्ट । दुनियाँ सुख सुविधायुक्त जीवनका लागि शहर–केन्द्रित, राजधानीमुखी हुँदै गइरहेको कालबेलामा गंगा विष्ट दुर्गम, विकट र अभावले ग्रस्त भौगोलिक क्षेत्रको पश्चगमनमा लागेका छन् । 

यसो हुनमा उनी भित्रै कुनै दोष छ । हुन त उनी कसैका कुरा, सल्लाह सुन्दैनन्, मान्दैनन् । उनी आफ्नो मनका कुरा सुन्छन् । आफ्नो ढिपी छोड्दैनन् । मनले जे ठान्छ, त्यो बाहेक अर्को कुनै सत्य छैन उनका लागि । समय, व्यवस्था, ऐन, कानुन, सामाजिक व्यवस्था उनका लागि गौण विषय हुन् । उनी भावना–प्रधान कुराको वकालत गर्छन् । उनको अन्तस्करणले देखेको वा अन्तरआत्माको आवाज जे हुन्छ त्यही उनको जीवनको उद्देश्य, जीवन हुने गरेकाले होला, उनी शहरबाट गाउँ पसेका छन्, फरक कर्मका खातिर एउटा अथक कर्मयोगी भएर ।

विगत एक दशकदेखि रेडियो व्यवस्थापन र प्रसारणको कार्यमा व्यस्त छन् तर शहरका चल्तीका सञ्चारकर्मीसँग उनको विरलै भेट हुन्छ, किनभने उनी अहिले व्यस्त बजार, साथी–सङ्गातिहरुको घुइँचो, प्रशस्त आम्दानी हुने शहर छाडेर भौगोलिक रुपमा निकै टाढा गएका छन् । घाम लागेको समयमा मात्र फोन सम्पर्क हुने ठाउँ नुम बजारमा । उनी भन्छन्; सुविधा सम्पन्न र आम्दानी हुने ठाउँमा सबैले ‘सामाजिक सेवा (?)’ गरिरहेछन्, बजार लक्षित सञ्चार माध्यमहरुको सेवा देशको दुर्गममा बसोवास गर्ने जनतासम्म पुग्दो रहेनछ, त्यसैको पूर्तिका लागि म चाहीँ शहरको सुविधालाई थाति राखेर जिल्लाको दुर्गम गाउँ नुमलाई केन्द्र बनाएर जनतालाई सूचना सेवा पुर्‍याउने कोशीसमा दुर्गम गाउँमा आएको हुँ ।

 प्रजिअको कोप भाजनमा परेर गंगा विष्ट र अर्का पत्रकार शङ्कर खनालले २०५८ मंसिर १८ गतेदेखि साढे तीन महिना सैनिक हिरासतमा मृत्यु र जीवनको दोसाँधमा बिताउनु पर्‍यो । सैनिकद्वारा क्यामरा लुटियो, विभिन्न कार्यक्रममा खिचिएका, विभिन्न ठाउँका प्राकृतिक, साँस्कृतिक दृश्यहरु भएका टेप लुटियो । अथवा भनौं गंगा विष्टको सर्वस्व लुटियो । द्वन्द्वको अवसानपछि द्वन्द्व–पीडितका नाममा सरकारले थुप्रैलाई क्षतिपूर्ति वितरण गर्‍यो । तर गंगाको नाममा भाग लगाइएन ।

नुम बजार हालको राजनीतिक संरचना अनुसार मकालु गाउँपालिकाको केन्द्र हो । यो बजार जिल्ला सदरमुकाम खाँदवारीबाट करिब ४० किलोमिटर उत्तरमा पर्छ । भूगोलको हिसाबले मित्रराष्ट्र चीनसँग जोडिएको छ । करिब सय घर जतिको बजार छ । अलैंची राम्रै उत्पादन भएको बेला रुपैया पैसाको राम्रै लेनदेन हुन्छ, दश, बीस जना व्यापारीहरुमा । अरु त सदरमुकामका व्यापारीले आफ्नो पञ्जाभित्र पारिहाल्छन् । त्यसैले अधिकाँश बसउठ हुने चाहिँ ‘हुँदा खाने’हरुसँगै हो ।

जिल्ला सदरमुकाम खाँदवारीमा बसेर झण्डै दुई दशक सञ्चारकर्म गर्दै आएका गंगा विष्ट सामाजिक सेवाको रुपमा सञ्चार सेवा पुर्‍याएर राजनीतिक व्यक्तित्व बनाउन आफ्नो बसोवास, परिवारलाई छाडेर मकालु गएका होइनन् । जिल्लामा राम्रै चलेको एफ.एम.रेडियो गुराँस एफ.एम.का स्टेसन म्यानेजर तथा लगानीकर्ता थिए उनी । 

ठूलो संख्यामा जनसम्पर्क हुने, रेडियोको आम्दानी मनग्गे हुने, वृद्ध आमा, दाजुभाई, आफ्नो परिवार, साथीभाईसँगै रमाउन पाइने खाँदवारीको बसोवास भन्दा सुविधाजनक अवस्था उनका लागि अर्को के हुन सक्थ्यो र ! तर उनलाई यो सुखले पटक्कै जितेन । र, लागेका छन् पिछडिएकाहरुलाई सूचना, ज्ञान र मनोरञ्जनको खुराक दिन । 

राज्यले नदेखेका, देशमा भइरहेका घटना–परिघटनाबाट अनभिज्ञ, आफ्ना पीरमर्का कसैलाई सुनाउन नपाएका, उपेक्षित, सिमान्तकृत दुर्गमका जनतालाई सञ्चार माध्यम ' रेडियो'  मार्फत सुसूचित गराएर यथाशक्य सशक्तीकरण गर्ने उनको पुरानो तिर्खा मेटाउन उनी अहिले ' अभावको मैदान' मा होमिएका छन् । रेडियो सञ्चालनका लागि खल्तिको स्रोतमा निर्भर हुनु परेको छ । यदाकदा सहृदयी सहयोगी हातहरुको सिमित अनि अपर्याप्त साथ सहयोगले उनको मनोबल टुट्न दिएको छैन । 

गंगा विष्ट संखुवासभा जिल्लाका पुराना सञ्चारकर्मी हुन् । ४४/४५ सालतिर धनकुटा कलेजमा अध्ययन गर्दाताका उनी भित्ते पत्रिका प्रकाशन गर्थे 'प्रहार'  नामको । पछि जब खाँदवारीमा स्थायी बसोवास शुरु भयो त्यसपछि भने उनले आफूलाई सम्पूर्ण रुपमा सञ्चारकर्ममा समर्पण गरे । कहिले साप्ताहिक 'चौतारी टाइम्स'  त कहिले साप्ताहिक ' मकालु सन्देश'  प्रकाशन गरेर । तर ती साप्ताहिक छोटो आयु भएकाले टिक्न सकेनन्, आर्थिक अभाव निको पार्ने इञ्जेक्सन नै फेला परेन खाँदवारी बजारमा ।

नेपाल टेलिभिजनको संवाददाता बनेर निकै वर्ष काम गरे गंगा विष्टले । उनी कसरी टेलिभिजन संवाददाता हुन पुगे भन्ने बारेमा एउटा सानो किस्सा नै छ; घरायसी कारणले कलेजको पढाई छाडेर पैतृक थलो देवीटार भन्ने गाउँकै विद्यालयमा शिक्षक भएका उनी करिब तीन वर्षको सेवापछि निकालिए स्थायी शिक्षक खटिइ आएकाले । पढाई छुट्यो, जागिर छुट्यो, के गर्ने भन्ने प्रश्न खडा भयो । अनि हान्निए सदरमुकाम खाँदवारी । एकजना चिनजान त के भन्ने नाताका मान्छे थिए मनोहर भट्टराई ‘घरेलु’ । उनैकहाँ पुगे खाँदवारी । अनि सल्लाह भयो, विश्वनाथ ढकालले बेच्न लागेको खाँदवारी बजारको स्टेसनरी पसल किनेर चलाउने । केही रकम तिरे, केही बाँकी राखेर पछि तिरोभरो गरे । 

त्यही स्टेसनरी पसलले पत्रपत्रिका किनबेचको कार्यबाट उनलाई पुनः समाचार र प्रकाशनसँग जोड्यो । यही सिलसिलामा त्यसबेला, ‘ब्रिटेन नेपाल मेडिकल ट्रष्ट’ नामको बेलायती संस्थामा काम गर्ने र निजी कार्यका रुपमा भिडियो क्यामेराले खिचेका दृश्य टेलिभिजनलाई पठाउँने एकजना रमेश मास्केसँग चिनजान भयो, सम्पर्क घनिभूत भयो, उनैबाट गंगाले भिडियो क्यामेरा चलाउन सिके, अनि रमेश मास्केले खाँदवारी छाडेर जाँदा भिडियो क्यामेरा चलाउने सीपसँगै नेपाल टेलिभिजनको संवाददाताको स्थान हासिल गरे, रमेश मास्केकै सिफारिसमा । यो कुरा ५५/५६ सालतिरको हो ।

टेलिभिजन संवाददाताको हैसियत, भिडियो क्यामेरा चलाउने सीप र क्यामरा समेत भएपछि गंगाले अरु केही देखेनन्, आमाबुवा देखेनन्, श्रीमती छोराछोरी देखेनन्, दाजुभाई, इष्टमित्रको त के कुरा । बस् छ त के ! क्यामरा, समाचार र टेलिभिजनको प्रसारण । दाम नभए पनि नाम भने राम्रै कमाए, खाँदवारी बजार र आसपासमा । त्यो समयमा खाने पिउने काम उनका लागि के थियो, थाहा छैन । तर यो पँक्तिकारसँग परिचय भएयता उनी क्यामेरासँग सुत्छन्, उठ्छन्, विहान बेलुका खाना खाने कुरा होस् वा खाजा, त्यो उनको अनिवार्य कामको सूचीमा पर्दैन । अचाक्ली भएपछि हामी भन्ने गर्छौ, क्यामरा भएपछि गंगालाई दिसा–पिशाव पनि आउँदैन ।

क्यामराप्रतिको यही लगावले गंगालाई द्वन्द्वकालमा सैनिक यातनाको शिकार बनायो । माओवादी द्वन्द्व उत्कर्षमा थियो । जिल्लाका प्रमुख प्रशासक थिए, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा । माओवादी दमनको नाममा उनको उत्पीडन यति चरम थियो कि बाटोमा जो देख्यो त्यो उनका लागि माओवादी भइहाल्ने । बजारका साहु महाजन, माओवादी इतरका कम्युनिष्ट कार्यकर्ता, पत्रकार जो कोही उनका लागि माओवादी भनिनु पर्ने । शायद माओवादी दमनमा सफलता पाएको भनेर, केही संख्यामा जनताको हत्या गरेर उनी विभूषित र प्रतिष्ठित हुन चाहन्थे उनी । यिनै प्रजिअको कोप भाजनमा परेर गंगा विष्ट र अर्का पत्रकार शङ्कर खनालले २०५८ मंसिर १८ गतेदेखि साढे तीन महिना सैनिक हिरासतमा मृत्यु र जीवनको दोसाँधमा बिताउनु पर्‍यो । सैनिकद्वारा क्यामरा लुटियो, विभिन्न कार्यक्रममा खिचिएका, विभिन्न ठाउँका प्राकृतिक, साँस्कृतिक दृश्यहरु भएका टेप लुटियो । अथवा भनौं गंगा विष्टको सर्वस्व लुटियो । द्वन्द्वको अवसानपछि द्वन्द्व–पीडितका नाममा सरकारले थुप्रैलाई क्षतिपूर्ति वितरण गर्‍यो । तर गंगाको नाममा भाग लगाइएन ।

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि । अर्थात फलको आश नगरीकन निरपेक्ष कर्म गर्नु गंगाको वैशिष्ट्य हो । उनले कतै कसैलाई गुनासो गरेनन् वा कसैले उनको पीरमर्का सुनिदिएन । आखिर सर्पहरुले गीत कहाँ सुन्छन् र ! अहिले पनि गंगालाई कसैप्रति गुनासो छैन । क्यामेरा छैन । दृश्य सम्पादन गर्ने स्टुडियो छैन । तै पनि साथी–सङ्गातिहरुको क्यामेराले खिचेका दृश्यहरु स्थानीय केवुल प्रसारकहरुको सहयोगमा करिब तीन महिना टेलिभिजन कार्यक्रम सञ्चालन गरे । साथीहरुले पनि कति दिन सहयोग गर्नु । गंगा फेरि एक्लिए । 

यही परिवेशबीच खाँदवारीमा रेडियो स्टेसन खुल्न थाले ।२०६४ मा खाँदवारी एफ.एम., त्यसको तीन वर्षपछि गुराँस एफ.एम.(जसमा स्वयम् गंगा विष्टको शेयर लगानी छ) त्यसैगरी सुनाखरी रेडियो लाइभ, पाख्रीवास एफ.एम. र २०७२/७३ मा संखुवासभा एफ.एम. खुले । अहिले चैनपुर बजारमा एउटा अरुण एफ.एम. छ भने धर्मदेवी नगरपालिकाको मुढे बजारमा नयाँ अभियान नामको एफ.एम. रेडियो सञ्चालन भइरहेका छन् ।

यतिका वर्ष राम्रो आम्दानी हुने, भौतिक सुविधा सम्पन्न खाँदवारी बजारमा बसेर रेडियोको मूल हर्ताकर्ता भएर काम गर्दा पनि गंगालाई जनताको अधिकारका लागि काम गरेको महसूस हुन सकेन । हृदयको अन्तरकुन्तरमा सुसुप्त रहेको आम जनताको सुसूचित हुने अधिकार प्रत्याभूत गर्न आफ्नो तर्फबाट ठोस काम हुन नसकेको कुराले चिमोटिरह्यो । त्यसैले गएको वष २०७६ भदौमा एउटा रेडियो 'साङ्ग्रिला एफ.एम.' लिएर देशको विकट भूगोलमा हड्डि घोट्तै छन् । 

'मै लाउँ मै खाउँ अरु सब मरुन् दुर्वलहरु'  भन्ने स्वार्थी समाज निर्माण हुँदै गइरहेको कालबेलामा निजी प्रयासले कति समाज सेवा गर्ला ? गंगाले चाहेको जनताको सूचनाको हक प्रत्याभूत होला कि नहोला ? जनतामा सशक्तीकरण हुन सक्ला कि नसक्ला ? गंगालाई व्यक्ति, संस्था, सरकार क-कस्को साथ सहयोग मिल्ला ? मिल्ला कि नमिल्ला ? गंगा कहिले थाक्ने हुन् ? थाक्छन् कि थाक्दैनन् ? यस्ता असंख्य प्रश्न मेरा सामु उपस्थित छन् । कठै गंगा विष्ट र उनको सूचनाको हक प्रत्याभूत गर्ने, जनतालाई सशक्तीकरण गर्ने अभिष्टको भविष्य !!!