विगतको रजगज र सत्तामा नरहँदाको अरण्य रोदन ! प्रचण्डलाई केपी ओली 'बोक्नु न टोक्नु !!'
लोकस‌ंवाद टिप्पणी
मंसिर १८, २०७७

काठमाडौँ । सत्ताधारी नेकपा (नेपाल कम्युनिस्ट पार्टी) को सचिवालय बैठक मङ्सिर १७ गते बुधवार दिउँसो एक बजे राखिएको थियो । तर, अन्तिम क्षणमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले बैठक दुई बजे मात्र बस्ने सूचना दियो । यस बेलासम्म कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरिसकेका थिए । बालुवाटार पुगेपछि मात्र बैठक सरेको जानकारी पाएका थिए कार्यकारी अध्यक्ष प्रचण्डे ! त्यहाँबाट तत्काल बालुवाटारबाट बाहिर निस्किए । अर्थात् एक घण्टाका लागि उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको अतिथि कक्षमा आतिथ्यता समेत पाउन सकेनन् । यो प्रचण्डमाथि ओलीले गर्नुसम्मको अपमान थियो । यो कुरा ओलीले लुकाएका पनि छैनन् । उनले लिखित रुपमा होस्, वा मौखिक रुपमा प्रचण्डलाई स्वीकार गर्न नसक्ने बताइसकेकै छन् ।

दुई बजे निर्धारित समयमा बैठक त बस्यो । तर, प्रधानमन्त्री तथा अध्यक्ष ओली बैठकमै आएनन् । ओलीले जानीजानी प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतलाई अपमान र अनादर गरेका थिए । यस घटनापछि नेकपाभित्रको विवादको तह विगत भन्दा एक सिँढी माथि चढेको अर्थात् पेचिलो बनेको प्रस्ट सङ्केत छ ।

 यसो भन्दा फरक पर्दैन, नेकपा विभाजन भइसकेको छ । औपचारिक घोषणा हुन मात्र बाँकी छ । त्यो घोषणा कसले पहिले गर्ने  भन्ने पर्खाइमा मात्र केन्द्रित छ । ओली अनुपस्थित भइदिएपछि बैठक एक छिन बसेर २० गतेको मिति तोक्ने र ‘अनिबार्य’ अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गर्ने भनेर  उठ्यो । यो निश्चित छ कि त्यस दिन पनि प्रचण्डहरूले ओलीबाट कुनै मान मनितो पाउने छैनन् । यसर्थ यस बेला प्रचण्डहरू ओलीलाई के गर्ने ? रनभुल्ल छन् । अर्थात् प्रचण्डका लागि यस बेला प्रधानमन्त्री केपी ओली बोक्नु न टोक्नु अथवा निल्नु न ओकल्नुको तातो पिँडालु सावित भएका छन् ।

जनयुद्धलाई राष्ट्रिय/अन्तर्राष्ट्रियकरण गराउन सबैभन्दा ठुलो भूमिका खेलेका बाबुराम भट्टराईलाई गुमनाम बनाएर रुकुम, रोल्पामै ‘जनहिरासत’ मा कोचेका थिए । कतिसम्म भने भट्टराईलाई सहकर्मीहरूसँग भेट्नबाट समेत प्रतिबन्ध लगाई दिएका थिए । तर, यस बेला एउटै ओलीले प्रचण्डको हुर्मत लिनुसम्म लिएका छन् । सायद विगतका रजगज दिनहरू सम्झिएर कहिले काहीँ प्रचण्ड एक्लै धरधरी रुनुपर्ने अस्थानमा  पुगेका छन् । 

सबैलाई जानकारी भएकै कुरा हो, प्रधानमन्त्री तथा अध्यक्ष ओली सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, संसदीय दल सबैतिर अल्पमतमा छन् । एकातिर मात्र बहुमतमा हुन्थे भने उनले प्रचण्डलाई राम्रै गरी समयमा नै ठेगान लगाई सकेका हुने थिए । माधवकुमार नेपालको टेकोमा प्रचण्ड बहुमतमा त छन् । तर, प्रचण्डले बहुमतका नाममा ओलीलाई कारबाहीको घोषणा गरे पनि त्यो कार्यान्वयन गराउन सक्ने अवस्थामा छैनन् । किनभने प्रचण्डसँग सत्ता छैन । पार्टी सिङ्गो राज्य संयन्त्र ओलीको कब्जामा छ ।

इतिहास साक्षी छ– सत्ता र पार्टीबिच कलह चर्कँदा कहिल्यै पार्टीले जितेको छैन । सधैँ सत्ता नै हाबी हुने गरेको छ । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संसदीय दलमा अल्पमतमा परे । परिणाम उनले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्ने भयो । तर, उनले राजीनामा दिनुको साटो संसद् नै भङ्ग गरेर नयाँ निर्वाचन घोषणा गरी दिए । २०५९ जेठमा गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको कुर्सीमा रहेकै बेला शेरबहादुर देउवालाई कारबाही त गरे । तर, उनले देउवालाई प्रधानमन्त्रीको पदबाट हटाउन भने सकेनन् । देउवा पार्टी विभाजनकै घोषणा गरेर प्रधानमन्त्रीको कुर्सीमा विराजमान भइरहे । देउवालाई ०५९ असोजमा मात्र तत्कालीन राजा ज्ञानेन्द्रले असक्षमको आरोप लगाएर हटाएपछि मात्र प्रधानमन्त्रीको कुर्सीबाट पन्छिए । 

अहिले पनि प्रचण्ड–माधव नेपालले ओलीलाई पार्टीबाट कारबाही गर्न त सक्लान् । तर, ओलीले नचाहेसम्म प्रधानमन्त्रीको कुर्सीबाट हटाउन सक्तैनन् । । प्रधानमन्त्री ओलीका लागि अर्को अहोभाग्य के भने उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मजबुत धाप दिएकी छन् । ओलीले जे चाहो त्यही, राष्ट्रपति भण्डारीले क्षण भरमै सहजै सदर गरी दिन्छिन् । 

प्रचण्डको राजनीतिक इतिहासमै अहिले ओलीले जति अरु कसैले ओल्चिएका/दपेटेका थिएनन । ‘जनयुद्ध’ सुरु हुनु अघि होस् वा जारी रहँदा प्रचण्डले मोहन वैद्य, रामबहादुर थापा, यानप्रसाद गौतम ‘आलोक’, बाबुराम भट्टराईलगायतलाई थरथरी कजाएर आफ्नो काबुमा राखेका थिए । तत्कालीन पूर्वी कमान्डका इन्चार्ज यानप्रसाद गौतम ‘आलोक’ लाई रोल्पाको गुराँसेमा ‘जनहिरासत’ राख्दा तत्कालीन शाही नेपाली सेनाको गोलीले उनको प्राण उडेको थियो । 

जनयुद्धलाई राष्ट्रिय/अन्तर्राष्ट्रियकरण गराउन सबैभन्दा ठुलो भूमिका खेलेका बाबुराम भट्टराईलाई गुमनाम बनाएर रुकुम, रोल्पामै ‘जनहिरासत’ मा कोचेका थिए । कतिसम्म भने भट्टराईलाई सहकर्मीहरूसँग भेट्नबाट समेत प्रतिबन्ध लगाई दिएका थिए । तर, यस बेला एउटै ओलीले प्रचण्डको हुर्मत लिनुसम्म लिएका छन् । सायद विगतका रजगज दिनहरू सम्झिएर कहिले काहीँ  प्रचण्ड एक्लै धरधरी रुनुपर्ने अस्थानमा  पुगेका छन् । 

प्रचण्ड–ओली दुवै एक अर्कामा आतङ्कित 

प्रचण्ड समक्ष केपी ओली के गर्छस् गरेर देखा भनेर निश्चिन्त जस्ता देखिएका छन् । यद्यपि कमिटी प्रणाली मान्ने हो भने ओली प्रचण्ड बहुमतका सामु कुनै न कुनै रुपमा आतङ्कित छन् । त्यसैले नै उनी बैठक टार्ने, उपस्थित नै नहुने गरिरहेका छन् । प्रचण्ड पनि ओलीलाई कारबाही गरी हाल्नबाट आतङ्कित छन् । प्रचण्ड ओलीसँग आतङ्कित हुनुको एउटा प्रमुख कारण हो, ओलीका जति कमजोरी छन्, त्यो भन्दा कम कमजोरी प्रचण्डमा पनि छँदै छैनन् भन्दा पनि हुन्छ । 

लडाकु शिविरको आर्थिक अनियमिततादेखि अपारदर्शितासम्ममा उनको नाम नमुछिएको ठाउँ कहीँ छैन । सत्ता हातमा हुनुको फाइदा–राज्य संयन्त्र परिचालन गरेर होस् वा आसेपासेहरूबाटै होस्, ओली पक्ष प्रचण्ड लगायत सचिवालयका साना–साना सूचना समेत सङ्कलन गरेर बसेका छन् । मङ्सिर १६ गते राती नौ बजे एउटा टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रचण्ड निकट केन्द्रीय सदस्य हेमराज भण्डारीबिच भएको संवादले ओली प्रतिस्पर्धीका मिनेट मिनेटका सूचना लिएर बसेका छन् भन्ने पुष्टि हुन्छ । टेलिभिजन संवादका क्रममा प्रेस सल्लाहकार थापाले सचिवालय सदस्यहरू कहाँ–कहाँ कसरी बसे । त्यहाँ ओलीलाई एक्लाउन वा गाल्न के सम्मका कुरा भए ? केही भेद खोलेका थिए ।

०६२/०६३ को जनआन्दोलनपछि नेपाली राजनीतिले चमत्कारिक फड्को मार्‍यो । दुई–दुई पटक संविधानसभाको निर्वाचन भयो । संविधानसभाको हलबाट पारित संविधान जारी गरेर २००७ सालदेखिको नारा पनि पुरा गरियो । भलै, यो संविधान संविधानसभाले बनाएको चाहिँ होइन । नपत्याए, संविधानकै प्रस्तावना हेरे पनि स्पष्ट हुन्छ । संविधानसभाको हलले पारित गरेको मात्र हो । गणतन्त्र घोषणा भयो । सङ्घीयता स्थापना गरियो । सङ्क्रमणको चरण पुरा भयो भनियो । 

र, प्रधानमन्त्री भएपछि ओलीले यति आकर्षक नारा अघि सारे, ‘समृद्ध नेपाल, सुखी नेपाली ।’ तर, सुविधाजनक बहुमत हुँदा समेत नेकपाभित्रको आन्तरिक लफडाकै कारण त्यो नाराको कार्यान्वयन भने बेवारिस बन्न पुगेको छ । नेकपा जे सुकै होस्, अर्थात् विभाजित होस् वा नहोस्, तर समृद्धिको रेखा कोर्ने सुनौलो अवसर गुमाएकोमा इतिहासले ओली, प्रचण्डलगायतलाई नराम्रो गरी धिक्कार्ने छ । इतिहासमा ओली–प्रचण्डको नाम स्वर्ण अक्षरले लेखिने छैन । उनीहरुको नाममा कालो पोतिने निश्चित छ ।