चेन्नईले रोक्न सक्ला रसेलको तुफान ?

चेन्नईले रोक्न सक्ला रसेलको तुफान ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २६, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत मंगलबार राति शीर्ष स्थानका कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स प्रतिष्पर्धा गर्दैछन् । 

कोलकाता अंक तालिकाको शीर्ष स्थानमा छ भने चेन्नई दोस्रोमा । दुवै टिमले अहिलेसम्म खेलेका पाँच खेलमध्ये एकमा मात्रै पराजित भएका छन् । यस्तोमा आजको खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने देखिन्छ । 

चेन्नईले आजको खेल जित्न रसेललाई रोक्नुपर्नेछ । तर, चेन्नईले रसेलको तुफान रोक्न सक्छ त ? 

रसेल चालू आइपिएलका सर्वाधिक खतरनाक ब्याट्सम्यान मानिएका छन् । उनले चार इनिङमा २६८.८३ को स्ट्राइक रेटमा २०७ रन जोडेका छन् । चालू आइपिएलमा उनको औसत सर्वाधिक १०३.५० छ । चालू आइपिएलमा सर्वाधिक रन बनाउनेको सूचीमा पनि उनी पाँचौ छन् । 

उनी उत्कृष्ट फिनिसरका रूपमा पनि चिनिन्छन् । चालू आइपिएलमा उनी दुई पटक नटआउट पनि रहेका थिए । त्यसैले चेन्नइको जितमा रसेल बाधक हुने आँकलन गरिएको छ ।

कोलकातालाई पनि आजको खेल जित्न सहज भने छैन । किनकि चेन्नईका कप्तान महेन्द्रसिंह धोनीमा जुनसुकै अवस्थामा पनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने क्षमता छ । यो चेन्नईको बलियो पक्ष हो । त्यसकारण धोनीको रणनीति विफल पार्न सके मात्रै कोलकाताले जित आफ्नो पक्षमा पार्न सक्छ ।