नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्याङ्क सङ्कलन
मंसिर १८, २०७७

चितवन । माडी नगरपालिकाले नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्याङ्क सङ्कलन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका रूपमा खटाएर विवरण लिन घरघरमा पठाएको हो ।

नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार अब पाँच दिनभित्र खटिएकाले नगरपालिकालाई विवरण बुझाउँदै छन् । विवरण आएसँगै नगरपालिकाको वास्तविक जनसङ्ख्या र उनीहरूको आर्थिक अवस्था थाहा हुने छ । एक व्यक्तिले वार्षिकरूपमा कति आम्दानी गर्दछ, स्वदेशमा र विदेशमा कहाँ रोजगारी गर्दछ, व्यापार व्यवसाय के सञ्चालन गरेको छ ? जस्ता आर्थिकसँग जोडिएका सबै तथ्य प्राप्त हुने उहाँले जानकारी दिनुभयो । नगरवासीको बैंक खातादेखि जग्गाको अवस्थासमेत नगरपालिकालाई जानकारी हुने गरी विवरण सङ्कलन गरिएको छ ।

यही तथ्याङ्कको आधारमा नगरवासीलाई वर्गीकरण गरेर आवश्यक सहयोग गरिने भएको छ । अति विपन्नको सूचीमा परेकालाई जीवनस्तर उकास्नका लागि आवश्यक सहयोग नगरपालिकाले गर्ने ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, 'हामी अति विपन्नका लागि स्वास्थ्य, शिक्षालगायतमा के सहयोग गर्न सक्छौँ रु योजना बनाएर काम गर्ने छौँ ।'

पहिलो चरणमा अति विपन्नलाई नगरपालिकाले रकम तिरेर स्वास्थ्य बिमा गरिदिने ढकालको भनाइ छ । यसका लागि नगरपालिकाले  ५० लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले विपन्न एक परिवारलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गर्न लागेको हो । नगरपालिकामा ४४ हजार जनसङ्ख्या रहेको छ ।