सुन तोलामा सोर्‍ह सयले बढ्यो

सुन तोलामा सोर्‍ह सयले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १८, २०७७

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला सोर्‍ह सयले वृद्धि भएको छ । बुधबारका तुलनामा बिहीबार छापावाला सुन प्रतितोला एक हजार ६०० ले वृद्धि भइ तोलाको ९२ हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

प्रतितोला ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन बिहीबार प्रतितोला ९२ हजार १५० मा खरीदबिक्री भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । प्रतितोला एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी बिहीबार भने प्रतितोला  एक हजार २०५ मा खरीदबिक्री भइरहेको छ ।