विद्युतगृहको चौर उपकरणले भरिए पनि उपभोक्ता अन्धकारमा

विद्युतगृहको चौर उपकरणले भरिए पनि उपभोक्ता अन्धकारमा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १८, २०७७

जुम्ला । विद्युतगृहको चौर उपकरण र डिजेल्ट प्लान्टले भरिएका छन् । गत वर्ष सदरमुकाम खलङ्गा अन्धकार भएपछि सङ्घीय सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न २४ लाख ६० हजार रुपैयाँ उपलब्ध गराएपछि सो रकमबाट खरिद गरेर २०० केभी (१६० किलोवाट) क्षमताको उपकरण जुम्लामा पनि ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली बल्यो तर डिजेलको खर्च थेग्न नसकिएपछि उक्त उपकरण पनि थन्किएको छ ।

सदरमुकाम खलङ्गा बिजुलीको विषयमा गत वर्ष सडकदेखि संसदसम्म चर्को विरोध र आलोचना भएपछि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले अर्को डिजेल प्लान्ट पनि पठायो तर डिजेल भने पठाएन । त्यो उपकरण पनि ल्याएदेखि एक दिन बिजुली नबालेरै थन्किएको विद्युत् प्राधिकरण वितरण शाखा जुम्लाका इञ्जिनीयर हेमन्त साहुले बताउनुभयो । 

विद्युतगृहको चौर उपकरणले भरिए पनि यहाँका उपभोक्ताले नियमित बिजुली बाल्न नपाएको विद्युत् वितरण शाखा जुम्लाले जनाएको छ । केन्द्रीय प्रसारण लाइन कहिले जिल्लामा आउने हो भन्ने कुनै टुङ्गो नभएको स्थानीयावासी जङ्गबहादुर रोकायाले बताउनुभयो ।