गोदावरी नगरपालिकाले नख्खु खोलामा पुल निर्माण गर्ने

गोदावरी नगरपालिकाले नख्खु खोलामा पुल निर्माण गर्ने

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १८, २०७७

ललितपुर । गोदावरी नगरपालिकाले नख्खु खोलामा पुल निर्माण गर्ने भएको छ । गोदावरी चापागाउँ हुँदै कुसुलेचौर–छम्पी जोड्ने सडकअन्तर्गत खोलामा पुल निर्माणका लागि आज नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गर्नुभयो । कार्यक्रममा महर्जनले सो पक्की पुल निर्माणका लागि नगरपालिकाले रु तीन करोड १५ लाख ९४ हजार ४६८ रकम खर्च गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'यसका लागि चालु आर्थिक वर्षमा एक करोड ८० लाख रकम विनियोजन भइसकेको छ ।' 

पुल निर्माणको जिम्मा सिभाको महर्जन जेभी, ललितपुरले बोलपत्र लिएर नगरपालिकासँग सम्झौतासमेत गरिसकेको महर्जनले जानकारी गराउनुभयो । उक्त पुल निर्माण सम्पन्न भएपश्चात गोदावरी वडा नं ७ देवीचौर, ८ डुकुछाप र ९ छप्पीका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । नगरपालिकाले निर्माण पक्षसँग गएको असोजमा नै सम्झौता गरे बमोजिम चापागाउँ छम्पी जोड्ने पुलको काम २०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ । पुलको लम्बाइ १८ मिटर र चौडाइ छ मिटरको हुनेछ ।