व्यर्थको ‘सांस्कृतिक अतिक्रमण’ को नारा ! अवसर पाउन साथ आफ्नो ‘संस्कृति’ र कम्युनिस्ट आचरणको तिलाञ्जली !?
लोकसंवाद टिप्पणी
मंसिर १९, २०७७

१६ मङ्सिरमा बसेको नेकपा सचिवालय बैठकको सुरुवात नेकपाका महासचिव विष्णु पौडेलको जन्मदिनको केक काटेर सुरुवात भयो । पूर्वनिर्धारित सो बैठकको कार्यसूचीमा २८ कात्तिकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको भनिएको ‘आरोपसहित’को प्रस्ताव र १३ मङ्सिर मा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेको अर्को ‘प्रत्यारोप’ प्रस्तावमा छलफल गर्ने कार्यक्रम थियो । 

जीवनभर ‘सांस्कृतिक अतिक्रमण’ (आयातित संस्कृति) का बिरुद्ध सङ्घर्ष गरेका ‘भनिएका’ नेता द्वय ओली–दाहाल बिचमा करिब–करिब  बोलचाल र भेटघाटमा नै समस्या आइरहेको बेलामा महासचिव पौडेलको जन्मदिनको केक काट्ने व्यवस्था मात्र गरेनन् आफूले केक काटेर आफूले खुवाए र खाए । त्यति मात्र होइन ‘तिक्तता पूर्ण’ सम्बन्ध रहेका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू पछिको दोस्रो बरिएता लाइन बस्न लगाई केक काटेर  खुवाउन र खान लगाउन सफल भए । 

कुनै समय नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली जसले अलग पार्टीमा रहँदा तत्कालीन माओवादी अध्यक्ष हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माला संस्कार संस्थागत गरेको आरोप सहित कडा आलोचना गर्नुभयो । ओलीले कति सम्म भन्न भ्याएका थिए भने ‘जनमत’ भन्दा बढी ‘माल पैह्रे’को भनेर  तत्काल एमाले समर्थकहरूले सबै भन्दा बढी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हाइहाइ’ कमाएका थिए । 

जब  करिब दुई तिहाइ जनमातका साथ अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुन पुग्नुभयो । तब आफू सत्तामा रहँदा भएका आलोचना र आलोचकलाई मत्थर पार्न ‘जन्म दिन र विवाह ‘वर्ष गाँठ’लाई अवसरमा उपयोग गरेर आलोचनालाई मत्थर बनाउने खोल खेल्ने गर्नुहुन्छ । राजनीतिक रुपमा पेलेर ‘कुनामा’ पुर्‍याएको ‘बरिएता’मा चौथो स्थानमा राख्दा  असन्तुष्ट रहेका वरिष्ठ नेतालाई बलु वाटर बोलाएर ‘जन्म दिन’ मनाएर ‘अनौठै सन्देश’ दिने प्रयत्न गरेका थिए ।  

चाहे जे होस ओली–प्रचण्डको ‘केक र माला’ दुबै उनीहरूले भन्ने गरेको ‘सांस्कृतिक अतिक्रमण’ अवसर नपाउँदाका लागि रहेछ भन्ने प्रस्ट सन्देश दिएको छ । के अवसर पाएका थिए ‘संस्कृति अतिक्रमण’ होइन ‘सांस्कृति’ रूपान्तरण भयो अर्थात् कथित कम्युनिस्ट आचरणलाई तिलाञ्जली दिएका छन्  । ‘जन्म दिन र विवाह ‘वर्ष गाँठ’लाई यतिसम्म संस्थागत गरिँदै, हुँदै छ कि ‘केक’ काटेर ‘जन्म दिन र विवाह ‘वर्ष गाँठ’ मनाएन भने नेता त परै जावस सामान्य कार्यकर्ता हुन अयोग्य हुने अवस्था सृजना नेकपा नेतृत्वबाट भइरहेको छ । यसका लागि नेता र सामान्य कार्यकर्ता ‘सबै खाले तस्करी’ र कमिशनखोर र बिचौलीय बन्न बध्यत्मक अवस्थामा पुर्‍याइएको छ ।  

यी त पछिल्ला उदाहरण मात्रै हुन् । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा आफ्नो जन्म घर तेह्रथुमको आठराईमा गएर नेपालको नक्सा अङ्कित केक काटेर आफ्नो जन्मदिन मनाए । अर्का अध्यक्ष पुष्पकमल दाहालले त ५० औँ वैवाहिक वर्षगाँठमा पत्नी सीता दाहालसँग पुनः विवाह नै गरे । उनको जन्मदिनमा घरपरिवारदेखि नेता कार्यकर्ताको शुभकामना बग्रेल्ती आउँछ र सामाजिक सञ्जाल नै भरिन्छ । १८ मङ्सिरमा नेकपाकै उपाध्यक्ष बामदेव गौतमको वैवाहिक वर्षगाँठ परेको सामाजिक सञ्जाल फेसबुकमा छ्यापछ्याप्ती भेटियो । गौतमको ४६ औँ वर्षगाँठका अवसरमा फेसबुकमा दिएको एउटा शुभकामनामा गौतम टुक्रुक्क भुईँमा बसेका र उनकी श्रीमती तुला थापाले उभिएर पुष्प गुच्छा दिइरहेको देख्न सकिन्छ । यस पटक बलु वाटरको ‘केक’को अवसरबाट ‘वञ्चित !’मा परे नेकपाकै उपाध्यक्ष बामदेव गौतम । त्यसको कारण हो गौतम प्रचण्डले राखेको पक्षमा वा ओलीसँग असहमत रहनु ।  

अर्का नेता माधवकुमार नेपालले गत वर्ष चन्द्रागिरिमा पुगेर केक काटेर जन्मदिन मनाएका थिए भने त्यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा नै उनको जन्मदिन मनाउने व्यवस्था गरिएको थियो । यी शीर्ष कम्युनिस्ट नेता मात्रै होइनन् नेपालका कम्युनिस्ट पार्टीका अधिकांश नेताहरूको जन्मदिन, वैवाहिक वर्षगाँठ, विवाह, जस्ता व्यक्तिगत कार्यक्रमहरू सार्वजनिक रुपमा भड्काइपूर्ण तरिकाले हुने गरेका छन् । 

राणा/ राजा काल बिर्साउने  चाकडी

राणकाल र राजाकालमा कुनै पद पाउनका लागि चाकडी नै मुख्य योग्यता भएको हामी पढ्न पाउँछौँ । जसले जति धेरै चाकडी गर्छ उसले त्यति नै बढी अवसर पाउँथे । पञ्चालयकालको अवस्था पनि त्यो भन्दा फरक भएन र चाकडी गर्नेहरू सत्ताको माथिल्लो स्तरमा पुग्ने र नगर्नेहरू किनारामा फालिन्थे । राणा शासन, राजाको निरंकुश शासन गएर बहुदलीय प्रजातन्त्र हुँदै देश गणतन्त्रमा प्रवेश गर्दा दरबारका हुक्के, बैठके र धुपौरेहरू पाखा लागे पनि राजनीतिक दलभित्र यो अवस्थाको अन्त्य हुन सकेको छैन । 

जनतालाई दास सम्झनै उनीहरूमाथि रवाफ, धाक धम्की देखाउने गर्छ । यो कम्युनिस्टहरुले अवलम्बन गर्ने अग्रगामी जनवादी संस्कृति र कम्युनिस्ट आचरणको सट्टा देखा परेको भ्रष्ट र पतित संस्कृति राज्यको उपल्लो तहबाट संस्थागत गरिनुलाई हिजो भनिएको र गरिएको ‘संस्कृति अतिक्रमण’ अवसर नपाउँदा थियो ? आज अवसर पाइयो अब ‘माला’ र ‘केक’ ‘अतिक्रमण’ होइन ‘संस्कृति’ हो भनेर संस्थागत गर्ने घातक खेल भइरहेको छ  ।  

देशमा गणतन्त्र आएपछि केही समयअघि सम्म नेताहरूको चाकडीको भद्दा स्वरूप देखिने गरेको थियो । चाकडीका लागि नेताहरूलाई सय किलोको मालाले स्वागत गर्ने चलन यति बेला कोभिड–१९ को महामारीका कारण रोकिएको छ ।  गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री बनेका तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लगाएका मालाको खुबै चर्चा हुने गर्छ ।  त्यस बेला प्रचण्डले निधार मात्र देखिने गरी माला लगाएको र विभिन्न स्थानमा पुगेका बेला कार्यकर्ताले मालाले नै पुर्ने गरेका गरेका  थिए । 

माला हाम्रो सामान्य मौलिक संस्कारभित्र पर्छ । तर मालालाई राजनीतिक पार्टीका नेता कार्यकर्ताले यति विकृत बनाए कि उनीहरूले स्वागतका अनेक तरिकालाई समेत बेवास्ता गरेर मालाको मुद्दा मजाक उडाए र सम्मानको साटो मालाको समेत अपमान हुने गरी लगाए । 

माला लगाउने मामिलामा सत्तापक्ष र प्रतिपक्ष कुनै नेतामा भेद थिएन । यसरी माला लगाएर गरेको चाकडीको साँवा र ब्याजसहित कतिले असुल उपर गरे त्यो अलग पाटो भयो । तर केही शक्तिशाली बिचौलिया, व्यापारीदेखि आसेपासे कतिपय कार्यकर्ताले भने राम्रैसँग फाइदा लिने काइदाका रुपमा पनि यस्तो संस्कारले निरन्तरता पायो । 

शान्ति प्रक्रियापछि प्रचण्डलाई उनका कार्यकर्ताले लगाइदिएको मालाको चर्चा र व्यङ्ग्यको साधन नै बन्यो । यसरी व्यङ्ग्य गर्नेमा तत्कालीन एमालेका नेताहरू समेत थिए । तर तत्कालीन माओवादी केन्द्र र एमालेबिच कार्यगत एकतापछि संयुक्त चुनावी सभामा प्रचण्ड र ओलीलाई सयौँ किलोका माला लगाइदिएको देख्न पाइयो । परिवर्तनका लागि र लोकतन्त्रका लागि जेलनेल र यातना खेपेका तथा युद्धको राप सहेका नेताहरूको माला र केक मोह अचम्म लाग्दो छ । यसमा ओली, प्रचण्ड, माधव नेपालसहित नेकपाका अधिकांश नेताहरूको मोह पटक पटक देखिएको छ । नेतकाे माला माेह अहिले वडा र टाेल तहका कार्यक्रमसम्म बिस्तार भइसकेकाे छ । 

यसरी पहिरिएको माला आफ्ना गलाले भन्दा पनि कार्यकर्ताले तल्लो तहसम्म संस्थागत यतिसम्म छ कि यी नेताहरूको मुहारमा देखिने मुस्कानले यिनीहरूले नै लोकतन्त्रका लागि भन्दै गरेको सङ्घर्ष ओझेलमा पर्ने गरेको छ । यसरी मालाको सम्मान पाउन केही नेताहरू अझै बाँकी नै होलान् । तर देश र जनताका लागि माखो मार्न नसकेका नेताहरुले कुनै ‘लज्जा बोध’ हुने गरी माला भिर्ने गरिएको छ ।  त्यो अहिले पार्टीका र समाने कार्यक्रममा अनिवार्य ‘संस्कृति’का रुपमा विकास भइरहेको छ ।  

कम्युनिस्ट संस्कृति र आचरणलाई तिलाञ्जली  र दलाल संस्कृतिकाे अनुसरण !

कम्युनिस्ट पार्टीहरू राजनीतिक वैचारिक स्तरमा खारिएका र ‘जनवादी’ तथा ‘जन पक्षीय संस्कृति’ अलग्गै  ‘कम्युनिस्ट आचरण’ को पक्षपाती मानिन्छन् । यी सबै  शक्ति र सत्ता पुग्ने भर्‍याङ्ग रुपमा उपयोग भए ।  नेपालमा कम्युनिस्ट पार्टीले गरेका हरेक सङ्घर्ष र तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र युद्धका क्रममा पनि सांस्कृतिक क्रान्तिका चर्का कुरा हुन्थे भने माओले सञ्चालन गरेको सांस्कृतिक क्रान्ति सबैको आदर्श मानिन्थ्यो । 

नेपालका कम्युनिस्ट पार्टीहरूले आदर्श मान्ने रुसी अक्टोबर क्रान्तिका नेता लेनिनले अक्टोबर क्रान्तिको समयमा लगाएको कोट नै जीवनको अन्तिम समयसम्म लगाएको बताइन्छ । लेनिनलाई जन्मदिनमा सोभियत सङ्घका विभिन्न स्थानबाट आउने गिफ्टहरू समेत अस्पतालमा तथा असहायहरूलाई वितरण गर्थे । चे ग्वेभारा मन्त्री भइसक्दा समेत बिदाको समयमा उखु काट्न जाने गर्दथे भने उनले मन्त्री हुँदा पाउने सबै सेवा सुविधा समेत त्यागेर क्रान्तिका लागि हिँडेका थिए । यी नै नेताहरूलाई आदर्श मान्ने नेपाली नेताहरूको हविगत हेर्ने हो भने लज्जाजनक छ । 

यी नेताहरू विगतमा सत्ताभन्दा धेरै टाढा थिए । त्यस बेला विभिन्न जातजाति, भासाभासी र धर्म संस्कृतिको सङ्गम रहेको नेपालजस्तो देशका जनताका संस्कृतिलाई समेत नमान्न उर्दी जारी गर्दथे । प्रचण्डको नेतृत्वमा चलेको सशस्त्र युद्धका क्रममा दसैँ, तिहारजस्ता चाडपर्वमा घर जाने भन्ने कुरा समेत कसैले गर्‍यो भने त्यो आलोचनाको पात्र बन्दथ्यो । पुरानै संस्कृति छाड्न नसकेको सहित अन्य थुप्रै आरोपको सामना गर्नुपर्थ्यो । त्यस बेला संस्कृति मान्ने कुरामा एक प्रकारको ‘अति’ हाबी थियो । तर अहिले यिनै नेताहरूमा हरेक कुरामा अर्को ‘अति’ हाबी हुँदैछ अर्थात् कम्युनिस्ट संस्कृति र आचरणलाई तिलाञ्जली  र दलाल संस्कृतिकाे अनुसरण ! गर्न बाध्य बनाइँदैछ

उनीहरू बत्ती निभाएर केक काट्ने, वैवाहिक वर्षगाँठ धूमधाम बनाउने, कसैको मृत्यु भइहालेमा ‘रेस्ट इन पिस’ लेख्ने जस्ता विचलन छरपस्ट रुपमा देख्न सकिन्छ । यति ठुलो क्रान्ति र परिवर्तनको आन्दोलनको नेतृत्व गरेका नेताहरुले कसरी प्रगतिशील रुपमा जन्मदिन मनाउन, वैवाहिक वर्षगाँठ मनाउन सकिन्छ भन्ने सामान्य चिन्तनसमेत नगरी खुला रुपमा पश्चिमा संस्कृतिकाे हुबहु अनुसरण गरिरहेका छन् । जति अनुसरण गरेका छन् त्याे भन्दा सयौँ गुणा प्रचार-प्रसार गरेर पश्चिमाप्रति 'बफादारी' देखाउने तँछाड-मछाड चलिरहेको छ । अहिले जन्मदिनदेखि व्यक्तिगत उत्सव मनाउँदा राजनीतिक दलका नेताहरुले जुन हर्क गरिरहेका छन्, यो सामन्तवादी संस्कृतिको परिचायक  हो । 

कम्तीमा पनि जन्मदिनको अवसरमा दुःख पाएका र भोकै परेका नागरिकलाई खाना खुवाउने, दुई छाक छार्नका लागि हात थाप्नुपर्ने अवस्था भएकाहरूलाई सहयोग गर्ने पर पार्टीको समेत सुरुवात यी नेताहरूबाट हुन सकेन । जनतालाई सहयोग नगरे पनि यिनीहरूलाई नै सत्तामा पुर्‍याउँदा सर्वस्व गुमाएका कार्यकर्तालाई मात्रै सहयोग गर्ने संस्कार समेत यिनीहरूले  पुरै भुलिसकेका छन् । 

राणा काल र राजाहरूको शासन व्यवस्थामा पनि जन्मदिनमा मन्दिरमा बसेकाहरूलाई फलफूल वितरण गर्नेदेखि चौतारो बनाउने, कुवा, इनार खनाउने गरेको सुन्न पाइन्छ । त्यस बेला कीर्ति राख्ने मान्यतामा रहेर पनि यस्ता कार्यहरू भएको पाइन्छ । तर गणतन्त्रात्मक शासनका नेताहरूमा देखिएको सांस्कृतिक विचलन र खुला रुपमा पश्चिमा संस्कृतिको आव्हान निकै हास्यास्पद देखिन्छ । यो दलाल नोकर शाही पुँजीबादी संस्कार हो । जसले जनतालाई दास सम्झनै उनीहरूमाथि रवाफ, धाक धम्की देखाउने गर्छ । यो कम्युनिस्टहरुले अवलम्बन गर्ने अग्रगामी जनवादी संस्कृति र कम्युनिस्ट आचरणको सट्टा देखा परेको भ्रष्ट र पतित संस्कृति राज्यको उपल्लो तहबाट संस्थागत गरिनुलाई हिजो भनिएको र गरिएको ‘संस्कृति अतिक्रमण’ अवसर नपाउँदा थियो ? आज अवसर पाइयो अब ‘माला’ र ‘केक’ ‘अतिक्रमण’ होइन ‘संस्कृति’ हो भनेर संस्थागत गर्ने घातक खेल भइरहेको छ  ।