स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरिएको समीक्षामा बारेकोट एक नम्बरमा

स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरिएको समीक्षामा बारेकोट एक नम्बरमा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १९, २०७७

जाजरकोट । सात स्थानीय तह रहेको जाजरकोटमा दुर्गम क्षेत्रमा रहेको बारेकोटले सबै स्थानीय तहलाई सेवा प्रवाहमा उछिनेको छ । स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरिएको समीक्षामा अन्य पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका २५ वटा सूचकलाई आधार बनाई गरिएको समीक्षामा बारेकोटले ५० मा ३८ अङ्क ल्याएर एक नम्बर स्थान सुरक्षित गरेको हो । त्यस्तै नलगाड नगरपालिकाले दोस्रो र भेरी नगरपालिकाल तेस्रोे स्थान सुरक्षित गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

अन्य छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका, शिवालय गाउँपालिका र कुशे गाउँपालिकाको सेवा प्रवाह कमजोर देखिएको छ । भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोट गाउँपालिकाका सबै ठाउँमा सडक पुगेको छैन । सुरक्षित सुत्केरी गराउने दरसमेत अन्य पालिकाभन्दा बढी रहेको छ । जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिका तेस्रो स्थानमा आउँदा यहाँको सेवा प्रवाह कमजोर देखिएको तथ्याङ्कले पुष्टि गरेको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने नलगाड नगरपालिका दोस्रो आएर अघिल्लो वर्षको भन्दा सेवा प्रवाह राम्रो भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।