सुरक्षितरूपमा स्वास्थ्य संस्था आएर सुरक्षित सुत्केरी हुनेको दर बढ्यो

सुरक्षितरूपमा स्वास्थ्य संस्था आएर सुरक्षित सुत्केरी हुनेको दर बढ्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १९, २०७७

जाजरकोट । ज्यान जोखिममा राखेर घरमै सुत्केरी हुने यहाँका महिला अहिले सुरक्षितरूपमा स्वास्थ्य संस्था आएर सुरक्षित सुत्केरी हुने दर बढेको छ । बढ्दो जनचेतनाका साथै गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको हो । स्थानीय सरकारको पहलकदमीले घरमै सुत्केरी हुने क्रम रोकिएको स्वयंसेविका बताउँछन् । घरमै सुत्केरी हुँदा समस्या आउनेबित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिनुभयो ।

जिल्लाका सबै पालिकाको सबै वडामा स्वास्थ्य संस्था स्थापना हुँदा धामी, झाँक्रीमाथिको निर्भरता ह्वात्तै घटेको हो । स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भए यातायात खर्चका साथै न्यानो झोला, स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन थालेपछि झन् महत्व बढेको हो ।

नियमित गर्भजाँच गर्नेको सङ्ख्यासमेत बढेको छ । सुत्केरी हुँदा डोकोमा बोकेर सदरमुकामस्थित अस्पतालमा ल्याउनुपर्ने बाध्यतासमेत घटेको सर्वसाधारणले बताएका छन् । गाउँघरमै स्वास्थ्य संस्था हुँदा सेवा लिन सजिलो मात्र भएको छैन, आफ्नोपनका साथै खर्चसमेत कम भएको सर्वसाधारण बताउँछन् । गाउँका स्वास्थ्य संस्थामा उपचार सम्भव नभएर यातायातका साधनमार्फत सजिलै सदरमुकाम ल्याउने काम शुरु भएको छ ।

नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा प्रवाह गरिरहेका छन् । अधिकांश गाउँमा कच्ची सडकको ट्र्याक खुलेसँगै स्वास्थ्य सेवा पाउन सहजता आएको नलगाड नगरपालिका–१२ का मोहन बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकाले नियमित खोप औषधिसमेत पाएका छन् ।