विकलका स्मृतिमा स्थापित विविध पुरस्कार विजेताको नाम घोषणा
मंसिर १९, २०७७

काठमाडौँ । नेपाली आख्यान साहित्यका स्रष्टा रमेश विकलका स्मृतिमा स्थापित विविध पुरस्कार विजेताको नाम घोषणा गरिएको छ ।  रमेश विकल साहित्य प्रतिष्ठानले वाङ्मय (साहित्य), समाजसेवा र कला सङ्गीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिसअनुसार सम्मानित हुने प्रतिभाको नाम सार्वजनिक गरिएको हो । प्रतिष्ठानका सदस्य मातृका पोखरेलको संंयोजकत्वमा गठित समितिका सदस्यमा साहित्यकारद्वय कोषराज न्यौपाने र पुरुषोत्तम  सुवेदी हुनुहुन्छ । 

समितिको सिफारिसअनुसार विकल वाङ्मय साहित्य पुरस्कार वरिष्ठ भाषा सेवी शान्तदास मानन्धरलाई प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिनुभयो । यो पुरस्कारको राशि ३० हजार रुपैयाँ रहेको छ । यसैगरी २० हजार रुपैयाँ राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । रमेश विकल सिर्जना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतिलाई प्रदान गरिने जनाइएको छ । 

साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बाल साहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने छ । रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला सङ्गीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने निर्णय गरिएको छ । यी सबै पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ ।  यी सम्मान र पुरस्कार आगामी पुस ४ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव चालिसेले बताउनुभयो ।