लोकसाहित्यमा धिमाल जाति

लोकसाहित्यमा धिमाल जाति

डा.सोमबहादुर धिमाल  |  दृष्टिकोण  |  चैत्र २६, २०७५

धिमाल जाति पूर्वी नेपालको तराई क्षेत्रमा, हालको मोरङ, झापा र सुनसरीमा परापूर्व कालदेखि त्यस क्षेत्रको भूमि, जल, जंगलसँग अन्योन्याश्रित सम्बन्ध राखेर बसोबास गर्दै आएको सबैभन्दा पुरानो एक आदिवासी भूमिपुत्र हो । भाषाको हिसाबले धिमाल टिबेटो बर्मन भाषा परिवारअन्तर्गत पर्छन् (Eppele et al, 2012:44) तथा जनसंख्याको हिसाबले अल्पसंख्यक आदिवासी जनजाति २६,२९८ -CBS: 2011_ हुन् ।

१९ औं शताब्दीको मध्यतिर गोरखाली सम्राज्यवादी शासनको (Regmi, M. C, 1990) विस्तारसँगै धिमालको पुख्र्यौली भूमि पनि गोरखा राज्यले लिएपछि धिमालले आफ्नो जातीय, राजनीतिक र सांस्कृतिक स्वायत्तता क्रमशः गुमाउँदै लगे । तैपनि तराईमा औलो उन्मुलन (वि.सं. २००७ पछि) हुनुअघिसम्म धिमाल पूर्वी तराईमा आफ्नै राजनीतिक र सांस्कृतिक स्वायत्तताको साथ अर्धभ्रमणशील समुदायको रूपमा (हेर्नुस् Hodgson, 1847) बसोबास गर्दै आएका थिए ।

सो क्षेत्रमा आदिवासी सांस्कृति र सभ्यताको जग बसाल्ने पहिलो समुदायको रूपमा पनि धिमाल परिचित छन् । यसरी एकातिर दुई शताब्दीभन्दा लामो राज्यको राजनीतिक, आर्थिक, सांंस्कृतिक र आर्थिक उपनिवेशवादी नीतिले गर्दा धिमालले आफ्नो पुख्र्यौली भूमि र प्राकृतिक स्रोतबाट विस्थापित हुँदै आएका छन् भने अर्काेतिर बाहिरी संस्कृतिको आक्रमणमा परेर आफ्नो परम्परागत सांस्कृतिक जीवनशैली र सम्पदाको निरन्तरताको निम्ति संघर्षरत छन् । यस्तो ऐतिहासिक उत्पीडन, बहिष्करण र सांंस्कृतिक अतिक्रमण बावजुद पनि आदिवासी धिमाल आफ्नै भाषा (धिमाल भाषा), जीवनशैली, भेषभूषा, कला, सीप तथा लोक धर्म–संस्कृतिको मौलिक पहिचानसहित अझै पनि अधिकांश रूपमा (९० प्रतिशतभन्दा बढी धिमाल) आफ्नै पुख्र्याैली थातथलोमा पर्ने लगभग १०० भन्दा बढी धिमाल गाँउमा बस्छन् (महासचिव, २०७३ वि.सं.) । हालमा धिमालको बसोबास इलाम, सुनसरी, काठमाडौं र बाँकेमा छ ।

धिमाल लोकसाहित्यको कुरा गर्दा कारीकोसी धिमाल गाउँटोलमा पनि धिमालले स्वतःस्फूर्त रूपमा कुनै न कुनै रूपले गाना बूढापाकाले स–साना नानीहरू माझमा बाँडिराखेको भेटियो । उनीहरू आफ्नै पारामा कुनै न कुनै माध्यमले गीतमार्फत् असारको धान रोपाइँमा किन नहोस्, सिरजातको बेला किन नहोस्, पार्वा पूजाको अवसरमा किन नहोस्, गफगाफ गर्ने तथा आगो ताप्ने अँगेनामा किन नहोस्, चिया दोकानमा चिया खाँदा किन नहोस्, भेटघाटको सिलसिलामा गफगाफ गर्दा किन नहोस्, आफ्ना कुरा विभिन्न तरिकाले अभिव्यक्त गरिराखेका हुन्छन्, भनिराखेका हुन्छन् । यसरी बूढापाका वास्तवमा नानी तथा युवायुवतीलाई आफूसँग भएको सीप तथा कला, आफूले भोगेका कुरा, घटनाक्रम तथा गतिविधि बाँड्न उत्साहित भएको पाइयो । 

धिमाल (२०१२ः२)का अनुसार धिमाल प्राकृतिक पुजक हुन् । आफ्नो थातथलो, खोला नाला, माटो (भोनोइ), पानी, वनजंगल इत्यादि प्राकृतिक स्रोत र शक्तिको पूजा गर्ने र आफ्नो पितृ पूर्वजको आत्मा र शक्तिलाई पुजेर आशीर्वाद लिने धिमालको सामाजिक जीवन–समानता, सामूहिकता र परस्परतामा अडेको हुन्छ । धिमालको हालको चार किल्लालाई हेर्दा पश्चिममा सुनसरीको खादम झोरा (नदी) पूर्व, यो खादम नदी इनरुवाको पश्चिमको नदी हो । पूर्वमा मेची नदी (मेन्ची झोरा) पश्चिमको  भू–भाग, उत्तरमा पहाड चुरे पर्वत फेदी, दक्षिणमा राजधाम्पाल, सुनवर्षी पोखरी (रा सम्ब्री) गोविन्दपुर, भुँडे सिमल (झापा), धिमालधुरा, जसलाई उत्तरी हुलाकी मार्गदेखि उत्तरको भूमि नै धिमालको हालको बसोबास भूमि हो ।  

धिमाललाई अन्य समुदायले यस क्षेत्रका पुरानो आदिवासी; सरल, सोझो, इमान्दार जातिको रूपमा चिन्छन् । राई–लिम्बुसँग शारीरिक बनोटमा अलिक समान देखिने गरेको र केही सांस्कृतिक समानता पनि भएकाले धिमाललाई धेरैले ‘तराईको लिम्बु’ वा लिम्बुको दाजु आफूलाई ‘किराँती’ पनि मान्छन् । तर, उनीहरू आफूहरू पूर्वी तराईको रैथाने आदिवासी भएकाले ‘पहाडबाट झरेका पहाडे’ वा भारतबाट भित्रिएका अर्थ दिने ‘मधेशी’ भनेर मान्दैनन् र अरुहरूले त्यसो भनेको पनि मन पराउँदैनन् ।

लोकसाहित्य 

धिमाल समुदायमा लिखित साहित्यको चलन पहिलादेखि नै नभएको पाइन्छ । परम्परागत मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको जनजीवनको भावानात्मक, जीवनशैली, जातीय इतिहास तथा लोकदर्शन, विश्वास, कथा–व्यथा, कला, सीप आदिले नै लोकसाहित्यको प्रतिनिधित्व गरिराखेको हुन्छ । लोकसाहित्य कतै बाँधिएको हुँदैन । लोकजीवनको दुःख, सुख तथा हाँसो र आँसुमा लोकसाहित्य बाँचेको हुन्छ । गाउँघर तथा टोलमा बस्ने अशिक्षित जनसमूह तथा मानिसबीचमा पनि मीठामीठा गीत रहनु, उनीहरूको कथा–व्यथा भेटिनु, नाटकीय जीवन तथा लोकोक्तिको प्रयोग हुनु, दुःख तथा सुखमा प्रयोग हुने छोटा अभिव्यक्ति मुखबाट निस्कनु र प्रयोगमा जीवन्त देखिनु लोकसाहित्यले दिएको एउटा ठूलो नै उपलब्धि मान्नुपर्छ । 

धिमाल समुदायको लोकसाहित्यलाई हेर्दा प्रायः अलिखित रूपमै मौखिक परम्परामा आधारित विभिन्न अवसरमा गाइने गाना, लोककथा, लोकविश्वास, गाउँखाने कथा (नालचापाका काथा), लोकनृत्य, लोकोक्ति, कविता, छोटा नाटक पर्छन् । लोकसंगीत, गाना, बाजा, लोकनृत्य भनेको कुनै पनि समाज र त्यस समाजमा आदिकालबाट बस्दै आएका मानिसको हुलमा प्रतिभा प्रस्फुटन गर्न, मनोरञ्जन दिलाउन, कला तथा संस्कार संस्कृतिको जगेर्ना गर्नमा ठूलो मद्दत गरिराखेको हुन्छ । धिमाल समुदायको आफ्नै प्रकारको लोकगीत आदिकालबाटै चल्दै आएको पाइन्छ ।

वास्तवमा धिमालमा अलिखित प्रकारले, मौखिक परम्पराबाट धेरै कुरा एउटा मुखबाट अर्को मुख हुँदै आएको पाइन्छ । धिमाल समुदायको लोकगीत लिखित तथा अलिखित मौखिक तथा परम्परागत सामाजिक सांस्कृतिक मूल्य मान्यता बोकेको पाइन्छ । धिमालका गीतमा हर्ष, विस्मात, उमंग, उल्लास, जोश, रीतिरिवाज, धार्मिक मान्यता र आस्था, सामाजिक प्रचलन, इच्छा आकांक्षा, भावाना समेटिएका पाइन्छन् । यी गानामा अनुभव तथा जीवनशैलीका कथा, गाउँबस्तीको नक्सा, विभिन्न चाडपर्वको क्रियाकलाप, संस्कार, संस्कृति, दुःख पीडाका गाथा, वीरताको कथा आदि कुरा लुकेका हुन्छन् । 

दिवस (२०७२ वि.सं.) अनुसार लोकसाहित्यको खोज तथा उत्थान लोकजीवनले भोग्दै आएका विविध परिस्थिति, घटनाक्रम, सामाजिक व्यवहार, अनुभवका गाथा, मानसिक क्रिया तथा जीवनशैलीको अन्तरबाट जन्मन पुग्छ । लोक तथा जनमानसले आफ्ना विभिन्न परिस्थितिमा विभिन्न तरिकाले आफ्ना अभिव्यक्ति, कथा कहानीका, उखानटुक्का, गीत, नाटकको माध्यमबाट ओकल्ने गर्छन् । यसरी ओकल्दा हर्ष, विस्मात, रिस, खुसी, चिन्ता, आनन्द, पीर तथा दुःख व्यक्त गर्ने गर्छन् । यस्ता विभिन्न अभिव्यक्ति कलात्मक तथा सिंगारपटार गरेर उतार्ने काम भएमा यसले लोकसाहित्यको रूप लिन पुग्छ । 

धिमाल लोकसाहित्यका विशेषता 

लोकसाहित्यको आफ्नै विशेषता हुन्छ । यो निरन्तर स्वच्छ नदीजस्तै बग्ने हुन्छ । चुडामणि बन्धु (२०१६)का अनुसार लोकसाहित्य लोकको साहित्य हो । यसमा सामुदायिकता हुन्छ । लोकसाहित्यको आफ्नो परम्परा हुन्छ । यो समुदायमा शताब्दियौदेखि चलिआएको साहित्य हो । यसमा निरन्तर परिवर्तन भइरहे पनि यसको प्रवाह अविच्छिन्न रहन्छ र यसले आफ्नो परम्पराको निर्माण गरेको हुन्छ । लोकसाहित्य अलिखित हुन्छ । यो मौखिक परम्परामा मौलाएको हुन्छ, जनश्रुति परम्परामा सरल तथा सहज रूपले फैलिएको हुन्छ । गतिशील हुनु लोकसाहित्यको विशेषता हो । लोकसाहित्यको कुनै पनि रूप सधैं जस्ताको तस्तै रहँदैन । त्यो समाज, स्थान र समयअनुसार परिवर्तित भइरहन्छ । 

धिमाल लोकसाहित्यको कुरा गर्दा कारीकोसी धिमाल गाउँटोलमा पनि धिमालले स्वतःस्फूर्त रूपमा कुनै न कुनै रूपले गाना बूढापाकाले स–साना नानीहरू माझमा बाँडिराखेको भेटियो । उनीहरू आफ्नै पारामा कुनै न कुनै माध्यमले गीतमार्फत् असारको धान रोपाइँमा किन नहोस्, सिरजातको बेला किन नहोस्, पार्वा पूजाको अवसरमा किन नहोस्, गफगाफ गर्ने तथा आगो ताप्ने अँगेनामा किन नहोस्, चिया दोकानमा चिया खाँदा किन नहोस्, भेटघाटको सिलसिलामा गफगाफ गर्दा किन नहोस्, आफ्ना कुरा विभिन्न तरिकाले अभिव्यक्त गरिराखेका हुन्छन्, भनिराखेका हुन्छन् । यसरी बूढापाका वास्तवमा नानी तथा युवायुवतीलाई आफूसँग भएको सीप तथा कला, आफूले भोगेका कुरा, घटनाक्रम तथा गतिविधि बाँड्न उत्साहित भएको पाइयो । 

यस समुदायको कुरा गर्दा लोकसाहित्य र प्रदर्शनकारी कलाका दृष्टिले केही हदसम्म सम्पन्न मानिन्छन् । यस जातिको आफ्नै भाषा, कला, सीप तथा संस्कृति छ । आफ्नै प्रकारको चाडपर्व, रीतिरिवाज र संस्कार छन् र यिनैद्वारा सृजित लोकविश्वास विकसित भएको पाइन्छ । प्रदर्शनीकलाको चर्चा गर्दा यस समुदायमा नाचगान, नाटक, खेल, सिरजात वा जातिरी ताका प्रदर्शन गर्ने पूजाआजा, लोकनृत्य, विवाहताकाका गतिविधि साथै केटापक्ष र केटीपक्ष बीचमा गाइने लोकगीत तथा बाजा बजाउने कला भएको पाइयो । 

धिमाल लोकसाहित्यको वर्गीकरण

धिमाल समुदायको लोकसाहित्यको वर्गीकरण गर्दा धेरै कुरालाई मनन गर्नुपर्ने देखिन्छ । धिमाल समुदायका महानुभाव विवाहमा होस् वा कुनै चाडको अवसरमा होस् गीत गाउन लालायित हुन्छन् । आफ्ना भोगेका हर्ष, विस्मात, अन्याय अत्याचार, सुख, पारिवारिक जीवनशैलीका गीत गाइराखेका पाइन्छन् । आगोको धुनीमा जाडो याममा बस्दा, खमारमा धान दाइ गर्दा, खमारको गोठमा सुत्दा कथा कहानी सुनाउने गरिरहेका हुन्छन् । तिहारताका चाडमा नाचगान गर्ने गर्छन् । पहिला पहिला फुर्सदको बेला नाटक रचेर देखाउने परम्परा थियो । तर, अहिले यो परम्परा बिस्तारै हराइसकेको छ । छिमेकी जातजातिको जीवनशैली तथा भाषाको प्रभाव पनि यस समुदायमा परेका पाइन्छ । धिमाल समुदायको हालसम्म संरक्षित रहेका लोकसाहित्यका सवाललाई केलाउँदा निम्न विधामा वर्गीकरण गर्न सकिन्छ:

धिमाल लोकवार्ता तथा लोकजीवन (२०७२ः१७२)

क) लोककथा : धिमाल लोकसाहित्यको यो ज्यादै महत्वपूर्ण विधा हो । लोककथा भन्ने र सुन्ने परम्परा धिमाल समुदायमा व्यापक रूपमा पाइन्छ । लोककथा ज्यादै पुरानो परम्पराबाट बाँच्दै आएको विधामा पर्छ । खासगरी धिमालमा यस विधाले अर्ती–उपदेश दिने, मनोरञ्जन गर्ने, संस्कार संस्कृतिलाई जगेर्ना गर्ने, भाषा संरक्षणमा टेवा पु¥याएको, चेतना तथा जनजागरणमा मद्दत गरेको पाइन्छ । धिमाल बूढापाका आफ्नै भाषामा लोककथा भन्न रुचाउँछन् । लोककथामा संस्कार संस्कृति झल्काउने, देवदेवी, जनावर, भूतप्रेत, पशुपंक्षी, जीवनशैली जस्ता झल्काउने कथा पर्छन् । वास्तवमा धिमाल बूढापाका बेलुका खाना खाएपश्चात निद्रा नलाग्दाको बेला, आगो ताप्दा, खमारमा धान दाइ गर्दा, फुर्सदको बेला लोककथा नातिनातिना तथा अन्य युवायुवतीलाई सुनाउन रुचाउँछन् । 

ख) लोकगीत: लोकगीत ज्यादै महत्वपूर्ण तथा उर्वर विधामा पर्छ । धिमाल लोकगीतमा प्रायः लोकजीवन, लोकसंस्कृतिअन्तर्गत विवाह, जन्म, दुःख तथा सुखका विभिन्न पाटालाई समेटेको पाइन्छ । लोकगीत सबैले मन पराउने सुख दुःखको समिश्रणबाट बनेको हुन्छ । धिमाल भाषामा गीतलाई ‘ले’ भनिन्छ । विवाहमा केटापक्षले गाउने ‘धाङगाई किया’ र केटीपक्षले गाउने ‘तेल्ही किया’ लोकगीत, पार्वामा गाइने गीत, चेन्सेको भार सोना, सार्बो सायो, जारी जारी सोना काङ्को आदि लोकगीत ज्यादै प्रसिद्ध छन् । 

धिमालका लोकगीतलाई दुई प्रकारले विभाजन गर्न सकिन्छ । तिनीहरूमा एउटा निबन्धात्मक र अर्को फुटकर (दिवस, २०३५) । तिनै कुरालाई बालगीत, वयस्क गीत र बूढापाकाको गीत भनि पनि तीन भागमा विभाजन गर्न सकिन्छ । वास्तवमा निबन्धात्मक गीतमा कथात्मक तथा विवरणात्मक खालको, लामो अनुभव बाँड्ने, प्रायः साइनो बाँधेर गाउने, दोहरी पाराको हुन्छन् । तर, फुटकर लोकगीतमा माया, प्रेम, दुःख, आशा, निराशा, हर्ष, विस्मात, झल्काउने, छोटो र छरितो, चाखिला, फूर्तिला खालको भाका, जनजीवनसँग सरोकार राख्ने, ऋतुकालीन समय विशेष झल्काउने पाराको पाइन्छन् । 

क्रमशः

(नेपाल प्रज्ञा–प्रतिष्ठान तथा दमक नगरपालिका, दमक प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आयोजित प्रदेश नं. १ स्तरीय त्रिदिवसीय बृहत् वाङ्मय सङ्गोष्ठी– २०७५ मा ‘धिमाल लोकसाहित्यको वर्तमान अवस्था’ विषयमा प्रस्तुत कार्यपत्रलाई आलेखका रुपमा प्रस्तुत गरेका छौ । यस्का गीतका विषेशता  र  भएका  अभ्यासहरु बारेमा पनि प्रकाशान गरिनेछ ।  ।)