इलाममा मोटर पार्किङसहितको बहुतले चलचित्रघर निर्माण हुने

इलाममा  मोटर पार्किङसहितको बहुतले चलचित्रघर निर्माण हुने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १९, २०७७

इलाम । सदरमुकाममा मोटर पार्किङसहितको बहुतले चलचित्रघर निर्माण हुने भएको छ । प्रदेश सरकारको ११ करोड १० लाख ३९ हजार ८३८ रुपैयाँ लागतमा सिनेमा हल निर्माण हुन लागेको हो ।
 
भवनमा एक तला भूमिगतसहित तीन तला पार्किङस्थल र चौथो तलामा दुई  सिनेमा हल र फुड कोर्ट रहने नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । बसपार्कमा रहेको चार रोपनी क्षेत्रफलमा दुई सिनेमा हलका लागि प्रतिहल २५० जना क्षमताको भवन बन्नेछ । भवनमा ४७ साना सवारी साधन र २०० भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिनेछ । विसं २०७९ चैत ३० सम्म सम्पन्न गर्ने गरी कवीन्द्र नवसिर्जन्स जेभी कम्पनीले जिम्मा लिएको छ । 
    
अहिलेको बसपार्क साँघुरो भएपछि नगरले नयाँ बसपार्क बनाएको छ ।  सोही ठाउँमा पार्किङस्थलसहितको चलचित्रघर बनाइने भएको हो । स्थानीयवासीले इलाममा सिनेमा भवन बनाउन माग गरेपछि एकै ठाउँमा सिनेमा भवन र पार्किङस्थल बनाउन लागिएको हो । अहिले सिनेमा हलका लागि गौतम बुद्ध सभागृहको भवन भाडामा लिनुपर्ने बाध्यता छ । नगरले सोही भवन निर्माणका लागि एक वर्षअघि नै रु २३ करोडमा निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो ।  प्रदेश नं १ सँग भने १७  करोडमा सम्झौता भएको थियो । अहिले नगरपालिकाले भवन निर्माणका लागि रु ११ करोडमा ठेक्का दिएको नगर प्रमुख बस्नेतले जानकारी दिनुभयो ।