भविष्यको सपनाका लागि एउटी महिलाद्वारा वर्तमानको बलि (!) : सुरेश गुरुबाट शक्ति सदुपयोगको पाठ
थरी थरीका मेरा गुरु
मंसिर १९, २०७७

 मलाई खेलकूद परिषद्ले वाग्लुङ्गमा सरुवा गर्यो । त्यहाँ सरुवा भएर जाँदा मलाई जहाँ एकतिर आर्थिक संकट भएको थियो, त्यही यात्राजन्य मेरो प्रवृतिलाई भने महिनैपिच्छे  यात्रामा निस्किने  सुनौलो अवसर पनि प्राप्त भएको थियो । महिनामा एक पटक जागीर थाम्न र कर्मचारीलाई तलब बाड्न पुग्नै पर्थ्यो  मैले वाग्लुङ्ग  ।

बैंक खातामा खेलकूदको हाकिम भएकाले मेरै सही हुन्थ्यो  र अर्को दस्तखत हुन्थ्यो जिल्ला अधिकारीको । एकमणि नेपाल जिल्ला अधिकारी हुँदासम्म मलाई सजिलै थियो । उहाँ काव्यानुरागी भएकाले मसँग उहाँको तुरुन्तै चिनजान भइहाल्यो । म महिनामा३-४ दिन जिल्लामा बसेर बाँकी अवधि काठमाडौँमै हुन्थे।

काठमाडौँदेखि वाग्लुङ्गको बस यात्रामा मसँग अनेकौ रमाइला प्रसँग घटे । अहिले यी संस्मरण लेखीरहँदा मित्र भूपराज खड्का र गोविन्द पोखरेलसँग भेट हुँदा दुबैले मेरा जीवनका अनेको  प्रसँग सुनाएर धेरै  सघाउनु भयो  । अनामनगर स्थित राजेशको चिया पसल २०५७ /०५८ सालदेखि नै  पत्रकारहरुको जमघट हुने थलोको रुपमा रही आएको छ ।  त्यै पसलमा पुराना मित्रहरुसँग भेट हुँदा उनीहरुको स्पष्ट परामर्श हुन्छ-तपाईँको यस लेखनमा यी यी प्रसङ्ग, छुट्नु हुन्न । म आज जे छु साथीहरुकै परामर्श, सल्लाह र सद्भावले नै छु । साथीहरुको सहयोग र प्रेरणा नभएको भए म जीवनमा न पत्रकार नै बन्ने थिए र न त सन्यासी नै । मेरा यी दुवै रुपमा साथीहरुको भरमग्दूर सहयोग छ । साथीहरुले  स्मरण गराएको सेरोफेरोमा नै  यो आख्यान लेख्ने जमर्को गर्दैछु ।

काठमाडौँको बसपार्कबाट बाग्लुङ्गको बसमा बस्दा सहयात्री बनिन् एउटी महिला । हाम्रो एक आपसमा परिचय भयो, उनी फाटफुट नेपाली लोक दोहोरी गीत गाउने रहेछिन् । २०४९/५० देखि नै  लोक दोहोरी गायिका लक्ष्मी बस्नेत मेरो अभिन्न मित्र थिइन् । त्यसताका  कतिपय साथीहरुले हामी बिच प्रेम सम्वन्ध नै छ भनेर कुरा गर्थे तर हामीलाई प्रेम के हो थाहा भएन, हामी भने मित्र थियौ, रही रह्यौ र अहिले पनि हाम्रो मित्रता कायम छ। बिहे न मैले गरे, न उनले गरिन् । केही वर्ष जापानमा बिताएर उनी अचेल काठमाडौँमै बस्छिन् ।

ती युवतीले पनि लक्ष्मीको नाम सुनेकी रहेछिन् र म कवि, पत्रकार, लेखक भएको थाहा पाएर उनी म प्रति झनै आकर्षित भइन । स्त्री सम्बन्ध र यौन मेरा लागि कहिल्यै समस्याको कुरा थिएन । उनीसँग बातचीतको क्रम  अगाडि बढ्दै गयो । उनको माइती र घर दुबै पर्वत जिल्लामा रहेछ र उनका श्रीमान वैदेशिक रोजगारमा विदेशिएका रहेछन् । उनले मसँग सम्बन्ध स्थापित गर्ने कुरा गरिन्, मैले उनलाई मेरो 'गर्लफ्रेण्ड' रहेको जानकारी दिए ।

उनले ठाडै जवाफ फर्काइन् ‘के म राम्री छैन, तपाईको योग्य छैन, तपाईँ  कि गर्लफ्रेण्ड के म भन्दा पनि राम्री छन् '?

मैले भने कुरा त्यस्तो होइन, तपाईँ कसैकी पत्नी हुनुहुन्छ, तपाईँका पति हुनुहुन्छ । तपाईँका पति घर परिवारका लागि कमाउन विदेश जानुभएको छ। उहाँसँग कति सपना होलान् तपाईँ र आफ्नो परिवारका लागि ।

उनले भावुक हुँदै  भनिन्, के भविष्यका सपनाका लागि वर्तमानको बलि चढाउने ? बिहे भएको छ महिनामै श्रीमान विदेशिए, पाँच वर्ष भइसक्यो श्रीमानलाई भेटेकी छैन ।  के उहाँले पठाएको पैसाले मेरो सबै आवश्यकता, उहाँको माया, प्रेम, स्पर्शको आवश्यकता पूरा गर्न सक्छ ? के म सँधै तरुनी भइ राख्छु ? पैसा बाहेक पनि स्त्रीका आवश्यकता हुन्छन्, तपाईँ जस्तो कवि हृदयले यति कुरा पनि बुझ्न सक्दैन ?

मैले उनको हात आफ्नो हातमा लिइ भने -म बुझ्न सक्छु तपाईँको पीड़ा ! तर  तपाईँसँग सम्बन्ध बनाउनु मेरो दृष्टिकोणमा सर्वथा अनैतिक हुन्छ, मबाट यो हुन सक्दैन ।

उनले अन्तिम अस्त्र  फाल्दै भनिन - श्रीमानले विदेशमा कमाएको सारा पैसा मलाई पठाएका छन्।  सारा सम्पत्ति मेरो नाममा छ, सारा सम्पत्ति बेचेर म तपाईसँग जान तयार छु, जीवनभरी पुग्ने सम्पत्ति  छ मसँग ।

 उनको कुरा सुनेर म हैरान भए।  जुन युवक आफ्नो श्रीमतीका लागि, समउज्जवल भविष्यका लागि विदेशी भूमिमा पसीना बगाई धन कमाउनमा तन मनको पर्वाह नगरी निमग्न डुबेको छ, उसको सुनौलो सपनाकी  सहयात्री कामेच्छा सन्तुष्टिका लागि उसकै  सम्पत्ति बेचेर उसका सारा स्वपन ध्वस्त बनाउन तम्सी  रहेकी छिन्।  मैले उनको हात छाडदै  भने 'मबाट यो सम्भव हुन सक्दैन।  म यत्तिको साहसी छैन ,म आफ्नो जीवन सुधार्न अरुको जीवन बिगार्न सक्दिन र यसो नगर्न तपाईँलाई पनि परामर्श दिन्छु'।

'तपाई साच्चै कायर हुनु हुँदो रहेछ' उनले हेय  दृष्टिले मलाई  हेर्दै भनिन् ।

हो, तपाईँका लागि म कायर हो तर आफ्ना लागि म आफ्नो इमानमा अडेको नैतिकवान हुँ । एकपटक पुनः तपाईँलाई यस्तो गर्न त के सोच्दा पनि नसोच्नुस भन्ने सलाह दिन्छु।बरु तपाईँ आफ्नो  वर्तमानको समस्या टार्न  कैकाल्पिक उपाय अपनाउनुस्, कसैलाई साथी  बनाउनुस्।

प्रत्युत्तरमा उनले भनिन, 'तपाईँ जस्ता सहरवासीका लागि यो सब सजिलै हुन सक्छ, गाउँले जीवन तपाईँलाई के थाहा ? कसैसँग हाँसेर बोल्यौ भने पनि उसँग सल्केको आरोप खप्नु पर्छ' ।  

उहाँका तमाम चेला जस्तै उहाँलाई गुरु मान्ने एकजना अरु पनि कोही छ।  एउटा यस्तो शिष्य जसले कसैलाई गुरु मान्दैन।  गुरु पूर्णिमा अथवा गुरुप्रति श्रद्धा प्रदर्शित गर्ने कुनै दिन वा  मौकामा  स्मरणसम्म गर्दैन।  शिक्षा लिदै अगाडि बढ्छ,  कुनै पनि  गुरुलाई फर्केर धन्यवाद भन्नु त परै जाओस  फर्केर हेर्ने चाहनासम्म गर्दैन। सुरेश गुरु यदि  यस नश्वर  संसारमा  कतै हुनुहुन्छ भने यसै लेखलाई गुरु दक्षिणा सम्झी  स्वीकार गर्नु होला। तपाईको एउटा शिष्य सन्यासी बनी बाँचेको छ र त्यो सन्यासीलाई कुनै गुरुमा विश्वास नभए पनि उ एउटा गृहस्थलाई गुरुकै  श्रेणीमा राख्न किञ्चित पनि संकोच गर्दैन।

उनको भनाइमा केही  न केही सत्यता थियो । मलाई यसको स्पष्ट आभास हुँदा पनि मैले उनलाई कुनै प्रकारले मद्दत गर्ने आँट गरिन। मेरा लागि त्यस बेलासम्म कसैसँग पनि केही समयको लागि अथवा एक दुइ दिनका लागि  जस्तोसुकै अन्तङ्ग सम्बन्ध बनाउन निषेध थिएन । ५-७ वर्षसम्म म यस्ता अनेको सम्बन्धमा शरीक पनि रहेँ ।  तर ती महिलाको प्रस्तावसँग डुलने  मेरो साहस भएन।  यसको स्पष्ट कारण मलाई आज मात्रै होइन,त्यों बेला पनि छर्लङ्ग थाहा थियो- यस प्रकरणमा म अल्झिन सक्छु।  अल्झिन सक्ने थुप्रै कारण थिए, जस्तै महिलाको अवस्था, उसको सम्पन्नता, उसको मानसिक स्थिति, उसको महत्वाकांक्षा, उसको जेसुकै गर्न सक्ने आँट।

हाम्रो समाज पनि गजबको, पति भनाउँदो युवकले त आफ्नो अनेकन सन्तुष्टिका लागि चहार्दै हिडेमा आपत्ति नहुने तर पत्नी बन्ने युवती भने जीवन भरीका लागि अनेकौ बन्धनमा बाधिनु पर्ने ! बिहे गरेर विदेश जाने युवकहरुले आफ्ना सहकर्मीको यति ख्याल किन राख्न सक्दैनन् ?  

मैले उनीसँगको भेटको  सम्झनामा एउटा कविता कोरे ‘पोखरा बाग्लुङ्गको बसमा’। उमेश चौहान ( वर्तमानका नयाँ पत्रिकाका सम्पादक) त्यों बेला जनधारणा साप्ताहिकमा थिए, उनले यो कविता मन पराएर प्रकाशित गरे जनधारणा साप्ताहिकमा । अहिले झै फुटको संघारमा पुगेको कम्युनिस्ट पार्टी त्यों बेला फुटेर दुइ पार्टी बनेको थियो।  फुटेर बनेको नयाँ दलको 'साहित्य सन्ध्याका परिकल्पनाकार मित्रलाल पज्ञेनिले साहित्यक सन्ध्या भनेर मासिक कवि गोष्ठी गर्नुहुन्थ्यो । उहाँ सधै मलाई निमन्त्रणा गर्नु हुन्थ्यो कविता वाचनका लागि । मलाई भने गोष्ठीको माहौल र  कम्युनिस्टहरुको स्वाँग  र आडम्बर मन नपर्ने तर मित्रलाल पज्ञेनिको व्यहवहारले गर्दा  गोष्ठीमा शरीक हुने  विवशता हुन्थ्यो ।  'पोखरा बांग्लुंगको बसमा' भन्ने कविता अलिक 'बोल्ड' र अश्लील किसिमकै थियो। मैले जानाजान उहाँलाई यही कविता उपलब्ध गराएँ । सोचे यस्तो कविता दिए पछि उनले मलाई बहिष्कृत गर्छन ।

 त्यस महिना जम्मा पच्चीस कविता आएका थिए । स्वर्गीय समालोचक, कवि  गोविन्द वर्तमानलाई संकलित कविता समालोचनार्थ दिइएका रहेछन् । उनले त्यो गोष्ठीमा 'पोखरा बाग्लुङको बसमा’ कवितालाई सर्वोत्कृष्ट घोषित गर्दै, कवितामाथि पूर्ण समालोचना नै प्रस्तुत गरे। उनलाई मन परेको कविताको एउटा बिम्ब थियो-

‘देखेको छु मैले तिम्रा सीताहरुलाई‘ 
रात्रि कुनै लङ्कामा बिताएर बिहान अयोध्या फकिदै गरेको' ।

२०–२२ पटक वाग्लुङ पुगियो होला ।  प्रत्येक पटक वाग्लुङको यात्रामा मसँग केही न केही  घटना घटेकै हुन्थे । वाग्लुङ कालिकाको वर्षेनी मेलामा होस्, वाग्लुङमा आयोजना भएको लोकदोहोरी गीत प्रतियोगितामा होस, रात्रिबस यात्रामा होस, मसँग कुनै न  कुनै महिला पात्र ठोक्किएकै हुन्थे । शायद, नियतिले मेरो परीक्षा लिदै थियो।  मलाई संसारमा बाँधेर राख्ने प्रकृतिले अनेकौ उपाय गरिरहेको हुन्थ्यो, तर म प्रकृतिले गराएका सबै उपायरुपी बाधासँग कहिल्यै जोगिदै, कहिले खेल्दै सधै आफुलाई जोगाई रहें । यदा कदा खुट्टा हिलोमा गाडिए पनि म सधै पानीमाथिको ओभानो भई रहें । पत्रकार शिव ढकाल  भन्नुहुन्थ्यो, 'तिम्रो नियति नै फरक छ, प्रकृतिले तिमीलाई आफ्नो सबै स्वरुपसँग खेलाएर वास्तविक नियतिमा लैजान्छ', उहाँको भनाइ सत्य नै  साबित भयो । प्रकृतिले मेरा सामु आफ्ना  सबै लीला रच्यो, मलाई खेलायौ र जोगाई पनि रह्यो ।

मित्र लक्ष्मी बस्नेतको सङ्गतले म लोक दोहोरी गीत सुन्ने गर्थे। एकपटक वाग्लुङ पुग्दा लोकदोहोरी प्रतियोगिता भई रहेको थाहा पाएँ र म पनि सुन्न पुगे । वाग्लुङकै कुनै गाविसको  एउटी गायिकाले प्रतिस्पर्धी  गीत गाउँदै थिइन उनको आवाज र भाका दुबै राम्रो थियो । प्रतियोगितामा उनै विजयी भइन, उनीसँग परिचय भयो।  उनी पोखरामा उच्च शिक्षा अध्ययनरत थिइन्, कम्युनिष्ट पार्टीको सक्रिय कार्यकर्ता पनि रहेछिन् । पत्रपत्रिकामा उनले मेरा लेख रचना पनि पढ्ने गरेकी रहिछन् । भोलिपल्ट हामीसँगै पोखरा आयौं, उनले फेवाताल हेर्ने इच्छा गरिन, हामीले दिनभरी फेवातालमा डुङ्गा सैर गरी बितायौ।

 तात्कालीन राजनीति, साहित्य र लोकदोहोरी सङ्गीत बारे हामी बिच चर्चा भइ रह्यो । साँझमा फेवा किनारकै एउटा रेस्टोरेन्टमा बसी हामी खाजा खाइ रहेको थियौ।  अकस्मात पानी पर्न थाल्यो, पोखरामा पानी पर्नलाई कसैको स्वीकृति चाहिदैन, जहिले र जुनबेला पनि यो प्राकृतिक घटना त्यहाँ घटन  सक्छ । चिया खाजा खाएपछि उनलाई छात्रावासमा पुर्‍याएर मेरो काठमाडौँको रात्रिबस समाउने योजना थियो । पानीको भने रोकिने सुरसार थिएन । दुइ अढाई घण्टापछि पानी केही कम भयो र पूर्व योजना अनुसार उनलाई छात्रावास पुर्‍याउन  ट्याक्सी लिइयो ।  महेन्द्रपुल आइपुग्दा पानी  त झनै दर्कियो जुन क्रम बगरसम्म पुग्दा झनै तीव्र भयो । उनलाई छात्रावास पुग्न ट्याक्सीबाट ओर्लेर दस मिनेट जति हिड्नु पर्ने दूरी थियो, उनी भन्न थालिन, यो पानीमा कसरी जाने ? अघि देखिको अविरल वर्षाले पोखराको आकाश पूरै ढाकिएको थियो, समय पनि सात-साढे सात भइ सकेको थियो, पानी रोकिन्छ कि भनेर पर्खिनुको कुनै औचित्य थिएन ।

 मैले अप्ठेरो मान्दै उनलाई प्रस्ताव गरे, मलाई काठमाडौँ जान पनि ढीलो भइ सक्यो, म आजको रात्रि महेन्द्रपुलको कुनै होटलमा बस्छु, तपाईँलाई आपत्ति हुन्न भने मसँग हिड्नुस । उनी अक्मकिदै तैयार भइन । ट्याक्सी फर्काएर हामी महेन्द्रपुल तिर लाग्यो । त्यहाँ रहेका देउराली, कैलाश, ज्योति आदि होटलहरुमा मेरो साहु-साहुनीहरुसँगै राम्रो परिचय थियो । बजार क्षेत्रमा काम गर्दा म अनेकौं पटक यी होटलहरुमा बास बसी सकेको थिए, सबैले मेरो राम्रो  सम्मान  र सत्कार गर्थे । यस पटक भने कुन होटलमा जाउ, युवती साथ भएकाले पर्यो समस्या !

 आजसम्म सबै ठाउँमा एक्लै मात्र पुगिएको थियो । मसँग केटी हेरेर उनीहरुले मेरो विषयमा के सोच्ने हुन, म बडो असमञ्जसको स्थितिमा थिएँ । अन्त्यमा ज्योति होटल जाने निर्णय गरेँ, त्यहाँकी साहुनीले मलाई हेर्न साथ भनिन् ओहो निक्कै दिन पछी आउनु भयो।  मैले प्रत्युत्तरमा बजार क्षेत्रको काम छाडेर खेलकूदको जागीरे भएकाले नआएको जानकारी दिए । उनले मलाई होटलको सबैभन्दा राम्रो कोठा उपलब्ध गराइन । कोठामा पुर्‍याउने क्रममा उनले सोधिन, यी नानी को हुन नि, तपाईँको 'गर्लफ्रेण्ड' कि जीवनसाथी ? मैले ‘साथी’ भएको संक्षिप्त जबाफ  दिंए ।

ती युवतीसँग  मेरो पुनः भेट त भएन तर केही वर्षसम्म फोन सम्पर्क भने रह्यो । यस्ता धेरै घटना त्यो बेला  मेरो जीवनमा घट्ने गर्थे ।

राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा धरानमा हुने बक्सिङ प्रतियोगितामा वाग्लुङ जिल्लाका दुइजना खेलाडी परेका थिए । दुबै खेलाडी र अन्य प्रशिक्षकहरुले मलाई टीम म्यानेजर भएर धरान जान  कर गरे ।

म दुबैजना खेलाडीसँग टीम म्यानेजर बनी धरान गएँ।

पोखराको  बक्सिङ टीम पहिला नै धरान पुगी सकेको थियो, हामी उनीहरु बसेकै होटलमा गएर बस्यौँ।  

बक्सिङ खेल प्रत्यक्ष हेर्ने पहिलो मौका पाए मैले।  मलाई यो खेल फिटिक्कै मन परेन । मलाई  यो खेल नभएर हिंसा र क्रूरताको उपक्रम झै लाग्यो।  'रिङ'मा नाक र मुखमा मुक्का खाँदा खेलाडीको नाक र मुखबाट रगतधार नै बग्ने ! यत्तिसम्म हुँदा पनि २-३ मिनटमै खेलाडीले अर्को 'राउण्ड'का लागि 'रिङ' भित्र पसी जोशका साथ खेल्दै जीतको चाहना गर्नु पर्ने बाध्यता ।

हाम्रो टीमका एकजना खेलाडी मात्रै सेमिफाइनलसम्म पुगे।  उनी सेमिफाइनलमा पराजित भए। अब हाम्रो धरानमा बस्ने कुनै प्रयोजन थिएन तर पोखराका साथीले अन्तसम्म बस्ने अनुरोध गरे ।

फर्किने बेलामा हामी वाग्लुङका तीनजना र पोखराका १२ जनाले एउटै बसमा टिकट लियौं।  बस चढ़ना साथ हाम्रा युवा खेलाडीले हल्ला गर्न थाले।  कोही यता बस्ने, कोही सीट साटने, कोही गीत गाउने।  बसमा रहेका अन्य यात्रुलाई बाधा पुगे पनि यत्रो युवा जमातसँग प्रतिरोध गर्ने आँट  कसैले देखाउने कुरै थिएन । 

इटहरीसम्म आई पुग्दा हाम्रा युवा खेलाडीले माओवादीको भाषामा 'बस कब्ज़ा' गरेको स्थिति बन्यो । इटहरीबाट बस गुडन साथ पोखराका बक्सिङ प्रशिक्षक सुरेश गुरुले सीटबाट उठेर क्याबिन अगाडि आई हामी बसेकोतिर फर्केर भने- केटा हो 'साइलेन्स'।  अब बस पोखरा बसपार्कमा नपुगेसम्म कोही बोल्दैन ।  ख्याल गर हामी यात्रीबसमा छौ, हामी बाहेक बसमा अन्य यात्री पनि छन् ।  तिमीहरुबाट कसैलाई 'डिस्टर्ब' हुनु भएन।  तिमीहरु हामी जमातमा छौ भनेर उद्दण्ड नबन् ।  तिमीहरुसँग शक्ति छ भन्दैमा कसैलाई बाधा पुर्‍याउन पाउँदैनौ । म शक्तिको दुरूपयोग मन पराउँदिन । आफ्नो शक्तिलाई सीपमा लाउने पर्छ, कसैलाई बाधा पुर्‍याउनमा होइन।  अब कसैले सहयात्रीलाई बाधा पुग्ने कुनै काम नगरोस्। उनीहरुले प्रतिवाद गर्न सक्दैनन भन्दैमा तिमीहरूले अनुशासन  भङ्ग  गर्ने होइन ।  आफ्नो शक्ति र सामर्थ्यमा मात्तिने होइन।  यो मेरो पहिलो र अन्तिम चेतावनी हो ।

सुरेश गुरुले बोल्न आरम्भ गर्न साथ बसमा शान्ति वर्षियौ, सबै पूर्ण मौन बने, यहाँसम्म कि बाटोमा खाना खाने होटलमा पनि कुनै खेलाडीले उनले दिएको अनुशासन भङ्ग गरेनन् । उनले गरेको शक्तिको उपयोग र व्याख्याले भने मेरो मन मस्तिष्क झङकृत गर्यो ।  आफ्नो शक्तिले कसैलाई बाधा पुग्नु हुन्न, मैले  पनि मनमनै अठोट गरें। मैले विचार गरे,  म यस पाठलाई आफ्नो सम्पूर्ण जीवनमा अपनाउने छु, मेरो शक्ति र सामर्थ्यले कसैलाई आहत नबनाओस, कसैको शोषण नहोस ।

ओहो ! हाम्रा राजनीतिक, धार्मिक र सामाजिक नेताहरु पनि सुरेश गुरु झै मर्यादित र अनुशासित हुन सक्थे । आफ्नो शक्तिको समुचित प्रयोग गर्ने दिशामा अग्रसर  हुन सक्थे।  सुरेश गुरु  पोखरा र वरिपरि क्षेत्रका बक्सिङ खेलाडीको गुरु हुनु हुन्थ्यो ।  उहाँले  आफ्नो जीवनमा कति जनालाई आफ्नो शिष्य बनाउनु भयो ,  त्यसको लेखा जोखा उहाँसँग नै होला ।  तर उहाँलाई यो निश्चित पनि थाहा छैन उहाँका तमाम चेला जस्तै उहाँलाई गुरु मान्ने एकजना अरु पनि कोही छ।  एउटा यस्तो शिष्य जसले कसैलाई गुरु मान्दैन।  गुरु पूर्णिमा अथवा गुरुप्रति श्रद्धा प्रदर्शित गर्ने कुनै दिन वा  मौकामा  स्मरणसम्म गर्दैन।  शिक्षा लिदै अगाडि बढ्छ,  कुनै पनि  गुरुलाई फर्केर धन्यवाद भन्नु त परै जाओस  फर्केर हेर्ने चाहनासम्म गर्दैन। सुरेश गुरु यदि  यस नश्वर  संसारमा  कतै हुनुहुन्छ भने यसै लेखलाई गुरु दक्षिणा सम्झी  स्वीकार गर्नु होला। तपाईको एउटा शिष्य सन्यासी बनी बाँचेको छ र त्यो सन्यासीलाई कुनै गुरुमा विश्वास नभए पनि उ एउटा गृहस्थलाई गुरुकै  श्रेणीमा राख्न किञ्चित पनि संकोच गर्दैन।


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।