यादव चन्द्र राई : विभेद, थिचोमिचो र हेला होचोको प्रधान शत्रु

यादव चन्द्र राई : विभेद, थिचोमिचो र हेला होचोको प्रधान शत्रु

आशिष पौडेल  |  अन्तर्मन्थन  |  मंसिर २०, २०७७

सामान्यतया मानिस रोजीरोटीका लागि काम गर्छ । तर, यादव चन्द्र राई ब्रिटिस गोर्खा सैनिक भइकन पनि आफ्नो जागिर, करियर र प्रमोसन भन्दा माथि उठेर पल्टन भित्रका विभेद, थिचोमिचो र हेला होचोका विरुद्ध सधैँ लागिरहनु भयो । यसका लागि उहाँले साहित्य, सङ्गीत तथा प्रहसनका विभिन्न माध्यमलाई प्रयोगमा  ल्याउनु भयो । 

यसको परिणाम सधैँ, सबै कुरामा उत्कृष्ट भएर पनि जागिरको जुन उचाइमा पुग्नु पर्ने हो त्यहाँ सम्म भने  पुग्नु भएन ।  यादव चन्द्र राईको यस्तै विद्रोही चेत र सङ्घर्षको अन्तर कथा हो यो आलेख । 

पारिवारिक अवस्था  

उहाँको बुवा परिवारकाे एक्लो सन्तान । भूतपूर्व ब्रिटिस गोर्खा सैनिक । फुर्मास गर्न नपुगे पनि घरमा खान लाउन भने कुनै दुःख थिएन । पैसाको चरमा अभाव हुने उक्त समयमा यस प्रकारको व्यवस्था हुनु भनेको राम्रै हो । त्यस कारण पनि आफ्नो परिवारलाई मध्यम स्तरको परिवारको श्रेणीमा राख्न चाहनुहुन्छ, उहाँ । 

जन्म र बाल्यकाल 

उहाँको बुवा जस्तै उहाँ पनि एक्लो सन्तान । उहाँको जन्म बुवा ब्रिटिस आर्मीबाट मलेसियामा कार्यरत रहँदा मलेसियाको पेनाङमा भएको हो । त्यति बेला मलेसियालाई मलाया पनि भन्ने गरिन्थ्यो । 

सन् १९६७ को २३ सेप्टेम्बरमा उहाँको जन्म भएको हो । उहाँको दुई दिदी तथा एक बहिनी हुनुहुन्छ । 

उहाँ बुवाले अवकाश पाएपछि करिब तीन वर्षको उमेरमा नेपाल आउनु भएको रे ! त्यस कारण यो उमेरको कुरा कसलाई के थाहा उहाँ भन्नुहुन्छ ।  उहाँको गाउँ भाेजपुरको खावा हो । हाल भने टेम्केमयुम गाउँपालिका वडा नं ५ । 

तर, नेपाल फर्किसके पछिको उहाँको चेतनामा सङ्गृहीत बाल्यकालमा भने थाङनाको डल्लोलाई भलिबल बनाएर खेलेको, डन्डीबियो खेलेको स्मरणमा छन् ।  अनि बेलायती गोर्खाजहरुले उपहार दिएको बास्केटबललाई भलिबल बनाएर पनि खुबै खेलियो भन्नुहुन्छ, उहाँ । 

अझ कक्षा छोडेर चराका गुँड खोज्न अनि माछा मार्न गए बापतका बाआमाको कुटाइले रन्केको गालाको ताप अझै महसुस गर्नु सक्नुहुन्छ, उहाँ । 

प्रारम्भिक शिक्षा 

उहाँको प्रारम्भिक शिक्षा श्री महेन्द्र प्रावि, चोलन्तीमा भएको हो । निम्न माध्यमिक शिक्षा भने चण्डेश्वरी निमावि, दिल्पा नागीमा भएको हो ।  माध्यमिक शिक्षा भने अन्नपूर्ण मावि दिल्पा, भोजपुरमा भएको हो । त्यस बेला स्कुलको फी महिनाको आठ रुपैयाँ भएजस्तो लाग्छ उहाँलाई । 

अर्को कुरा भनेको उहाँको पन्ध्र वर्षको जागिरे जीवनकालमा उहाँ, उहाँको समूहबाट उत्कृष्ट हुने गर्नुहुन्थ्यो । यसले गर्दा उहाँलाई अन्य आरोप लगाउने ठाउँ रहँदैन थियो । त्यस कारण पनि यो मान्छेको सबै कुरो ठीक छ, तर, व्यङ्ग्य मार्फत अरूलाई प्रहार गर्ने हुनाले अनुशासन भने ठीक छैन भन्ने रिपोट पेश गर्ने गर्थै हाकिमहरुले । 

प्रायः किताबहरू आधा मूल्यमा किनिन्थ्यो, उहाँ भन्नुहुन्छ । कतिपय किताबका पन्नाहरूको सम्बन्ध पनि विच्छेद भैसकेको हुन्थ्यो । पूरा पाठ नभएका किताब त सामान्य नै मानिन्थ्यो । बरु पूरा पाठ भएका किताब भेट्दा पो अनौठो हुन्थ्यो त । अनि मट्टितेल हालेर टुकी बालेर पनि पढ्नुभयो । मट्टितेल सकिएका बखत ढोड बालेर पनि पढियो, उहाँ भन्नुहुन्छ ।

त्यस बेला विद्यालयको भवन बन्दै थियो । फर्निचर भने अभाव नै थियो । स्कुलमा 'फस्ट कम फस्ट सिट' भनेजस्तो व्यवस्था थियो ।  जो पहिले आइपुग्यो उसले अघिको बेन्च कब्जा गर्ने । ढिलो भएका खण्डमा बेन्च नपाएर पछाडि गएर उभिनु पर्थ्याे । 

कक्षामा झन्डै असी जना जति विद्यार्थी रहन्थे । महिलाको सङ्ख्या भने झन्डै पन्ध्र,बीस थियो, उहाँ भन्नुहुन्छ ।  उहाँको रुचि भने खेलकुदमा भन्दा पनि साहित्य र सङ्गीतमा थियो । 
त्यस बेला विद्यालयमा पनि विद्यार्थी सङ्गठनहरू खोल्न पाइन्थ्यो । पछि सरकारले यो व्यवस्था खारेज गर्‍यो । त्यस बेला उहाँले अखिल पाँचौँमा सहभागी भएर जनवादी सांस्कृतिक कलाकारको रुपमा जनचेतनामूलक सांस्कृतिक कार्यक्रमहरू पनि खुबै प्रस्तुत गर्नु भयो । 

शायद,  त्यसैको प्रभाव होला नबुझि नजानीकन पनि उहाँको वामपन्थी झुकाव रहन पुग्यो त्यस बेला । गाउँका पञ्चायती शासकको दुर्व्यवहार पनि त्यसको कारक रहेको उहाँ बताउनुहुन्छ ।  उहाँले २०४० सालमा एसएलसी दिनुभएको हो । त्यस बेला एसएलसी पास मात्र भए पनि तीन गाउँ हल्लिन्थ्यो । उहाँ पनि पास हुनुभयो । 

पहिलो जागिर

एसएलसी दिएपछि लगत्तै उहाँले सोलुको वाकु निमाविमा निमावि शिक्षकका रुपमा काम गर्न थाल्नुभयो । उहाँले त्यहाँ शिक्षकका रुपमा अठार महिना काम गर्नुभयो । त्यस बेला उहाँको तलब चार सय पन्चान्नब्बे थियो । 

यो नै उहाँको पहिलो तलब थियो । त्यस बेला दुई सय रुपैयाँ जति त खानामै सकिन्थ्यो, उहाँ भन्नुहुन्छ । बाँकी पैसाले भने राडी, पाखी किनेको उहाँलाई सम्झना छ । र, ती मध्येका केही अहिलेसम्म पनि आफूसँग सुरक्षित रहेको उहाँ बताउनुहुन्छ । 

बेलायती सेनामा भर्ती 

‘जान्न म त गोर्खा भर्ती मलाया छाउनीमा’ भन्ने जस्ता धेरै साँस्कृतिक गीत गाएको मान्छे उहाँ २०४२ सालमा भने बेलायती सेनामा जागिर खान पुग्नु भयो ।  सैद्धान्तिक रुपमा कम्युनिस्टले विदेशी सेनामा जागिर खान नहुने हो, तर भोको पेटले सारङ्गी नरेट्ने भएपछि भोकका अगाडि सिद्धान्त गौण हुने रहेछ भन्दै उहाँ लाहुरे हुन पुग्नु भएको बताउनुहुन्छ, उहाँ । 

खासमा सबै साथी लाहुरे बनेको देखेपछि के रहेछ त जाँच दिई हेरौँ न त भनेर गएको तर, सरासर सबै पास भएपछि आफू पनि लाहुरे बनेको बताउनुहुन्छ, उहाँ ।  लाहुरे नभएको भए उच्च शिक्षा हासिल गरेर देशमै केही गरौँ भन्ने उहाँको चाहना थियो । तर, त्यस बेला उक्त चाहना पूरा हुन नसके पनि त्यस बेलाको इच्छा अहिले आफूले पूरा गर्दै गरेको बताउनुहुन्छ, उहाँ । 

व्यङ्ग्यात्मक चेत

वामपन्थी राजनीतिक चेत, अनि साहित्य तर्फको रुचिका कारण उहाँले बेलायती सेनामा हुने विभेदलाई साहित्यका मार्फतबाट उजागर गर्न थाल्नुभयो ।  सेनामा रहँदा त्यहाँ ‘पर्वते’ नामक मासिक पत्रिका प्रकाशन हुन्थ्यो । त्यहाँ उहाँको लेख रचना सर्वाधिक लोकप्रिय हुने गर्थे । 

बिट्रिश फोर्सेज ब्रोडकास्टिंग सर्भिस (बिएफबिएस) रेडियोका मार्फतबाट उहाँका कविता, निबन्ध, गीत कथाले पनि विभेद विरुद्ध सधैँ प्रहार गरी नै रहे । उहाँको प्रहसन पनि निकै नै चर्चित रहने गर्दथ्यो । 

त्यस्तै विभिन्न स्टेज प्रोग्राममा उहाँले गीत, प्यारोडी र हास्यव्यङ्ग्य मार्फत चाकडी, चाप्लुसी र भाइबन्धु जस्ता विकृति, विसङ्गति जसले पल्टनमा प्रश्रय पाइरहेका हुन्थे तिनलाई उहाँले निशाना बनाउने काम गर्नुभयो । 

जो उहाँको निशानामा पर्थे स्वभावैले तिनले उहाँलाई मन पराउने कुरै भएन । र, ती भनेका जिम्मेवारी तथा पदका हिसाबले पनि उहाँ भन्दा उच्च ओहोदाकै हुन्थे ।   

अर्को कुरा भनेको उहाँको पन्ध्र वर्षको जागिरे जीवनकालमा उहाँ, उहाँको समूहबाट उत्कृष्ट हुने गर्नुहुन्थ्यो । यसले गर्दा उहाँलाई अन्य आरोप लगाउने ठाउँ रहँदैन थियो । त्यस कारण पनि यो मान्छेको सबै कुरो ठीक छ, तर, व्यङ्ग्य मार्फत अरूलाई प्रहार गर्ने हुनाले अनुशासन भने ठीक छैन भन्ने रिपोट पेश गर्ने गर्थै हाकिमहरुले । 

यो क्रम उहाँको पछिसम्म जारी रह्यो । पछि त कमाण्डरहरुले आफूलाई निशाना नबनाउन तथा आफ्ना बारेमा प्रकाशन नगर्न पनि उहाँलाई भन्न थाले ।  सबै कुरामा अब्बल रहँदा रहँदै पनि उहाँले लामो समय जागिर भने गर्न सक्नु भएन । जुन किसिमका उच्च पदहरु प्राप्त गर्नुपर्ने थियो त्यो पनि उहाँले प्राप्त गर्न सक्नु भएन । यसको मूख्य कारण भनेकै उहाँले अन्याय र विभेदका विरुद्ध गर्ने गरेको प्रहार नै प्रधान रहेको उहाँको ठम्याई छ । 

आफू भन्दा माथिका कमान्डरको आशय पनि यो मान्छे सकभर छिटो जागिरबाट गयो भने हामीलाई जागिर खान सजिलो हुन्थ्यो भन्ने उहाँहरूको बुझाई थियो ।  यो यहाँ रहिरह्यो भने यसले हाम्रो पनि जागिर खान्छ भन्ने एक प्रकारको भय माथिल्ला कर्मचारीमा थियो, उहाँ भन्नुहुन्छ ।  यस कारण पनि उहाँ पन्ध्र वर्ष जागिर खाएर 'जुनियर नन कमिसन अफिसर' (एनसीओ) बाट अवकाश प्राप्त गर्नु भएको हो । 

उच्च शिक्षा 

उहाँ २०५७ सालमा बेलायती सेनाबाट अवकाश प्राप्त गरेर नेपाल फर्कनु भएको हो ।  पेन्सनका बेलामा उहाँले नेपाल गएर उच्च शिक्षालाई अघि बढाउने, समाज सेवा गर्ने तथा राजनीति समेत गर्ने उद्घोष गर्नुभएको थियो त्यसलाई भने उहाँले नेपाल फर्केदेखि नै कायम राख्ने कोसिस गर्नुभयो । 

पेन्सनका बेला गरिएको उद्घोष जस्तै उहाँले नेपाल फर्किएपछि आफ्नो पढाइलाई अगाडि बढाउनु भयो । उहाँ पहिले रत्न राज्य क्याम्पसमा आइए भर्ना हुनुभयो । अङ्ग्रेजी विषय लिएर । तर, एक विषय अनुत्तीर्ण भएका कारण पास गर्न तीन वर्ष लाग्यो उहाँलाई ।  त्यसपछि बिए तथा एमए भने पाटन क्याम्पसबाट पास गर्नुभएको हो । 

राजनीति शास्त्र तथा जनप्रशासन विषयको स्नातकोत्तर भने उहाँले प्राइभेटबाट गर्नुभएको हो ।  पूर्व शिक्षक पनि भएका नाताले शिक्षा क्षेत्रमा पनि संलग्न हुने हिसाबले उहाँहरूले काठमाडौँकाे कोटेश्वरमा  ग्रामर स्कुल पनि खोल्नुभयो । स्कुलको व्यवस्थापन तथा पढाई राम्रो भएकोले चर्चा पनि राम्रै रहेको उहाँ बताउनुहुन्छ । हाल उहाँ उक्त स्कुलको प्रबन्ध निर्देशक समेत हुनुहुन्छ । 

गोर्खाज फाइनान्स 

आर्थिक क्रान्तिका माध्यमबाट समाजलाई माथि उठाउने र देशलाई योगदान दिने उद्देश्य अनुरूप उहाँहरूले करिब असी प्रतिशत ब्रिटिस गोर्खा तथा सिंगापुर गोर्खाका जवानहरूको  लगानी रहेको गोर्खाज फाइनान्स पनि सुरु गर्नुभएको छ । 

जसको केन्द्रीय कार्यालय डिल्लीबजारमा रहेको छ । साथै संस्थाले दिनानुदिन प्रगति गर्दै गैरहेको पनि उहाँ बताउनुहुन्छ । विगत दुई वर्ष अघिदेखि उहाँ उक्त संस्थाको अध्यक्ष हुनुहुन्छ । 

संस्थाको चुक्ता पुँजी छयासी करोड सतासी लाख रहेको पनि उहाँले बताउनुभयो । 

‘ग’ वर्गको वित्तीय संस्थाका लागि असी करोड चुक्ता पुँजी चाहिने राष्ट्र बैङ्कको नियमानुसार यो संस्था पनि हाल ‘ग’ वर्गको वित्तीय संस्थाका रुपमा संचालित रहेको छ ।  यसको लगानी वृद्धि गरी निकट भविष्यमा नै यसलाई ‘ख’ वर्गको विकास बैङ्कका रुपमा अभिवृद्धि गर्ने पनि उहाँहरूको सोच रहेको छ । 

विवाह

उहाँको दुई विवाह भएको हो । पहिलो विवाह भने २०४५ सालमा भएको हो । जेठी श्रीमतीका तर्फबाट उहाँको एक छोरा तथा एक छोरी हुनुहुन्छ । जेठी श्रीमती आफ्नो इच्छा अनुसार नै हाल बेलायतमा रहँदै आएको पनि उहाँले बताउनु भयो ।  त्यस्तै उहाँको अर्को विवाह २०६४ सालमा भएको हो । कान्छी श्रीमतीका तर्फबाट पनि उहाँको एक छोरा तथा एक छोरी हुनुहुन्छ । 

सङ्घसंस्थामा संलग्नता

उहाँ किराँत  राईहरूकाे संस्था, किराँत राई यायोक्खामा विगत पच्चीस वर्षदेखि संलग्न हुनुहुन्छ । काठमाडौँको अध्यक्ष तथा केन्द्रीय भूमिकामा लामो समय व्यतीत गरेपछि उहाँले सक्रिय भूमिकाबाट अलग रहेर हाल भने सल्लाहकारका रुपमा रहनु भएको छ । 

त्यसैगरी किराँत सेवा समाजको अध्यक्ष । उहाँले अध्ययन गर्नु भएको अन्नपूर्ण माविको भूतपूर्व विद्यार्थी समाजको संस्थापक महासचिव पनि हुनुहुन्छ उहाँ । जसले सत्ताइसवटा सरकारी विद्यालयलाई आर्थिक सहयोग समेत प्रदान गर्ने गर्छ भने विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गर्ने काम गर्छ । 

त्यस्तै दर्जनौँ जातीय, क्षेत्रीय तथा विकासजन्य संस्थामा उहाँको संलग्नता रहेको छ । ज्यादा व्यस्तताका कारण अब भने यी संस्थाहरूमा आफूलाई सीमित संलग्नतामा राख्ने उहाँको सोच रहेको बताउनु हुन्छ । 

मान, पदवी तथा सम्मान    

उहाँ कर्ममा विश्वास गर्नुहुन्छ । कर्मका कारण मान, पदवी र सम्मानले आफूलाई खोज्दै आउने बताउनुहुन्छ, उहाँ । कतिपय मान, पदवी तथा सम्मान समेत आफूले ग्रहण नगरी साथीहरूलाई नै हस्तान्तरण गरेको पनि उहाँ बताउनुहुन्छ । 

साथै अहिले राज्यले प्रदान गर्ने मान, पदवीमा परेका व्यक्तिका नाम तथा तीसँगै जोडिएर आउने विवादका कारण पनि उहाँ राज्यले सम्मान प्रदान गरे पनि आफू स्वीकार्ने मनस्थितिमा नरहेको बताउनुहुन्छ उहाँ । 

उहाँले बरु बेलायती सेनामा काम गर्दा तीन वटा पदक प्राप्त गर्नुभएको छ । जुन आर्मीको म्युजियममा सुरक्षित राखेको बताउनुहुन्छ, उहाँ ।

बोस्निया हर्ज गोभिनामा युद्धका बेला शान्ति स्थापनार्थ खटिँदा उहाँले आइफोर यानेकी इम्प्लिीमेन्टेशन फोर्स पदक प्राप्त गर्नुभएको थियो । उहाँ बेलायती सेनामा कार्यरत रहँदा उहाँको समूहमा कहिल्यै दोस्रो हुनु भएन । र, अतिथिहरू भ्रमणमा आउँदा जहिले पनि उहाँलाई नमूना प्रस्तुतिका लागि अघि सारिन्थ्यो । त्यसबापत उहाँले लङ्ग सर्भिस एण्ड गुड कन्डक्टर (एलएसजीसी) पदक प्राप्त गर्नुभएको छ ।  उहाँको पल्टन दश गोर्खा राइफल्सको सेवा अवधि सय वर्ष पुगेको अवसरमा सेन्चुरी पदक पनि प्राप्त गर्नुभएको छ, उहाँले । 

जिन्स आन्दोलन 

पुरञ्जन राईले नेतृत्व गर्नुभएको जिन्स आन्दोलनका बखत उहाँ भने बढुवाका लागि हुने तालिममा सहभागी हुनुहुन्थ्यो । यदि त्यहाँ भएको भए निश्चित रुपमा आन्दोलनमा सहभागी होइन्थ्यो, उहाँ भन्नुहुन्छ ।

आन्दोलनमा प्रत्यक्ष सहभागिता नरहेपनि साहित्य, सङ्गीत र मनोरञ्जनका अन्य माध्यमबाट उहाँले गर्ने विरोध भने कहिल्यै रोकिएन, उहाँ भन्नुहुन्छ ।  जिन्स आन्दोलन पश्चात् पल्टनमा अरु थुप्रै आन्दोलन भए । गोरा र गोर्खा सैनिकबिचका थुप्रै विभेदलाई आन्दोलनले हटायो । 

गोराहरू छुट्टीमा हाफ पाइन्ट र चप्पल लगाएर हिँड्थे तर गोर्खालीले भने कपाल मसिनो पारेर, आइरन गरेका तन्किएका लुगामा स्ट्यान्ड बाई जस्तो भएर बस्नुपर्ने अवस्था थियो, आन्दोलनले त्यसको पनि अन्त गर्‍यो । 

एउटै पदका गोरालाई समान पदको गोर्खालीले स्यालुट हान्नुपर्ने हुन्थ्यो । यस्ता अनगिन्ती विभेद उहाँ जस्ता चेतनशील सैनिकको बुझाई र त्यसलाई अग्रपङ्क्तिमा रहेर उतार्ने पुरञ्जन राई जस्ता जुझारु सैनिकको नेतृत्वले सम्भव भएको पनि उहाँ बताउनुहुन्छ । 

जसका कारण एउटा सहज र उदार वातावरण पछिल्लाे पुस्ताले पाएका कारण पहिले सय जनामा एक जना गोर्खा मेजर हुन्थे भने अहिले दश जनासम्म मेजर हुने गरेको उहाँ बताउनुहुन्छ । यो सब अन्यायका विरुद्ध विरोधी चेत भएका उहाँ र अन्य जुझारु साथीहरूबाट सम्भव भएको उहाँको बुझाई छ ।  

लक्ष्य 

दर्जन बढी संस्थामा संलग्नता, साहित्य र सङ्गीतप्रतिको चेत अनि समाज सेवा तथा उच्च शिक्षा प्राप्तिका उहाँका धेरै कर्म र उद्देश्य पुरा भएका छन् । तर पनि उच्च शिक्षा प्राप्तिको उहाँको एउटा भोक भने बाँकी नै छ । त्यो भनेको विद्यावारिधि । अनि त्यो पनि गोर्खाकै बारेमा, उहाँ भन्नुहुन्छ । 

तर, अहिले गोर्खा फाइनान्स लगायत अन्य संस्थाको जिम्मेवारीका कारण त्यसमा लाग्ने समय नमिलिरहेको उहाँ बताउनुहुन्छ । पूर्व मेचीको झापा देखि पश्चिम महाकालीको कैलालीसम्म गरी देशका सातै प्रदेशमा गरेर गोर्खा फाइनान्सको राष्ट्रिय स्तरको तेइसवटा ‘ग’ वर्गको शाखाहरू रहेका छन् । अबको लक्ष्य भनेको देशका सतहत्तरै जिल्लामा शाखा विस्तार गर्ने रहेको पनि उहाँ बताउनुहुन्छ । 

त्यस कारण पनि अर्थ सम्बन्धी एकदमै संवेदनशील संस्थामा बसेर संस्था तथा संस्थाका लगानीकर्ता, ऋणी, कर्मचारी लगायत सम्पूर्ण हितग्राहीका बारेमा एकदमै गम्भीर भएर सोचेर काम गर्नुपर्ने छ, उहाँ भन्नुहुन्छ । 

त्यसैले अहिले समय अभावका कारण पनि उहाँको यो विद्यावारिधिको लक्ष्य थाँती रहेको बताउनुहुन्छ । र, संस्थालाई सफलताको एउटा उचाइमा पुर्‍याए पछि पुनः आफ्नो लक्ष्यमा लाग्ने  सोच रहेको बताउनुहुन्छ उहाँ । 

प्रकाशन

उहाँको दुई वटा कविता सङ्ग्रह प्रकाशित भएका छन् । जसमा ‘यहाँ अनेक अनेक थोक छ’ र ‘म कस्तो गजबको मान्छे ?’ । दुबै व्यङ्ग्यात्मक चेत भएको कविता सङ्ग्रह हुन्, भने प्रकाशन हुन गइरहेको यात्रा संस्मरण निबन्ध, ‘पिखुवा झैँ अविरल बगिरहेको छ जिन्दगी’ रहेको छ । 

अन्त्यमा 

अन्याय जो सुकैले गरेको किन नहोस् त्यसलाई आफूमा भएको जुनसुकै माध्यमकाबाट सधैँ उजागर गर्नुपर्छ । अन्यायका विरुद्ध आवाज उठाउँदा परिणाम के हुन्छ भन्ने बारे सोच्न थालियो भने त्यसले आफूलाई कहिल्यै पनि सन्तुष्टिको बाटोमा लाँदैन भन्ने कुराको ठूलो शिक्षा यो जीवन सङ्घर्षबाट लिन सकिन्छ ।