चार करोड ४८ लाख ५५ हजार ८७८ रुपैयाँको लागतमा पक्की पुल निर्माण हुँदै

चार करोड ४८ लाख ५५ हजार ८७८ रुपैयाँको लागतमा पक्की पुल निर्माण  हुँदै

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २१, २०७७

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० स्थित टोटीनालामा चार करोड ४८ लाख ५५ हजार ८७८ रुपैयाँको लागतमा पक्की पुल निर्माण शुरु भएको छ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले पुल निर्माण अगाडि बढाएको हो । पुल निर्माणका लागि केएस कन्स्ट्रक्शन प्रालि धनगढीसँग ठेक्का सम्झौता गरिएको छ ।

आउँदो आवको असार मसान्तसम्म पुल निर्माण गर्ने गरी सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक नेगीले बताउनुभयो । निर्माण हुने पुलको लम्बाइ ३० मिटर र चौडाइ ११ मिटर छ । 'कृष्णवैजनाथ बहुमुखी क्याम्पसमा पढ्ने छात्रछात्रालाई नालामा पुल नहुँदा निकै समस्या रहेकाले पुलको माग गरेका थियौँ', नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो, 'प्रदेशसभा सदस्य लालबहादुर खड्काको पहलमा पुल निर्माण हुन थालेको छ । यो सकारात्मक काम हो, पुल निर्माणपछि क्याम्पस पढ्ने विद्यार्थीलाई निकै सहज हुनेछ ।'

पुल निर्माणपछि क्याम्पस पढ्ने मात्रैलाई फाइदा पुग्ने नभई यस क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समेत सहज हुने भएको उहाँले बताउनुभयो । नालामा पुल नहुँदा बर्सातको समयमा पानीको बहाव अत्यधिक हुँदा तर्नका लागि निकै गाह्रो हुने गरेको स्थानीय तेजबहादुर शाहले बताउनुभयो । 'पानीको बहावकै कारण विद्यार्थीले क्याम्पस पुग्नै नपाई बाटोबाटै फर्कनुपर्ने बाध्यता थियो', उहाँले भन्नुभयो, 'हिउँदको कठ्याङ्ग्रिँदो चिसोमा कम्मरसम्म पानी हुने नाला तर्नका लागि समस्या थियो । पुल निर्माण थालेपछि ती सबै समस्या हटेर जाने विश्वास लिएका छौँ ।' स्थानीय बासिन्दाले गुणस्तरयुक्त पुल निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।