व्यावसायिक तालीमप्रति युवाको आकर्षण बढ्दै

व्यावसायिक तालीमप्रति युवाको आकर्षण बढ्दै

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २२, २०७७

टीकापुर । पछिल्लो समय व्यावसायिक तालीमप्रति युवाको आकर्षण बढ्दै गएको छ ।  तालिमले आयआर्जनमा बृद्धि गर्न सहयोग पुर्‍याएपछि  प्रभावकारी बन्दै गएको हो । व्यवसाय सञ्चालन, रोजगारी, सीप र मुख्य प्राथमिकतामा राखेका तालीमप्रतिको आकर्षण  बढ्दैछ । पछिल्लो समय सरकारलेसमेत व्यावसायिक तालीमलाई मुख्य प्राथमिकता दिन थालेको छ । यसले गर्दा स्थानीय क्षेत्रमा पनि तालीमको माग बढ्दै गएको बताइएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा विभिन्न विधामा लामो तथा छोटो अवधिका तालीम सञ्चालनमा ल्याइरहेको छ । परिषद्द्वारा शिक्षा तथा व्यावसायिक तालीम सञ्चालनमा ल्याउने उद्देश्यले विसं २०६६ मा टीकापुर पोलिटेक्निक इन्स्टिच्युट स्थापना गरिएको थियो  । इन्स्टिच्युटमा कृषि, पशुविज्ञान, सिलाइबुनाइ, सौन्दर्य, बेमौसमी तरकारीखेती, निर्माणसँगै मागअनुसार छोटो अवधिका विभिन्न सीपसम्बन्धी तालीम सञ्चालित रहेको छ । इन्स्टिच्युटले आवश्यकता र मागअनुसार विभिन्न समयमा छोटो अवधिका तालीम पनि प्रदान गर्दै आएको इन्स्टिच्युटका प्रमुख टेकेन्द्र थापा जानकारी दिनुभयो ।  इन्स्टिच्युटले मोबाइल मरमत, आधरभूत कम्युटर अपरेटर, उपकरण, प्लम्बिङ, हाउस वाइरिङ, सिलाइबुनाइ, सौन्दर्य, बेमौसमी तरकारीखेती, सामुदायिक पशु स्वास्थ्य सहायक, सामुदायिक कृषि सहायकलगायतका तालीम सञ्चालन गर्दै आइरहेको छ । हालसम्म करिब तीन हजारभन्दा बढीले इन्स्टिच्युटबाट तालीम लिइसकेका जनाइएको छ ।

टीकापुरमा व्यवसाय सञ्चालन गर्दै आएका प्रकाश तिमिल्सिनाले व्यावसायिक तालीमले बजारमा एक प्रकारको तरङ्ग ल्याएको जानकारी दिनुभयो । उहाँले हिजो अनुमान र परम्परागतरुपमा काम हुँदै आएकामा अहिले तालीम लिएर गरिने काम धेरै प्रभाकारी भएको बताउनुभयो ।  पोलिटेक्निक इन्स्टिच्युटले उत्पादन गरेकाले सहजै बजारमा रोजगारीको अवसर पाएका छन् । 'मसँग पनि अहिले चार जना पोलिटेक्निकमा तालीम लिएकाले काम गर्दै आएका छन्', उहाँले भन्नुभयो, 'तर सबै पूर्ण छ भन्न त सकिँदैन । व्यावसायिकरुपमा दिइने तालीमले बेरोजगारलाई रोजगारमा जोड्ने काम पोलिटेक्निकले गर्दै आएको छ ।' 

सिलाइकटाइ व्यवसायी सङ्घ टीकापुरका अध्यक्ष प्रेम चौधरी पोलिटेक्निकलबाट तालीम लिएका पाँचजनाले आफैँसँग काम गरिरहेको बताउनुहुन्छ । उहाँले आर्थिक अवस्था कमजोर, पिछडिएका वर्ग, काम गर्न चाहनेका लागि पोलिटेक्निक वरदान भएको बताउनुभयो ।  अध्यक्ष चौैधरीले गत वर्ष पोलिटेक्निकको सिलाइकटाइमा सहभागी ४० जनालाई आफँैले तालीम दिएको र ती मध्ये पाँचजनालाई आफ्नै व्यवसायमा रोजगारी दिएको बताउनुभयो । 'सङ्घसंस्था र सरकारबाट थुप्रै खालका व्यावसायिक तालीम हुने गरेका छन् । तर ती तालीम पूर्ण हुँदैनन् र सहभागीले दक्षतासमेत हासिल गर्न सकेको  छैन ।' उहाँले भन्नुभयो, तालीम दिएपश्चात् पनि ती व्यक्तिको अनुगमन र निगरानी हुन जरुरी छ ।यसले गर्दा राज्यले गरेको खर्च सही ठाउँमा सदुपयोग होस् ।' 

टीकापुरमा इलेक्ट्रोनिक व्यवसाय सञ्चालन गर्दै आउनुभएका नारायणप्रसाद न्यौपानेले अन्य सङ्घसंस्थाले दिएको तालीमभन्दा पोलिटेक्निक इन्स्टिच्युटले दिएको तालीम विश्वसनीय रहेको जानकारी दिनुहुन्छ । 'प्रयोगात्मकरुपमा तालीम अझै प्रभावकारी हुन सकेका छैनन् । सैद्धान्तिकरुपमा मात्रै बढी प्राथमिकता दिएको जस्तो देखिन्छ', उहाँले भन्नुभयो, 'मसँग काम गर्ने १० जना छन् । उनीहरुले पनि व्यावसायिक तालीम नै लिएर आएका हुन् । तर सहजै विश्वास हुनेगरी सीप सिक्न सकेको देखिएन ।' व्यवसायि न्यौपाने बजारसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नसक्ने तालीमको आवश्यताका रहेको बताउनुहुन्छ