२२ विद्युत् उपभोक्ता समितिको ३८ करोड बक्यौता

२२ विद्युत् उपभोक्ता समितिको ३८ करोड बक्यौता

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २३, २०७७

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिबाट ३७ करोड ८७ लाख ९ हजार २९४ रुपैया बक्यौता रकम उठाउन सकेका छैन् । पर्साका १४ स्थानीय तहमध्ये पोखरीया वितरण केन्द्रको मातहतका १३ स्थानीय तहमा रहेका ३० विद्युत् उपभोक्ता समितिमध्ये २२ वटासँग उक्त रकम बाँकी रहेको केन्द्रका प्रमुख इन्जिनीयर उपेन्द्रनारायण यादवले राससलाई बताउनुभयो । 

कोरोना सङ्क्रमणको कारण लामो समयदेखिको बन्दाबन्दीले उपभोक्ता समितिसँग रकम उठाउन नसकिएको भन्दै केन्द्रका प्रमुख यादवले भन्नुभयो 'समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिले आफ्ना ग्राहकसँग रकम उठाएर प्राधिकरणलाई नतिर्ने परिपाटीको कारण सो रकम हालसम्म उठाउन नसकिएको भए पनि समयमै रकम भुक्तानी गर्न पत्राचार गरिएको छ ।' विगतमा ४१ दशमलव ७३ प्रतिशत चुहावट रहेकोमा कडाइ गरिएपछि सो चुहावट २८ प्रतिशतमा झरेको जनाइएको छ । सो केन्द्रसँग हाल १३ हजार ग्राहक रहेका छन् ।