ब्ल्याक होलको तस्बिर आज सार्वजनिक हुँदै

ब्ल्याक होलको तस्बिर आज सार्वजनिक हुँदै

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  चैत्र २७, २०७५

काठमाडौं । अमेरिकाको नेसनल फाउन्डेसनले बुधबार पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक गर्दैछ । 

ब्ल्याक होलको तस्बिर ‘इभेन्ट होरिजन टेलिस्कोप’ (इएचटी) प्रोजेक्टअन्तर्गत तयार पारिएको हो । ब्ल्याक होल अत्यधिक घनत्व भएको पिण्ड हो । यसको गुरुत्वाकर्षण बल यति शक्तिशाली हुन्छ कि यसले प्रकाशका किरणलाई पनि ‘क्याप्चर’ गर्छ । ब्ल्याक होलबाट प्रकाशका किरण परावर्तित हुन सक्दैनन् । यी अति घनत्व भएका पिण्डलाई सन् १९६७ मा पहिलो पटक जोन आर्किवाल्ड व्हिलरले ब्ल्याक होल नाम दिएका थिए । 

‘इएचटी’ प्रोजेक्टअन्तर्गत आठ रेडियो टेलिस्कोप एन्टेनालाई यसरी समायोजित गरियो कि सबैले एउटा टेलिस्कोपझैं काम गरुन् । सन् २०१७ अप्रिलमा हवाई, एरिजोना, स्पेन, मेक्सिको, चिलीमा आठ रेडियो टेलिस्कोप स्थापना गरिएका थिए । यी टेलिस्कोपको सहायताले ब्रह्माण्डका बेग्लाबेग्लै किनारमा रहेका ब्ल्याक होलसम्बन्धी डाटा जुटाइयो । 
यी सबै टेलिस्कोपबाट जुटाइएको डाटाबाट ब्ल्याक होलको तस्बिर बनाइएको हो । 

वैज्ञानिकले आज कुनै एक ब्ल्याक होलको तस्बिर सार्वजनिक गर्ने भएका छन् । 

एउटा ब्ल्याक होल हाम्रो आकाशगंगा ‘मिल्की वे’को बीचमा रहेको छ । ‘सैजिटेरियस ए’ नाम गरेको यो ब्ल्याक होल ४.४ करोड किमिसम्म फैलिएको छ । यसको तौल सूर्यभन्दा ४० लाख गुणा बढी हुने अनुमान गरिएको छ । 

यसैगरी दोस्रो ब्ल्याक होल ‘एम ८७’ आकाशगंगामा छ । वैज्ञानिकको अनुमान अनुसार यो ब्ल्याक होल ‘सैजिटेरियस ए’ भन्दा १५ सय गुणा भारी हुन सक्छ । 
यी दुईमध्ये कुनै एकको तस्बिर आज सार्वजनिक हुने अनुमान गरिएको छ ।