काठे मोटरेवल पुल निमार्ण गरी गाउँ—गाउँमा यातायात

काठे मोटरेवल पुल निमार्ण गरी गाउँ—गाउँमा यातायात

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २३, २०७७

ताप्लेजुङ । ताप्लेजुङको फक्तताङलुङ गाउँपालिकाले गाउँ—गाउँमा यातायात सेवाको पहुँच पुर्‍याएको छ ।  गाउँपालिकाले तमोर नदीमा चार वटा अस्थायी काठे मोटरेवल पुल निमार्ण गरी गाउँ—गाउँमा यातायात सेवाको पहुँच पुर्‍याएको हो । फक्तताङलुङ गाउँपालिका तमोर नदीको दुई किनारमा पर्दछ । 

गाउँपालिकाको वडा नं १ सावादिन, वडा नं २ खेजेनिम, वडा नं ४ ईखाबु र वडा नं ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछ । त्यस्तै वडा नं ३  लिङखिम, वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पर्दछ । एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न तमोर नदी तर्नुपर्दछ । 

अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएको छ । पक्की मोटरेवल पुल निर्माण सम्पन्न नभइन्जेल गाउँपालिकाले विगत तीन वर्षदेखि अस्थायी काठे मोटरेवल पुल निर्माण गर्दै आएको छ । अस्थायी काठे मोटरेवल पुलबाट गाउँपालिकाको वडा–वडा र गाउँ—गाउँसम्म गाडी सहजै पुग्दै आएको छ । घर आगनमा गाडी आइपग्दा स्थानीयवासी निकै खुशी भएका छन् ।

 तमोर नदीको चार ठाउँमा अस्थायी मोटरेवल पुल निर्माण गरेर स्थानीयवासीलाई यातायातको पहुँच पुर्‍याएको गाउँपालिकाले यो वर्ष वडा नं १ सावादिन र वडा नं ३ लिखिम जोड्न तमोर नदीमा रु तीन लाख ७५ हजारको लागतमा अस्थायी काठे मोटरेवल पुल निर्माण गरेको छ । पुल निर्माणसँगै त्यस क्षेत्रका ९०१ घरपरिवारले यातायातको सेवाबाट लाभान्वित हुनेभएको छ । 

यसैगरी गाउँपालिका– ५ छिरुवा र वडा नं ४ इखाबु गाउँ जोड्न तमोर नदीमा रु तीन लाख ७५ हजारको लागतमा अर्को अस्थायी काठे मोटरेवल निर्माण भएको छ । पुल निर्माणसँगै सो क्षेत्रका ४२२ घरपरिवारले प्रत्यक्ष लाभान्वित हुनेभएको छ । त्यस्तै गाउँपालिकाको केन्द्र तापेथोकदेखि वडा नं ६ साँघु जोड्न तमोर नदीमा स्थायी मोटरेवल पुल निर्माण भएको छ । यो पुल सञ्चालनमा आएपछि त्यस भेगका ३०० घरपरिवारले यातायात सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । 

तापेथोक र लेलेप जोड्ने रानी पुलमा बनेको अस्थायी काठे मोटरेवल पुल सञ्चालनमा आएपछि लेलेप, लुङथुङ, सेकाथुम फले, ग्याप्ला, घन्सा र ओलाङचुङ गोलाका २९९ घरपरिवारले प्रत्यक्ष रुपमा यातायातको सेवाबाट लाभान्वित भएका छन् । 

स्थानीयवासी आवागमनमा सहजता प्रदान गर्नका लागि काठे मोटरेवल पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष सरोज लिम्बूले बताउनुभयो ।