पूर्व सचिवको अनुभव : डा‍. सुधा शर्मा मात्र हाेइन, सिंहदरबारको मेच पनि फनफनी घुमिरहयो !

पूर्व सचिवको अनुभव : डा‍.  सुधा शर्मा मात्र हाेइन, सिंहदरबारको मेच पनि  फनफनी घुमिरहयो !

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  मंसिर २३, २०७७

सिंहदरबारको मेच घुमिरहन्छ  भन्ने त हामी सबैलाई थाहा छ, तर कसरी घुम्छ भन्ने कौतुहलता हामी मध्ये धेरैलाई  थाहा नहुन सक्छ । पेसाले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.सुधा शर्माले 'सिंहदरबारको घुम्ने मेच' नामक पुस्तकमा आफू सचिव पदमा हुँदा भोग्नुपरेका आफ्ना भोगाइहरू यस पुस्तक मार्फत छर्लङ्ग पार्नु भएको छ । मन्त्री र सचिवबिच कार्यको संयोजन तथा एक मन्त्रीले सचिवसँग कसरी काम गर्छन् भन्ने समेत यो पुस्तक पढेपछि थाहा पाउन सकिन्छ । साथै उहाँको यो पुस्तक पढेपछि एक महिला, सचिव पदसम्म पुग्न कति सङ्घर्ष गर्नु पर्छ र पदमा पुगेपछि पनि माथिल्लो पदमा रहेर काम गर्न कति गाह्रो रहेछ भन्ने कुरा उहाँले पुस्तक मार्फत सार्वजनिक गर्नु भएको छ ।

 डा. सुधा शर्मा २०६५ मा कायममुकायम जनसङ्ख्या सचिव बन्नु भएको थियो । यस अधि जनसङ्ख्या सचिवको नियुक्ति हुने गरेको थिएन । स्वास्थ्य मन्त्रालयमा सचिव र जनसङ्ख्या सचिव गरी दुई सचिव नियुक्त गरिएको थियो । एउटा मन्त्रालयमा दुई सचिव रहँदा काम र जिम्मेवारीमा अन्यौलता पनि त्यत्तिकै छाउनु स्वाभाविक थियो । जसरी अहिले नेकपामा दुई अध्यक्ष बनाइएपछि उत्पन्न विवाद हामी सबैलाई थाहा छदैंछ । त्यसैगरी एउटै मन्त्रालयमा दुई सचिवको नियुक्तिले गर्दा काम गर्न पारेको अप्ठेरो यस पुस्तकमा प्रकाश पारिएको छ ।

महिला भएकै कारण प्राथमिकता पर्नु अनि महिला भएकै कारण बारम्बार विस्थापित हुनु परेको आफ्नो तीतो अनुभवको अनुभूति हो पुस्तक । प्रचण्ड नेतृत्वको सरकारमा गिरिराजमणि पोख्रेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुँदा डा. सुधा शर्मा सचिव बन्नु भएको  थियो । त्यति बेला सामान्य प्रशासन मन्त्री पम्फा भुसाल हुनुहुन्थ्यो । सचिव बढुवाको सुची मन्त्री भुसालले हेरेपछि एक जना महिला पनि सुचीमा नदेखे पश्चात् महिला नभएको सुचीबाट कसरी बढुवा हुन्छ भनेर प्रश्न गर्नु भएछ ।

स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले सचिवसँग कुनै समन्वय नगरी काम गर्न थालेका कारण अन्य कर्मचारीहरू सचिवको निर्देशन मान्न जरुरी नठानेको कुरा उहाँले लेख्नु भएको छ । जनसङ्ख्या सचिव प्रवीण मिश्रसँग व्यक्तिगत कुनै समस्या थिएन तर सिस्टममा काम गर्न भने उहाँलाई निकै गाह्रो पर्‍यो । स्वास्थ्य मन्त्री उमाकान्त चौधरी तथा जनसङ्ख्या सचिव प्रवीण मिश्रसँगको मतभेदले गर्दा आफू सचिव हुँदा उहाँलाई काम गर्न निकै अप्ठ्यारो परेको थियो । डा. सुधाले स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हाल्दा माओवादी कोप भाजनको सरकार हुनु भयो ।

माओवादीको मूल एजेन्डा समावेशिता भएका कारण उहाँ मुख्यसचिव घिमिरेको चयनमा पर्नु भएको थियो । निजामती प्रशासनतर्फ त्यो पनि सचिव हुने योग्यता पुगेका महिलाहरू सितिमिति अहिले पनि पाउन मुस्किल छ । उहाँको योग्यता, प्रसूति गृहमा निर्देशक भएर काम गरिसकेको अनुभव र स्त्रीरोग तथा प्रसूति विशेषज्ञका रुपमा काम गरेको २५ वर्षको अनुभव नै उहाँलाई सचिवमा सिफारिस गर्न सक्ने बलिया आधारहरू थिए । त्यसैले त उहाँलाई जनसङ्ख्या सचिवको पद सिर्जना गरेर कायम मुकामको जिम्मेवारी दिइएको रहेछ ।

सचिव भएपछि खुसी नहुने त कुरै थिएन । घरपरिवारदेखि उहाँका सबै शुभचिन्तकहरू निकै खुसी भए । जिम्मेवारी पाएपछि त्यसलाई कुशलतापूर्वक निर्वाह गर्नु नै डा. शर्माले उचित ठान्नु भयो । जनसङ्ख्या सचिव नयाँ पद भएकाले कामको कुनै वर्गीकरण गरिएको थिएन । के काम गर्ने कुनै छुटाइएको थिएन । तर पनि डा. सुधाले जिम्मेवारी पाए पछि काम गर्न नै निरन्तर लाग्नु भयो । सरकारको कार्य विभाजन नियमावली हेरेर जनसङ्ख्या सचिवका लागि कार्य विवरण तयार पारेरै छाड्नु भयो र त्यसै अनुरूप अगाडि बढ्नु भयो ।

जनसङ्ख्या सम्बन्धी पहिल्यै तय भएका कार्यक्रमका अतिरिक्त महिला, प्रजनन स्वास्थ्य, मातृ स्वास्थ्य, बाल स्वास्थ्य लगायत काम हेर्ने र ती कार्यक्रमसँग जोडिएका तालिम, स्वास्थ्य, सूचना, सञ्चार, आपूर्ति, आदि जनसङ्ख्या सचिवले हेर्ने गरी कार्य विभाजन गरियो । कामको थालनी गरेपछि पूरा गरेर छाड्ने अठोटका साथ डा. सुधा निरन्तर अगाडि बढी नै रहनु भयो । उहाँले नै सुरु गर्नु भएको आमा सुरक्षा कार्यक्रम हाल देशव्यापी रुपमा कार्यान्वयनमा छ ।

आमा सुरक्षा कार्यक्रम लागू भएपछि स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको र मातृ मृत्यु दरमा समेत कमी आएको कुरा उहाँले पुस्तकमा उल्लेख गर्नु भएको छ । आङ खस्ने रोगको निःशुल्क उपचार र शल्यक्रिया पनि आफू सचिव हुँदा खेरी नै सुरु गरिएको समेत सप्तकमा लेखिएको छ । कायममुकायम जनसङ्ख्या सचिव रहेर काम गर्दा निकै ठुलो उपलब्धि भएको पनि उहाँले उल्लेख गर्नु भएको छ । तर दुःखको कुरा, कायममुकायम जनसङ्ख्या सचिवबाट उहाँलाई निमित्तमा बढुवा गरिएन । सायद प्रचण्ड सरकारले उहाँलाई काँग्रेसी ठानेर अलपत्र पारेको ठम्याई उहाँको छ । 

२०६६ साल साउनमा सरकार परिवर्तनसँगै उहाँ स्वास्थ्य सचिवमा नियुक्त हुनुभयो भने जनसङ्ख्या सचिवमा डा. प्रवीण मिश्र । स्वास्थ्य सचिवमा नियुक्त भए पनि काम गर्नको लागि सहज वातावरण उहाँको लागि थिएन । स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले सचिवसँग कुनै समन्वय नगरी काम गर्न थालेका कारण अन्य कर्मचारीहरू सचिवको निर्देशन मान्न जरुरी नठानेको कुरा उहाँले लेख्नु भएको छ । जनसङ्ख्या सचिव प्रवीण मिश्रसँग व्यक्तिगत कुनै समस्या थिएन तर सिस्टममा काम गर्न भने उहाँलाई निकै गाह्रो पर्‍यो । स्वास्थ्य मन्त्री उमाकान्त चौधरी तथा जनसङ्ख्या सचिव प्रवीण मिश्रसँगको मतभेदले गर्दा आफू सचिव हुँदा उहाँलाई काम गर्न निकै अप्ठ्यारो परेको थियो । डा. सुधाले स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हाल्दा माओवादी कोप भाजनको सरकार हुनु भयो । ६ महिना पछि नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बन्यो । एमालेका दुई जना प्रधानमन्त्री हुनुभयो र उहाँले राजीनामा दिँदा मधेसी मोर्चाको सहयोगमा बनेको माअ‍ाेवादी सरकार थियो ।

मन्त्री चौधरीसँग परेको खटपटकै कारण उहाँलाई २०६७ वैशाख २० गते फेरी स्वास्थ्य सचिवबाट जनसङ्ख्या सचिवमा सारियो । यस निर्णयले उहाँको कार्यक्षेत्र खुम्चायो भने आफू भन्दा कनिष्ठ व्यक्तिलाई मन्त्रालयको मुख्य जिम्मेवारी दिएर आफ्नो मानमर्दन भएको ठम्याई उहाँको छ । त्यसैले आफ्नो आत्मसम्मानमा ठेस पुग्ने गरी सरकारी सेवाको उच्च पदमा टाँसिएर बस्नुको औचित्य नदेखेपछि उहाँले २०६८ पुस ११ गते स्वास्थ्य मन्त्रालयको सचिव पदबाट राजीनामा दिनु भयो । छिटो छिटो हुने सरकार परिवर्तनसँगै सिंहदरबारको मेच पनि घुमी रहने यथार्थ डा. शर्माले उल्लेख गर्नु भएको छ । 

पुस्तक पढ्दा निकै नै रमाइलो लाग्छ । हाम्रा मन्त्रीहरू आफ्नो  जिम्मेवारी र दायित्वमा कतिको बफादार छन् भन्ने पनि थाहा हुन्छ । सचिवको जिम्मेवारीमा मन्त्रीले कसरी हस्तक्षेप गर्छन् यी सबै कुरा पुस्तकमा पढ्न पाइन्छ । यसै गरी डा. शर्माले राजीनामा पछि युनिसेफ तान्जानियामा उच्च स्तरको स्वास्थ्य र पोषण विभाग प्रमुखको पदमा रहेर काम गर्नु भएको अनुभव पनि पुस्तकमा साट्नु भएको छ ।