खलील जिब्रानका दुई लघुकथा

खलील जिब्रानका दुई लघुकथा

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र २७, २०७५

जागृत अवस्थामा उसले मसँग भन्यो, ‘त्यो विश्व जसमा तिमी रमाइरहेका छौ, अन्त नभएको अनन्त असीम सागर हो र तिमी त्यसको किनारका एउटा कण मात्रै हौ ।’

मैले आफ्नो सपनामा ऊसँग भने,‘म अनन्त सागर हो र यो पूरै सृष्टि मेरो किनारमा रहेको एउटा कण हो ।’

अहं विखण्डन 

बाइब्लसको नयाँ राजा राज्यभिषेक उप्रान्त आफ्नो शयनकक्षमा आए । त्यस शयनकक्षको निर्माण तीनजना सिद्ध तान्त्रिकले विशेषगरी नयाँ राजाका निमित्त निर्माण गरेका थिए । 

राजाले श्रीपेच र शाही पोशाक फुकालेर राज्यको सबैभन्दा शक्तिशाली व्यक्ति को हो भन्ने बारे चिन्तन गर्न थाले । 

एक्कासी उनी पछाडी पट्टि फर्किए । आफ्नो आमाले दिएको चमत्कारिक दर्पणमा उनले एकजना नाङ्गो व्यक्ति कक्षतिर आइरहेको देखे । 

अचम्ममिश्रित स्वरले राजाले सोधे,‘को हो तिमी ?’ 

त्यो नाङ्गो व्यक्तिले जवाफ दिनुको सट्टा भन्यो, ‘राजा मसँग प्रश्न नगर । बरु मलाई यो भन तिमीलाई राजा किन चुनिएको हो ?’

‘किनकि म नै यस देशमा सर्वाधिक आदर्श व्यक्ति हुँ,’ राजाले प्रत्युत्तर दिए । 

नाङ्गोले हाँस्दै भन्यो, ‘तिमी आदर्श व्यक्ति भएको भए राजा हुने थिएनौ !’

राजाले पुनः भने, ‘मलाई राजा यस निमित्त बनाइयो किनकि म यस देशको सर्वाधिक शक्तिशाली व्यक्ति हुँ ।’ 

नाङ्गोले खित्का छाड्दै भन्यो,‘तिमी शक्तिशाली भएको भए राजा बन्ने नै थिएनौ !’

राजाले भएभरको सामथ्र्य जुटाई एक पटक फेरि जवाफ दिए, ‘म सबैभन्दा बुद्धिमान व्यक्ति हुँ त्यसैले राजा चुनिएको हुँ ।’

नाङ्गोले सहज भावले भन्यो, ‘तिमी बुद्धिमान भएको भए राजा बन्न कदापि सहमत हुने थिएनौ ।’ 

यो सुन्नासाथ राजा भुँइमा ढले र विलाप गरी रुन थाले ।

नाङ्गोले राजाको यो दशा हेर्‍यो । कुनामा राखिएको श्रीपेच उठाएर राजाको निहुरिएको टाउकोमा राखिदिएर ऊ राजातिर स्नेहपूर्वक हेर्दै कोठाबाट बाहिरियोे । 

राजा अचम्भित बने । उनले उठेर दर्पणमा हेरे, त्यहाँ उनी बाहेक कोही थिएन् ।