कृषि तथा वनजन्य उद्योगमा सबैभन्दा धेरै लगानी : कृषि उद्योगमा युवाको आकर्षण

कृषि तथा वनजन्य उद्योगमा सबैभन्दा धेरै लगानी : कृषि उद्योगमा युवाको आकर्षण

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २४, २०७७

भरतपुर । जिल्लामा यस आर्थिक वर्षको चार महिनामा ६५६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारीअनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका ६५६ उद्योगमा एक अरब५५ करोड १६ लाख २८ हजार रुपैयाँ लगानी छ । गत वर्ष सोही अवधिमा दर्ता भएका ७५१ उद्योगमा एक अरब ७४ करोड १० लाख ४३ हजार रुपैयाँ लगानी थियो ।

यी उद्योगमा एक हजार ९६२ ले रोगगारी पाएका छन् भने ३७२ पुरुष र ३३९ महिला गरी ७११ जना उद्यमी बनेका छन् । यद्यपि पहिलो चौमासिकमा गत वर्षभन्दा कम उद्योग खुलेका छन् । चितवनमा घरेलु उद्योग कम खुल्ने गरेको पाइएको छ । यस प्रथम चौमासिकको अवधिमा ४७४ साना उद्योग, १७८ लघुउद्यम र चार घरेलु उद्योग दर्ता भएका छन् । यस आवको साउनबाट कार्यालयमा लघु उद्योग दर्ता नहुने कार्यालयका सूचना अधिकारी सुदर्शन पौडेलले जानकारी दिनुभयो । अहिले लघु उद्योगको दर्ता स्थानीय तहमा नै हुने गरेको छ ।

पहिलो चौमासिकमा दर्ता भएका उद्योगमा कृषि तथा वनजन्यतर्फ मात्र ४७८ उद्योग दर्ता भएका छन् । यसतर्फ युवाहरुको बढी आकर्षण भएको पाइएको छ । यस्तै उत्पादनमूलकमा ६२, पर्यटनमूलकमा ६२, सेवामूलक ५४ उद्योग दर्ता भएका छन् । ऊर्जामूलक, निर्माणमूलक, विज्ञान तथा सूचना प्रविधिमूलक र खनिजजन्यमा कुनै उद्योग दर्ता भएका छैनन् । यस्तै चार महिनाको अवधिमा ७२४ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योग बन्द भएका छन् । दर्ता भएको पाँच वर्षपछि पहिलोपटक नवीकरण गर्नुपर्छ भने त्यसपछि हरेक दुई–दुई वर्षमा नवीकरण गर्नुपर्ने पौडेल बताउनुहुन्छ । त्यस्तै चार महिनामा ९७ उद्योगले २३ करोड ८० लाख ८९ हजार लगानी बढाएका छन् ।

चितवनमा हाल १३ हजार १४५ साना तथा घरेलु उद्योग सञ्चालित छन् । तीमध्ये १२ हजार ५९६ पुरुष र तीन हजार ४१७ महिला गरी १६ हजार १३ उद्यमी छन् भने ५५ हजार ४९८ जनाले रोजगारी पाएका छन् । ती उद्योगमा कूल २४ अरब नौ करोड ११ लाख एक हजार रुपैयाँ लागानी रहेको छ । कृषि तथा वनजन्य उद्योगमा सबैभन्दा धेरै लगानी रहेको छ भने ऊर्जामूलक उद्योगमा सबैभन्दा कम लगानी छ । कार्यालयले पाँच लाखदेखि पाँच करोड रुपैयाँ सम्म स्थिर पूँजी भएका उद्योग दर्ता गर्दै आएको छ । त्योभन्दा माथि पूँजी भएका उद्योग हेटौँडा र काठमाडौँमा दर्ता हुने गर्छन् ।