विकासको पखाईमा कोशी प्रस्रवण क्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थल

विकासको पखाईमा कोशी प्रस्रवण क्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थल

प्रा.डा. सोमप्रसाद खतिवडा  |  पर्यटन  |  चैत्र २७, २०७५

नेपालको सबैभन्दा ठूलो सप्तकोशी नदीको सिंचित क्षेत्रलाई कोशी प्रस्रवण क्षेत्र मानिएको छ । यो क्षेत्र पूर्वमा कञ्चनजंघा हिमालदेखि पश्चिममा गोसाइँकुण्डसम्म पर्छ । रसुवाको केही भाग, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली पनि कोशी प्रस्रवण क्षेत्रमा पर्छन् । नदीका दृष्टिले तराईमा भने बाग्मती नदीदेखि पूर्वको भाग कोशी प्रस्रवण क्षेत्रको मानिन्छ । तर, अध्ययनका सरलताका दृष्टिले प्रदेश नं. १ को सम्पूर्ण भूभागलाई कोशी प्रस्रवण क्षेत्र मानिएको छ । यसमा कोशी पूर्वका सबै जिल्ला तथा कोशी पश्चिमका सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, खोटाङ र उदयपुरलाई लिइएको छ । धार्मिक तथा पर्यटन विकासका दृष्टिले यो सम्पूर्ण भूभाग धेरै सम्भावना बोकेको स्थान हो । यहाँ विश्वको सवैभन्दा अग्लो हिमाल सगरमाथा, विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजंघा र विभिन्न उचाइका मकालु, ल्होत्से र नुप्से लगायतका हिमटाकुरा छन् । यता विश्व सम्पदामा सूचीकृत मकालु वरूण राष्ट्रिय निकुञ्ज र विश्व रामसार क्षेत्रमा सूचीकृत कोशिटप्पु तथा माईपोखरी सिमसार क्षेत्र पनि यसै क्षेत्रमा पर्छन् । नेपालकै सबैभन्दा होचो भाग केचनाकल र विश्वको सबैभन्दा होचो नदी उपत्यका अरूण उपत्यका पनि यसै क्षेत्रमा छन् । यता नेपालको सबैभन्दा ठूलो नदी, अनेकन कुण्ड, ताल, झरना, नदी, खोला, पहाड, खोंच, भीर, पाखा, जंगल, जीवजन्तु र वनस्पति यसै प्रदेशमा पर्छन् । विश्वको एउटामात्र अद्भूत स्थल, जुन स्थानमा तीनतिर तीनवटा देशका आरक्ष र निकुञ्ज छन्, त्यो पनि यसै प्रदेशमा पर्छन् । उक्त सम्पदा कञ्चनजंघा आरक्ष क्षेत्र हो । एसियाकै सबैभन्दा अग्लो झरना ह्यातुंङ यसै प्रदेशको तेह्रथुममा पर्छ । संसारमा कतै नपाइने कतिपय चराचुरूंगी, किटपतंग, वनस्पति र जीवजन्तु नेपालको यसै प्रदेशमा मात्र पाइने गर्छन् । 

प्राकृतिक मात्र नभएर सांस्कृतिक रूपमा पनि कोशी प्रस्रवण क्षेत्र ज्यादै सम्पन्न र महत्वपूर्ण छ । यो पर्यटन विकासका लागि नेपालकै अति धेरै सम्भावना बोकेको स्थान मानिन्छ । धिमाल, मेचे, किसान, राजवंशी, सतार, वालुंग, सेर्पा, लेप्चा र अन्य धेरै अल्पसंख्यक तथा आदिवासी सांस्कृतिक समुदायको मूल थलो यही हो । लिम्बु र राई लगायतका जातजाति पनि यसै क्षेत्रलाई आप्mनो मूल थलो बनाएर आदिम कालदेखि बसिरहेका छन् । तिनका अद्भूत सांस्कृतिक गतिविधि, कला, खानपान र भेषभूषा पर्यटकका आकर्षणका केन्द्रविन्दु बन्न सक्छन् । यता यहाँका मठमन्दिरको सवालमा पनि देशकै प्रख्यात मठमन्दिर तथा धार्मिक स्थल यस भेगमा छन् । वराहक्षेत्र, विष्णुपादुका, पाथीभरा र हलेसी आदि ज्यादै पुराना तीर्थ यसै क्षेत्रमा छन् । नेपालको सबैभन्दा ठूलो तथा दक्षिण एसियाको दोस्रो ठूलो जात्रा राधाकृष्णको रथजात्रा यसै प्रदेशमा गरिन्छ । ऐतिहासिकता र पुरातत्वका दृष्टिले पनि यो प्रदेश अति समुन्नत छ । विराटराजा दरबार क्षेत्र, विजयपुरगढी, साँगुरीगढी, उदयपुरगढी, चौदण्डीगढी लगायतका पुराना गढी र पुरातात्विक अवशेषले यस भेगको ऐतिहासिकता तथा प्राचीनता झल्काएका छन् । उपत्यकामा गोपालले शासनको सुरूवात गर्दाताका यस भेगमा नागा र बोरोका बसोबास रहेको इतिहास पाइन्छ । तसर्थ, यस क्षेत्रको ऐतिहासिकता पनि निकै महत्वपूर्ण छ । यी सबै विषयवस्तु पर्यटनसँग निकट रहने गर्छन् । 

सवैभन्दा अग्लो हिमाल सगरमाथा, विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजंघा र विभिन्न उचाइका मकालु, ल्होत्से र नुप्से लगायतका हिमटाकुरा छन् । यता विश्व सम्पदामा सूचीकृत मकालु वरूण राष्ट्रिय निकुञ्ज र विश्व रामसार क्षेत्रमा सूचीकृत कोशिटप्पु तथा माईपोखरी सिमसार क्षेत्र पनि यसै क्षेत्रमा पर्छन् । नेपालकै सबैभन्दा होचो भाग केचनाकल र विश्वको सबैभन्दा होचो नदी उपत्यका अरूण उपत्यका पनि यसै क्षेत्रमा छन् । यता नेपालको सबैभन्दा ठूलो नदी, अनेकन कुण्ड, ताल, झरना, नदी, खोला, पहाड, खोंच, भीर, पाखा, जंगल, जीवजन्तु र वनस्पति यसै प्रदेशमा पर्छन् ।

कोशी प्रस्रवण क्षेत्रमा विगतमा अनेकन् सिद्ध व्यक्ति जन्मिए, कैयन् ऋषिमुनिले तपस्या गरे र ज्ञानगुनले भरपुर बनाए । कौशिकी, सृंगी, अष्टावक्र, ऋष्यसृंग, च्यवन, दुर्वाशा, पिप्पलाद, मार्कण्डेय, मातंग, याज्ञावल्क्य, रैभ्य, वशिष्ठ, बालखिल्य, विभाण्डक, वाचस्पति, विश्वामित्र, विष्णुशर्मा, सत्यकामा, सुकर्मा, सुश्रुत, बाघम्बर, चिताम्बर, वनखण्डी र औलियाबाबा लगायतका ऋषि, चिन्तक, विद्वान् र जोगी तथा सन्यासीको तपस्थली तथा मूल थलो कोशी प्रस्रवण क्षेत्र नै थियो । तिनीहरूले प्रादुर्भाव गरेको ज्ञानगुनले नेपालको अन्य क्षेत्रमात्र नभएर भारतका ठूलो क्षेत्रमा पनि प्रभाव पारेको पाइएको छ । यस क्षेत्रमा अनगिन्ती धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । तिनीहरूमध्ये धेरै अति प्राचीन छन् भने कतिपय अर्वाचिन पनि छन् । यस्ता सबै प्रकारका स्थल र गतिविधिलाई पर्यटन विकासका क्षेत्रमा प्रयोग गरिएमा हाम्रो गौरव बढ्नुका साथै यहाँको पर्यटनको विकास भई स्थानीय विकासमा पनि सहयोग पुग्ने निश्चित छ । यहाँका कतिपय धार्मिक तथा पर्यटकीय क्षेत्र विश्वभर परिचित छन् । अन्य कतिपय भने प्रचारप्रसार र विकासको पर्खाइमा पनि छन् । तिनीहरूको खोजी गरी विकास र प्रचारप्रसार गरिएको खण्डमा यिनीहरू देशको गौरवका रूपमा स्थापित हुने निश्चित छ । तसर्थ यहाँ कोशी प्रस्रवण क्षेत्रका यसमा पनि विशेषगरी प्रदेश नं. १ का धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन गरिएको छ । 

अध्ययनको उद्देश्य 

प्रस्तुत कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको अध्ययनका मुख्य उद्देश्य निम्नानुसारका छन् ।  

१) कोशी प्रस्रवण क्षेत्रका मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रको खोजी र पहिचान गर्ने । 

२) त्यस्ता क्षेत्रहरूको पर्यटकीय महत्व दर्साउने ।

३) तिनीहरूको वर्तमान अवस्था खोजी गर्ने ।   

४) यस क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको पर्यटन विकासका सम्भावना उजागर गर्ने ।

औचित्य र महत्व

कुनै पनि स्थानको सर्वोपरि विकासका लागि सर्वप्रथम त्यस क्षेत्रका विविध विषयवस्तुका बारेमा शोध, खोज र अुनसन्धान हुन आवश्यक छ । त्यस्तै, धार्मिक र सांस्कृतिक विषयवस्तु मानिसको भावनासँग सम्बन्धित हुन्छन्, जसको विकासबाट मात्र दिगो विकास सम्भव हुने भएकाले त्यस्ता स्थानको शोध, खोज तथा अनुसन्धान हुन पनि त्यत्तिकै आवश्यक छ । तर, कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको हालसम्म राम्रोसँग शोध, खोज र अनुसन्धान हुन सकेको छैन । तसर्थ, तिनीहरूको खोजी हुन आवश्यक भएको हो । कुनै पनि स्थानमा पर्यटन विकासको सम्भावना बोकेका स्थान र वस्तुहरू पहिचान भएपछि तिनको महत्व उजागर गरिनुपर्छ र तिनीहरूको प्रचारप्रसार गर्न आवश्यक हुन्छ । नेपालको कोशी प्रस्रवण क्षेत्र पर्यटन विकासको सम्भावना अति धेरै मात्रामा बोकेको प्रदेश हो । यहाँको मुख्य पर्यटन धार्मिक तथा सांस्कृतिक हुने देखिन्छ । तर, हालसम्म यस्ता सम्भावनाको खोजी भई नसकेको हुँदा यो शोध, खोज तथा प्रकाशन गर्न प्रयास गरिएको हो । यस्ता स्थानको पहिचान गरी विकास र प्रचारप्रसार भएको अवस्थामा धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा विकास भई स्वदेशी मात्र नभई विदेशी पर्यटक समेत यस भेगमा आउने सम्भावना बढेर जाने गर्छ । यसले यस प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने हुँदा यो कार्यक्रम औचित्यपूर्ण र महत्वपूर्ण पनि छ ।   

अध्ययनका सिमा

प्रस्तुत अध्ययन कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको अध्ययनसँग सम्बन्धित छ । वास्तवमा पर्यटकीय वस्तु जुनसुकै प्रकारका पनि हुन सक्छन् । तिनीहरू वस्तुमात्र नभएर आचरण, धारणा, शोच, उत्सव, मेला र अन्य राम्रा तथा नराम्रा सबै प्रकारका क्रियाकलाप पनि हुने गर्छन् । तर, यहाँ धार्मिक पर्यटकीय स्थलको मात्र अध्ययन गरिएको छ । यहाँका प्राकृतिक वस्तु, जस्तै ः हिमाल, ताल, झरना, जंगल, पहाड, खोंच, उपत्यका र जीवजन्तु लगायत मानव क्रियाकलाप, जस्तैः पर्व, जात्रा, उत्सव, नृत्य, मेला, गायन र संस्कारलाई समावेश गरिएको छैन । पर्यटकीय वस्तु जस्तो जातजाति तथा तिनको संस्कृति, अतिथि सम्मान र शिक्षा लगायतका विषयवस्तुलाई पनि यहाँ समावेश गरिएको छैन । यसमा मठमन्दिर, विहार, गुम्बा र अन्य धार्मिक वस्तुलाई भन्दा पनि धार्मिक पर्यटकीय स्थलको अध्ययनलाई मात्र समावेश गरिएको छ । भौगोलिक रूपमा भने यस अध्ययनमा नेपालको प्रदेश नं. १ का धार्मिक तथा पर्यटकीय स्थलको अध्ययन गरिएको छ ।  

अध्ययन विधि

कोशी प्रस्रवण क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थलको अध्ययन गर्ने क्रममा सर्वप्रथम विभिन्न विधि प्रयोग गरी तथ्यांक या सूचना संकलन गरिएको छ । त्यसपछि त्यस्ता सूचनाको विश्लेषण गरी यो कार्यपत्र लेख्ने कार्य गरिएको छ । अन्तमा यस्ता विधिबाट तथ्यांक संकलन गरेपछि तिनीहरूको अध्ययन, तुलना तथा विश्लेषण गरी यो कार्यपत्र तयार पारिएको हो । यो कार्यपत्र तयारीका लागि तथ्यांक संकलन गर्न निम्नानुसारका विधि अवलम्बन गरिएको छ ।

क) प्राथमिक तथ्यांक संकलन विधि 

कोशी प्रस्रवण क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन गर्ने क्रममा सर्वप्रथम यहाँका सम्भाव्य पर्यटकीय क्षेत्र खोजी गरिएका छन् । यसका लागि यस क्षेत्रका विभिन्न स्थानमा बसोबास गर्ने सम्बद्ध व्यक्तिसँग अन्तरवार्ता लिने र त्यस्ता क्षेत्रको भ्रमण गरिएको छ । यसबाट त्यस्ता क्षेत्रको पर्यटन विकासका सम्भावना पत्ता लगाइएका छन् । यसरी प्रत्यक्ष अवलोकन तथा सम्बद्ध व्यक्तिसँगको अन्तरवार्ताबाट पनि प्राथमिक सूचना संकलन गरिएका छन् । लामो समयदेखि यस भेगका विभिन्न स्थानको भ्रमण गरी धार्मिक तथा पर्यटकीय क्षेको अवलोकन गर्ने तथा अन्तरवार्ता लगायतका विधि प्रयोग गरी सम्बन्धित विषयका विज्ञ, धार्मिक क्षेत्रका पुजारी, ज्ञाता तथा स्थानीयसँगबाट पनि प्राथमिक तथ्यांक संकलन गरी यस अध्ययनलाई पूर्णता दिइएको छ । यसका लेखकले विभिन्न समयमा गरेका यस क्षेत्रसँग सम्बन्धित विभिन्न प्रकारका पुराना शोध, खोज र अनुसन्धानबाट पनि अनुभव प्राप्त भएको छ र आप्mनो अनुभवसिद्ध ज्ञानलाई पनि यसमा प्रयोग गरिएको छ । 

ख) द्वितीयक तथ्यांक संकलन विधि 

प्रस्तुत कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन गर्न विभिन्न स्थानबाट प्रकाशित पुस्तक, ब्रोसर, लेखरचना तथा सूचना द्वितीयक तथ्यांकका रूपमा रहेका छन् । तिनीहरू विभिन्न स्थानबाट खोजी तथा प्राप्त गरिएका छन् । यसैगरी कतिपय स्थानको पर्यटन विकासको सम्भावना नेटको माध्यमबाट पनि अध्ययन गरिएको छ । अन्तमा प्राथमिक र द्वितीयक दुवै प्रकारका सूचनाहरूको अध्ययन तथा विश्लेषण र तुलना गरेर यो अध्ययन पूरा गरिएको छ । विषयवस्तुको प्रकृतिअनुसार यो अध्ययन विश्लेषणात्मक र अन्वेषणात्मक प्रकृतिको रहेको छ ।

प्रा.डा. सोमप्रसाद खतिवडाले नेपाल प्रज्ञा–प्रतिष्ठान तथा दमक नगरपालिका, दमक प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आयोजित प्रदेश नं. १ स्तरीय त्रिदिवसीय बृहत् वाङ्मय सङ्गोष्ठी– २०७५ मा प्रस्तुत ‘कोशी प्रस्रवण क्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थलहरू’ विषयक कार्यपत्रलाई आलेखको रूपमा प्रस्तुत गरेका छौ । कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलः पाथिभरादेखि अर्जुनधारासम्म, कोटीहोमदेखि राधाकृष्ण रथजात्रासम्म, लक्ष्मीनारायणदेखि बूढासुब्बासम्म, पञ्चकन्यादेखि हलेसीमहादेवसम्म, वराहपोखरीदेखि हतुवागढीसम्म क्रमशः प्रकाशन गरिनेछ ।