उद्योगपति दिवाकर गोल्छाको निधन

उद्योगपति दिवाकर गोल्छाको निधन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २७, २०७५

उद्योगपति दिवाकर गोल्छाको उपचारका क्रममा भारतमा निधन भएको छ। भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै मंगलबार राति ६७ वर्षीय गोल्छाको निधन भएको हो। उनी मृर्गौला रोगबाट पिडित  थिए। दिवाकर गोल्छा नेपालको अग्रणी उद्योगी गोल्छा परिवारका सदस्य हुन् । 

विराटनगरका उद्योगपति रामलाल गोल्छाले स्थापना गरेको गोल्छा अर्गनाइजेसन नेपालकै अग्रणी उद्योगी समूह हो। रामलालका दुई छोरा हुलासचन्द्र र हंसराज गोल्छा थिए। दिवाकर हंसराजका छोरा हुन्। गोल्छा परिवारका अन्य सदस्य लोकमान्य, सुरेन्द्र, राजेन्द्र, शेखर, सञ्जय, राजकुमारले अहिले पनि महत्वपूर्ण उद्योग व्यवसायको नेतृत्व गरिरहेका छन्। 

गोल्छा अर्गनाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका दिवाकरले हुलास जस्तापाता, हुलास वायर, चिनी मिल तथा खाद्यन्न मिलहरूको स्थापनामा नेतृत्व लिएका थिए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष गोल्छा महासंघका वर्तमान प्रथम उपाध्यक्ष शेखर गोल्छाका दाजु हुन्।

उनी २०६४ सालको संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद बनेका थिए।

दिवाकरको पार्थिव शरिरलाई आजै काठमाडौं ल्याएर बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।