‘राष्ट्रिय मातृभाषा कविता महोत्सव-२०२०’ मा वाचित कविताहरूको सँगालो ‘मातृभाषाका कविता’ प्रकाशित

‘राष्ट्रिय मातृभाषा कविता महोत्सव-२०२०’ मा वाचित कविताहरूको सँगालो ‘मातृभाषाका कविता’  प्रकाशित

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर २५, २०७७

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा गत फागुन ९ गते (२१ फ्रेबु्रअरी)  का दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आयोजित ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव–२०२०’मा वाचित कविताहरूको सँगालो ‘मातृभाषाका कविता’ नामक पुस्तक प्रकाशित भएको छ ।

पुस्तककी प्रधान सम्पादक साहित्य (मातृभाषा) विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीका अनुसार महोत्सवमा वाचन गरिएका ५४ भाषाका १५६ ओटा कविता सँगालोमा समेटिएका छन् । जसमा बाम्बुले राई, अवधि, अठार मगर खाम, आठपहरिया, उर्दू, उराँव, काइके मगर, किसान, कुमाल कुलुङ, केवरत, खस, खालिङ, गुरुङ, घले, जिरेल, चाम्लिङराई, छन्त्याल, डङ्गौरा थारु, डोड्याली, ढुट मगर ताजपुरिया, तामाङ, तीन गाउँले थकाली, थामी, थुलुङ, दनुवार र दुमी भाषाका कविता रहेका छन् ।

त्यसैगरी सँगालोमा दुरा, देवास राई, धिमाल, नाछिरिङ, नेपाल भाषा, पुमा राई, पूर्वी थारु, बज्जिका, बान्ताना राई, बाहिङ, बुड्लावा राई, ब्याँसी, भोजपुरी, मगही, माझी, मुगाल, मेवाहाङ, मैथली, याक्खा, राजवंशी, राना थारु, वाम्बुले राई, लिम्बू, लोवा, शेर्पा र संस्कृत भाषाका कविता छन् ।

पुस्तकको सम्पादकमा पदम राई र सम्पादक सहयोगीमा डा.रामदयाल राकेश, कृष्णभक्त बोडे, भोगीराज चाम्लिङ र कृष्णराज सर्वहारी रहनुभएको छ ।

पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष र मकालु प्रकाशन गृहको आधिकारिक वितरणमा मुलुकका सात ओटै प्रदेशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध प्रतिष्ठानले जनाएको छ ।