एनसिई नेपाल आयोगको प्रतिवेदन छपाइमा गल्ती भएको भए क्षमा माग्दै सच्याउन तयार ! (विज्ञप्तिसहित)

एनसिई नेपाल आयोगको प्रतिवेदन छपाइमा गल्ती भएको भए क्षमा माग्दै सच्याउन तयार ! (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर २५, २०७७

काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रेस विज्ञप्तिप्रति  ध्यानाकर्षण जनाएकाे छ । 

एनसिई नेपालका अध्यक्ष  डिल्लीराम सुवेदी २०७७ मंसिर २५ गते बिहिबार जारी विज्ञप्तिमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगकाे प्रतिवेदन छपाईका क्रममा हामीबाट प्राविधिक एवं प्रक्रियागत त्रुटि भएको मन्त्रालयको ठहरप्रति हामी गम्भीर भएका छौं र गल्ति भएको भए क्षमाप्रार्थी रहँदै शिक्षा मन्त्रालयसँग संवाद गरेर सच्याउन पनि तयार रहेको जनाएको छ।

शिक्षाका लागि राष्ट्रिय अभियानले जारी गरेकाे पूर्णपाठ

मिति २०७७/०८/१९ गते तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका १३ जना सदस्यहरूको निर्णय र आयोजनामा एक कार्यक्रममार्फत् सो आयोगको प्रतिवेदन सार्वजनिक भएको थियो । यसै विषयलाई लिएर मिति २०७७/०८/२१ गते एक प्रेस विज्ञप्तिमार्फत् शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) र यसको सदस्य संस्था ग्लोबल एक्सन नेपालसँग सम्बन्ध बिच्छेद गर्ने र आवश्यक कानूनी कार्बाही गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउने भन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

आयोगको प्रतिवेदन सार्वजनिक भई यसमाथि गहिरो विमर्श होस् र यसका सकारात्मक सिफारिशहरु लागू भई मुलुकको सार्वजनिक शिक्षा प्रणालीको गुणस्तर सुधारमा थप योगदान पुगोस् भन्नेबाहेक हाम्रो अन्य कुनै मनसाय थिएन र छैन । अनौपचारिक रुपमा यसभन्दा अघि पनि सो प्रतिवेदन मन्त्रालयको नाम र निशाना छापसहित विभिन्न सञ्चार माध्यममार्फत् सार्वजनिक भयो । यसैबीच तत्कालीन आयोगका बहुमत सदस्यहरूबाट प्रतिवेदनको पिडिएफ प्रतिसहित एनसिई नेपाललाई गरेको अनुरोध स्वीकार्दै हामीले केवल छपाइ कार्यमा सहयोग गरेका हौं । हाम्रो सदस्य संस्था ग्लोबल एक्सन नेपालले यस कार्यमा ऐक्यबद्धता जनाउन आंशिक योगदान गरेको हो । हामीलाई आयोगका सदस्यहरुबाट प्राप्त पिडिएफ कपीमा मन्त्रालयको नाम र निशाना छाप प्रतिवेदनको अङ्गका रूपमा रहेको र प्रतिवेदन सार्वजनिकीकरणलाई एक रचनात्मक योगदानको रुपमा लिँदै सोको नैतिक एवं कानूनी जिम्मेवारी आयोगका उल्लिखित पूर्व सदस्यहरुमै रहेको ब्यहोरा मिति २०७७/०८/२२ मा उहाँहरुबाट प्रकाशित विज्ञप्तिले नै स्पष्ट पारिसकेको छ । तथापि, प्रतिवेदन छपाईका क्रममा हामीबाट प्राविधिक एवं प्रक्रियागत त्रुटि भएको मन्त्रालयको ठहरप्रति हामी गम्भीर भएका छौं र गल्ति भएको भए क्षमाप्रार्थी रहँदै शिक्षा मन्त्रालयसँग संवाद गरेर सच्याउन पनि तयार छौं । असमझदारीको समाधानका लागि छलफल र संवादको बाटोबाट समाधान निकाल्न हामी प्रतिबद्ध रहेकाले आवश्यक वातावरण बनाउन मन्त्रालयसमक्ष अनुरोध समेत गर्दछौं ।

शिक्षासम्बद्ध ४०९ भन्दा बढी नागरिक संस्थाहरूको राष्ट्रिय कार्य समितिको हैसियतमा यस कार्यमा सहयोग गर्दा कुनै प्रकारको नाफामूलक उद्देश्य नरहेको स्पष्ट पार्न चाहन्छौं । सन् २००३ देखि शिक्षाका लागि विश्वव्यापी अभियान (Global Campaign for Education) को नेपाल च्याप्टरको रुपमा समेत रही सरकारलाई रचनात्मक सहयोग पुर्‍याउँदै आएको पृष्ठभूमिमा आगामी दिनमा पनि हामी नेपाल सरकारसँगको सहकार्य, साझेदारी र समन्वयका लागि प्रतिबद्ध रहेको हुँदा मन्त्रालयसमक्ष मिति २०७७/०८/२१ गतेको निर्णय माथि पुनर्विचार गरी सहकार्यका साथ अगाडि बढ्न आग्रह गर्दछौं ।
धन्यवाद !
 
डिल्लीराम सुवेदी, अध्यक्ष
एनसिई नेपाल
२०७७ मंसिर २५ गते ।