प्रहरी क्याम्प बन्यो वीर अस्पताल

प्रहरी क्याम्प बन्यो वीर अस्पताल

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले देशभरका सरकारी अस्पतालमा सेवा सञ्चालन भए–नभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा अवरुद्ध पारेको ६ दिन भइसकेको छ । तर, अस्पताल विकास समितिका चिकित्सकले बुधबार भने दैनिक एकदेखि दुई घन्टा सेवा सञ्चालन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका तीन सय सरकारी स्वास्थ्य संस्थामा आंशिक सेवा सञ्चालन गरिएको छ । 

डाक्टर आन्दोलनको प्रभावका आधारमा सरकारी धारणा बनाउने उद्देश्यले प्रधानमन्त्रीले देशभरका अस्पतालमा सेवाको अवस्था बुझ्न खोजेको हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए । 

सरकारी चिकित्सक संघ (गोदान) को अगुवाइमा अस्पतालको ओपिडी र अप्रेसन सेवा ठप्प पारिएको छ । सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा परेका छन् । सरकारी अस्पतालमा दैनिक ४० हजारभन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिँदै आएका थिए ।

‘एक घण्टामा समाधान हुने विषय छ । तर प्रधानमन्त्रीले डाक्टरलाई झन् पेल्ने उद्देश्य देखाए,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘यसले डाक्टरलाई सेवामा फर्काउनेभन्दा आन्दोलनमा उक्साउन सक्छ । यसको समाधान तत्काल खोजिनुपर्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।