लामा डेचेन र मेरो जीवनको मूलमन्त्र : 'टु हेल्प अदर्स इन स्पिरिचुअल  पाथ'

लामा डेचेन र मेरो जीवनको मूलमन्त्र : 'टु हेल्प अदर्स इन स्पिरिचुअल  पाथ'

ज्ञानमित्र  |  साहित्य  |  मंसिर २६, २०७७

 बुद्धको  चार आर्य सत्यकै चीरहरण गरी दिने उनकै बुद्ध साहित्य, उनी त वेदान्ती पनि रहेछन !

जीवनमा कुनै वाद, मत वा दर्शनबाट कहिल्यै पूर्ण सहमत  हुन सकिन । मेरो दिदीले दर्शनशास्त्रमा मास्टर्स गरेकी थिइन, घरमा रहेका उनका पुस्तकबाट मैले विभिन्न धर्मको विवेचना छात्र जीवनमै पढी सकेको थिए। यस अध्ययनको निष्कर्ष थियो - कुनै धर्म पनि आफैंमा पूर्ण छैनन्  । कुनै शंकाको समाधान हिन्दु धर्मले हुन्छ भने केही  प्रश्नलाई यसले अति  प्रश्न भनी ख़ारिज  गरिदिन्छ ।

 यस्तै बौद्ध धर्मले जीवन र जगतको व्याख्या गर्दै लैजान्छ । तर मानव मनका भित्तिमा रहेका सबै जिज्ञासा भने  यसले पनि मेट्न सक्दैन । कसैको  अथवा कुनै शंकाको समाधान 'ताओइज्म'ले सटीकता साथ  दिन्छ भने कुनैको ‘जैनिज्मले’ । अनेकौं उपनिषद्ले अनेकौं तबरले चर्चा परिचर्चा गरे पनि मानव मनलाई  उनले  दिएको समाधानबाट पूर्ण सन्तुष्टि प्राप्त हुँदैन    । मूल प्रश्नको वरिपरि रहेर अनेकौं प्रश्नमाथि टीका टिप्पणी हुन्छन  तर मूल प्रश्न भने सधै अनुत्तरित नै रहन्छ ।

सबै मत, वाद र दर्शनका  प्रवर्तकहरु र अहिलेका राजनीतिक पुरुषहरु उस्ताको उस्तै लाग्छन् । भारतीय टेलीभिजनबाट सम-सामयिक  विषयमा हुने गरेका ‘टक शो’ का दौरान प्रस्टै देखिन्छ । प्रश्न आफ्नो अनुकुल भएन भने वक्ता प्रश्नका वरिपरि अथवा विगतका घटनाक्रमलाई मिसाएर जबाफ दिई एवम् रीतले प्रतिपक्षी  माथि दोषारोपण गरेर आफ्नो  विद्धता प्रदर्शन गरी रहेका  हुन्छन् ।

 नेता रहेछन् दुबै, धार्मिक नेता, राजनीतिक नेता । सनातन हिन्दु परिवार र प्रष्ठमूमिमा जन्मेको, हुर्केको हुनाले रामायण, गीता, महाभारत, उपनिषद् लगाएतका थोरबहुत वेद र पुराणहरु  मैले पनि सुनेको / पढेको थिँए । गीता र रामायण भने धेरै पटक नै पढे । हिन्दु समाजमा यी दुबै ग्रन्थ अति नै पुज्जीय मानिन्छन्।  सबै गुरु र  महापुरुषले यी दुबै माथि बोलेर यिनको  महत्व स्थापित गरेको जो कोहीलाई पनि विदित नै छ।  । मैले पनि आफ्ना अनेकौं लेख-रचनामा अनेकौं पटक यी ग्रन्थको उदाहरण दिएको छु , ‘आफू केही नबुझे पनि अरुलाई बुझाउने शाश्वत धृष्टता  गरेको छु, गरी नै रहेको छु  ।

मानिस सधैं कुनै वाद वा मत वा दर्शनमा अल्झिएकै हुने रहेछ।  कुरा भने उसले  स्वतन्त्रताको गरे पनि  उ आफैले भने  आफ्नो आस्था र विश्वास कही न कही बन्धकी राखेकै हुन्छ ।

यही प्रसङ्गमा  याद आउँछ बनेपाको एउटा कार्यक्रम, जनमत प्रकाशनले एउटा साहित्यिक सम्मलेनको आयोजना गरेको थियो।  सरुभक्तले सम्बोधनका क्रममा, आफु कुनै वादी नभएको भनी स्पष्ट पार्नु भयो।  लगत्तै एउटा मार्क्सवादी वक्ताले उहाँको खण्डन गर्दै उहाँ कुनै न कुनै वादी भएको अथवा कुनै वादी नभए उहाँ शून्यवादी भएको भनेर आफ्नो श्लाघा प्रदर्शित गर्नु भयो। ।  कम्युनिस्टहरुसँग आफूसँग सहमत नहुने, आफ्नो भनाइमा नहिड्ने, विरोधी वा विपक्षीका लागि प्रयोग गर्ने अनेक शब्दावली हुन्छन्।  प्रतिक्रान्तिकारी, संशोधनवादी, विस्तारवादी, आत्मसमर्पणवादी, गद्दार,  इतर मार्क्सवादी, विसर्जनवादी आदि आदि जस्ता शब्दावली  कम्युनिस्टहरु कै देन हुन्।  

मैले ‘चिनजानै नभएको व्यक्तिसँग सानो भेटले के नै लाभ’ हुने मनसाय व्यक्त गर्दा उनले भनिन्- तिमीले उहाँलाई चिनेका छैनौं  तर उहाँले तिमीलाई नभेटे पनि चिन्नुहुन्छ।  व्यक्तिका  बारेमा सुनेकै भरमा उहाँमा व्यक्ति चिन्ने क्षमता छ  मैले हाम्रो पहिलो भेटका बारेमा उहाँलाई भनेकी थिए । सुने पछी उहाँको तिम्रो बारेमा 'कमेन्ट' थियो- ‘उ  बोधिसत्वमार्गी उन्नत आत्मा हो, उसको संगतले तिम्रो (हालिनाको) साधनामा अभूतपूर्ण प्रगति हुन्छ' ।

सरुभक्त कम्युनिस्ट आँखामा शून्यवादी, विसर्जनवादी,स्वेच्छाचारी हुनु भयो।  जतिसुकै स्वन्त्रतताको वकालत गरे पनि राजनीति ,समाज र धर्म वैयक्तिक स्वतन्त्रता दिन चाहँदैन र यिनले सामान्य  व्यक्तिलाई कुनै न कुनै भाँति आफ्नो बन्धनमा पारी रहेका हुन्छन  ।  अग्रज पत्रकार शिव ढकाल  दाईसँग अझै यसै कुरामा विवाद हुने गर्छ।  भन्नलाई त उहाँ मलाई आफ्नो एउटा आध्यात्मिक गुरु भन्न पनि पछि पर्नु हुन्न  तर हाम्रो कुरा भने कहिल्यै नमिल्ने।

उहाँ  पहिला कम्युनिस्ट विचारधाराको हुनु हुन्थ्यो।  उहाँको आस्था विश्वास मार्क्स र लेनिनमा थियो।  उहाँको जीवनमा परिवर्तन आयो,  मार्क् -लेनिनको सट्टा नारायणदत्त श्रीमाली लगायत अन्य गुरुमा उहाँको श्रद्धा घनीभूत भयो।  घरका भित्तामा लगाएका फोटा परिवर्तित भए, चर्चा गर्ने विषय बदलिए तर तात्विक भिन्नता के नै आयो ? म शिव दाईका लागि अजात-शत्रु नै बनी रहें , हिजोका दिनमा मार्क्स र लेनिनको खण्डन गर्थे वर्तमानमा नारायणदत्त श्रीमाली र अन्य धार्मिक धुरन्धरहरुको।

कुनै दर्शन र धर्ममा पूर्ण सत्यता नभएको सत्य एकतिर छ भने सबैका कुरामा जीवनोपयोगी अनेक महत्वपूर्ण विचार र दर्शन प्रतिपादित रहेको अर्को सत्य पनि उत्तीकै  सत्य तथ्य रूपमा विधमान रहेको छ।

बुद्ध दर्शनको 'देयर इज नो सेप्रेड सेल्फ',  'इन्टर इन्डिपेन्डेन्ट' र 'इम्परमानेन्ट' अवधारणा मेरो मन मस्तिष्कमा सधैं गहिरो रुपमै अंकित रहे । अब विरोधाभाष पनि कस्तो यी तीनवटा अवधारणाले बाँकी समग्र बुद्ध दर्शनलाई नै धोती लाईदिन्छ । उनका चार आर्य सत्यकै चीरहरण गरी दिन्छ ! 'नो सेप्रेड सेल्फ' सत्य हो भने दुखी को हुन्छ ? दुख मुक्त हुने उपाय  कसले गर्छ  ? ‘इन्टरइन्डिपेन्डेन्ट’ सत्य हो भने दुःख मुक्त हुन कसरी सकिन्छ र ‘इमपरमानेन्ट’को अवधारणा अनुसार दुःख  र दुःखमुक्त  पनि बदली राख्ने अवस्था मात्रै हुन्नन र ? बुद्धका यी तीनवटा कुराले मलाई उनका अन्य सबै कुरा र स्वयं उनीबाटै विमुख बनायो । सनातन हिन्दु धर्मले पनि फरक शब्दावलीले उपरोक्त  तीन वटै अवधारणाको प्रतिपादन गरेकै  छ । जान्ने बुझ्नेहरुले यसै कारण बुद्धलाई वेदान्ती  विभूषणले सम्मानित गर्ने गर्छन्।

जगत 'इन्टर इन्डिपेन्डेन्ट' नै हो । सुदूरको एउटा ताराको प्रकाशले पनि हाम्रो जीवनमा प्रभाव पारीरहेको हुन्छ । करोडौं किमी टाढाको सूर्य होस वा हाम्रो वरिपरिका नदी-पहाड-जंगल  आदि,  हाम्रो हुनुमा सबैको यथेष्ठ सहयोग भएकै हुन्छ । त के  एउटा मानिसको अर्को मानिसका लागि मानिस झैं भई बाँच्नुमा कुनै भूमिका हुन्न ? अवश्य हुन्छ।  

आफ्नै जीवनलाई फर्केर हेर्छु, मित्र मात्र होइन धोकेबाज र शत्रुहरुको सम्म सहयोग र भूमिका छ म, 'म' हुनुका पछाडि । सम्झिन्छु २०४१ सालमा नेपाल प्रवेश गर्दा ताकाको समय । कसरी ध्रुव प्रसाद अर्याल, सविता  अर्याल,  बिराटनगर नगरपालिकाका तत्कालीन प्रधानपन्च रामकृष्ण भट्टराई, महेन्द्र गोल्छा लगायत अनेकौं महानुभावले गरेको मलाई विपुल सहयोग । उहाँहरुको  सहयोगका कारण मेरो नेपाल बसाई सम्भव भयो । नेपालमा त्यो बेला नागरिकता लिन अति नै गाह्रो थियो, नेपाली मूलको भएपनि मलाई नेपाली बोल्नै न आउने, कसरी नागरिकता पाउने ? यस्तोमा उद्धारक बनी  आए प्रधानपन्च रामकृष्ण भट्टराई, ‘मेरा बन्धुहरुको नागिरकता हुन गाह्रो हुने ' भन्दै उनले पन्ध्र दिनमै नागरिकता दिलाए । नागरिकता मात्र होइन महेन्द्र गोल्छालाई चिनजान गराई जागीर पनि गराए। यही थियो मेरो जीवनको पहिलो जागीर, बिराटनगर, बाँसबारीस्थित हुलास वायर  इन्डस्ट्रीजको ‘क्वालिटी कन्ट्रोलर  र केमिस्ट’ ।

 ध्रुव  अर्याल, सविता  अर्याल मेरा जुनसुकै समस्या र बाधा हुन साथ सहयोग गर्न उपस्थित हुन आउनु हुन्थ्यो । उहाँकै पत्रिकामा हिन्दीमा बीबीसीका समाचार सुनी नेपालीमा उल्था  गर्दै नेपाली भाषा सिकियो  । मातृकाप्रसाद कोइराला  बाबाले मेरो जागीरका लागि अनेकौं व्यापारिक  प्रतिष्ठानलाई पत्र लेखी सहयोग गर्नु भएको कसरी बिर्सन सकिन्छ ?

बाटोमा भेट्टिएका एकजना पन्जाबीले कसरी मलाई काठमाडौं बोलाई जागीर दिए।  काठमाडौंमा जागीर नहुँदा किन मलाई सुरेश मल्लले फिर्ता गर्नु नपर्ने किसिमको आर्थिक सहयोग गर्नु हुन्थ्यो । बानेश्वरकी घरपटी शर्मिला केसीले बहालमा बसेकोलाई  पत्यार गरी भाईलाई कोरिया  पठाउन लाखौं रुपँया सहयोग गर्नु भयो । जुन मेरो आर्थिक अवस्थाबाट सम्भव थिएन । यो सब के 'इन्टर  इन्डिपेन्डेन्सी' होइन र ?

एकजना मित्रले ऋणमा हाली दिएर बजार क्षेत्रको जागीर त्याग्न बाध्य नबनाएको  भए म  खेलकुद परिषदको जागिरे हुने थिइन । यो  जागीरे नभएको भए पत्रकारिता र लेखनमा सक्रिय  हुने थिइन । राजधानी दैनिकको जागीरबाट साथीहरुले  रचेको चक्रका कारण  निष्कासित नभएको भए सजिलै सन्यासी पनि हुने थिइन् । आफ्नो जीवनको विश्लेषण गर्दा ‘इन्टर इन्डिपेन्डेन्ट’ र 'इमपरमानेन्ट' स्वतः प्रमाणित हुन्छ । जीवनमा साधनाको दौरान कैयन पटक 'नो सेप्रेड सेल्फ'को अनुभूतिबाट गुज्रेको छु । तर यो मेरो स्थायी र दृढ भाव अझै हुन सकेको छैन । स्थायी हुन नसकेको यसै अवस्थाले  'ट्रीनिटी'को अर्को आधार 'इमपरमानेंन्ट'लाई स्वतः सिद्ध गर्छ।

यो पनि गजब  कै संयोग हो मेरो साधनामय जीवनको प्रारम्भ बुद्धिस्ट 'मोनास्ट्री'बाटै प्रारम्भ भयो ।तिब्बेतियन बुद्धिस्टहरु साथी- सहयात्री बने । जीवनमा बारम्बार बौद्ध तीर्थ क्षेत्रमा गई  बसेको छु । हिन्दुहरुका तीर्थ भन्दा बुद्धिस्ट क्षेत्रमा स्वयंसँग साक्षत्कार गर्ने बढी अवसर पाएको छु । चाहे त्यो कर्नाटक  राज्यको मैसूर  भन्दा ९० किमी भन्दा पर अवस्थित तिब्बेतियन 'रिफ्यूजी क्याम्प' होस् अथवा मकलोडगञ्जस्थित दलाई लामा मन्दिर परिसर होस् ।  सारनाथको शान्तिले मलाई सधै आकर्षित गर्छ । बोधगयाको महाबोधी मन्दिरमा मेरो 'सेल्फ' सधै विगलित हुन्छ।  लुम्बिनी, लद्दाख, कुशीनगरको परिवेश र 'मोनास्ट्री'को अज्ञात आकर्षणले सधै तानी रहेकै हुन्छ।  तर यी सबै क्षेत्रमा खान र बस्न पैसा लाग्ने भएकोले यहाँ पुग्न मलाई साथीहरुको 'स्पन्सरशिप' चाहिन्छ।  काठमाडौँमा हुँदा  भने बौद्धनाथ, स्वयम्भू , नमोबुद्ध, रामहिटी पुगी  आफ्नो तृष्णा मेट्ने गर्छु।

आफ्नो सन्यासी यात्राक्रममा भेटिएको पहिलो  बौद्ध परम्पराको गुरु हुनु हुन्थ्यो लामा डेचेन । जर्मन नागरिक डेचेनले बौद्ध परम्परामा दीक्षित भई लामो साधनामय जीवन बिताउनु भयो। नेपाल, म्यानमार, भूटान, ताइवान, भारत एवं तिब्बतका अनेको बौद्ध स्थलमा उहाँले बसी साधना गर्नु भयो।  तिब्बतियन बुद्धिस्ट परम्पराको तीन वर्ष, तीन महीना, तीन दिन, तीन घण्टाको साधनामय जीवनको अनुभव पनि उहाँले लिनु भयो।  आफ्नो साधनाक्रममा उहाँले तिब्बत र भूटानका अनेकौं योगी रिम्पोछेहरुसँग पनि आध्यात्मिक शिक्षा प्राप्त गर्नु भएको जानकारी मेरो जर्मन महिला मित्र हालीनाले गराएको थिइन।

हालीना डेचेन प्रति गुरु भाव नै राख्थिन।

लामा डेचेनले जर्मनीमा आफ्नो संघ नै बनाउनु भएको थियो ।  कैयौं जना उहाँका शिष्य बनेर बुद्ध परम्पराको ज्ञान ग्रहण गर्थे।   हालीना पनि ती मध्ये  एक थिइन। हालीनाको पहिलो नेपाल भ्रमण  पनि लामा डेचेनको टोली सदस्यकै रूपमा भएको थियो सन् २००१ को शिवरात्रि ताका।  त्यै पहिलो भ्रमणमा नै उनको मसँग भेट भएको थियो पशुपतिनाथ मन्दिरमा।  महाशिवरात्रिको रौनक र दिव्यताले हालीनालाई अत्यन्त मोहित बनायो। त्यसपछि उनी महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा हाजिर हुन सन २००८ सम्म निरन्तर आई रहिन।  

लामा डेचेनको संघको लिंक - https://www.tashi-choeling.de/index.html

हालीना सन् २००२ को शिव रात्रिमा नेपाल आईंन् ।  यस पटक उनी लामा डेचेनको टोलीमा नआएर एक्लै आएकी  थिइन् । उनको बस्ने व्यवस्था मैले गरेको थिँए।  बौद्धको तत्कालीन 'रासबेल गेस्ट हाउस' जुन 'सेचेन मोनास्ट्री'को पाहुना राख्ने स्थान थियो, मैले त्यही उनको बस्ने प्रबन्ध गरेको थिँए।  हामी शिवरात्रिको रातभरी नै पशुपतिनाथ पछाडि बागमती पारी लहरै  रहेका साना मन्दिरमा जाग्राम बस्थ्यौं।  त्यस बेलाका मेरा धेरै पत्रकार साथीहरु पनि 'शिवबूटी' तान्न/मलाई भेट्न आउँथ्ये शिवरात्रिको रात्रि पशुपति परिसरमा ।  पदम् गौतम , सुदर्शन घिमिरे , विजय आचार्य , प्रकाश सिलवाल, नारायण अमृत ,एम डी कुलुङ लगायतका अनेको साथी मैले गर्दा शिवरात्रिमा पशुपति आउने गर्थे।

लामा डेचेन पनि आफ्नो टोली समेत आउनु भएको थियो । मसँग परिचय घनिष्ठतामा परिणत भएकोले हालीना भने यसपटक एक्लै आएकी थिइन । हालीना  काठमाडौँ रहदाँसम्म मेरो भने बास उनकै साथमा हुने गर्दथ्यो । एक दिन उनले लामा  डेचेनको बारेमा विस्तारपूर्वक सुनाउँदै उहाँलाई भेट्न जाने प्रस्ताव  गरिन् । मैले ‘चिनजानै नभएको व्यक्तिसँग सानो भेटले के नै लाभ’ हुने मनसाय व्यक्त गर्दा उनले भनिन्- तिमीले उहाँलाई चिनेका छैनौं  तर उहाँले तिमीलाई नभेटे पनि चिन्नुहुन्छ।  व्यक्तिका  बारेमा सुनेकै भरमा उहाँमा व्यक्ति चिन्ने क्षमता छ  मैले हाम्रो पहिलो भेटका बारेमा उहाँलाई भनेकी थिए । सुने पछी उहाँको तिम्रो बारेमा 'कमेन्ट' थियो- ‘उ  बोधिसत्वमार्गी उन्नत आत्मा हो, उसको संगतले तिम्रो (हालिनाको) साधनामा अभूतपूर्ण प्रगति हुन्छ' ।

एक दिन  हालीनाले लामा डेचेनलाई  फोन गरेर भेट्न आउने समय निर्धारण गरिन, हामी उहाँलाई भेट्न पुग्यौं । हालिनाले महाकालस्थित उहाँको फल्याटमा पुगी  घण्टी थिचिन्, आधी  ढोका खोली एउटा  यूरोपियन महिलाले हेर्नु भयो र हालीनालाई चिनेर ढोका खोली  भित्र लिएर जानुभयो । दुबै महिलाबिच  जर्मन भाषामा कुराकानी भयो जुुन मेरा लागी बुझ्ने कुरै भएन । पाँच मिनेटपछि लामा डेचेनले मसँग अंग्रेजीमा भन्नु भयो  जसको  सार थियो - तिमी यो नसोच म तिमीलाई चिन्दिन।  हामी सबै आत्मिक स्तरमा सहयात्री हौ, तिमीसँग अहिले यो बुझ्ने क्षमता छैन, मैले साधनाबाट आफूमा  यो क्षमता विकसित गरी सकेको  छु । तिमी पूर्वजन्मका एउटा राम्रा साधक हौ, हालिना कैयन जन्ममा तिम्रो सहयात्री भइ सकेकी छन्।  कैयन जन्म पछी प्रकृतिले फेरी तिमीहरुको मिलन गराएको छ। पूर्वजन्मको  साधनाले यो जीवनमा पनि तिमीलाई तान्छ अन्ततः  तिमी साधना पथमा आउँछौ।  मेरो तिमीलाई एउटै सन्देश छ,'टु हेल्प अदर्स इन स्पिरिचुअल पाथ इज योर वे अफ इनलाइटमेन्ट' । याद राख यो जीवनमा साधना र अध्यात्म बाहेक कुनै कुरामा पनि कसैलाई आफ्नो साधना शक्तिले मद्दत नगर्नु । पुर्व जन्ममा तिमीहरु दुबै जनाले साधनाको शक्तिले अरु-अरुलाई नाना भाँतिका कुरामा सहयोग गरेर अन्ततः आफै  च्युत  हुनु परेको थियो ।  यो मूर्खता  यस पटक कदापि नदोहोर्‍याउनु । संसारमा सबैले आफ्नो कर्मको प्रतिफल भोग्नु पर्छ  । कसैको कर्मफल भोगाइमा हस्तक्षेप  गर्नु प्राकृतिक नियमका विरुद्ध  हो । साधक र सिद्ध दुबैले यो कार्य गर्नु हुन्न । अध्यात्मको  साधना मार्गमा जसलाई पनि आफूले जानेको अनुसार, अनुभव अनुसार सहयोग गर्न सधैं तत्पर हुनु नै बोधिसत्वको  धर्म  हो ।

मसँग कुरा समाप्त गरेर उहाँ उठ्नु भयो त्यो भने अब तिमीहरु जाउ भन्ने संकेत थियो । हामी दुबै बाहिरियौ  ।

सन्यासी जीवनमा हिड्नु एक वर्ष अगाडि भएको यस घटना र प्रसङ्गको  मर्म र रहस्य  बुझ्न मलाई  झण्डै ६/७ वर्ष लाग्यो । त्यस पछि मेरा लागि न पुनर्जन्म  कै कुनै अर्थ रह्यो न ‘इन्लाइटमेन्ट’ को नै कुनै अर्थ रह्यो । मैले बुझे म सधै, अनादिकाल देखि मुक्त एवं 'एनलाइटेड' रहेको छु आफ्नै रोजाईले बन्धन र अज्ञानमा जकडिएको छु। यस पछि मसँग   आफूले बुझेको आध्यात्मिकता बाहेक सबै कुरा गौण भए । लामा डेचेन मेरो जीवन यात्रामा भेटिनु भएको पहिलो बौद्ध गुरु हुनु भयो। उहाँले भनेको 'टु हेल्प अदर्स इन स्पिरिचुअल  पाथ' मेरो जीवनको मूलमन्त्र बन्यो , बनी रहयो  होश रहेसम्म बनी रहने छ ।