शान्तिराम राई : अथाह मेहनत, लगन, धैर्य र सङ्घर्षका पर्याय

शान्तिराम राई : अथाह मेहनत, लगन, धैर्य  र सङ्घर्षका पर्याय

आशिष पौडेल  |  अन्तर्मन्थन  |  मंसिर २६, २०७७

उहाँ एउटा अत्यन्तै चलेको व्यवसायिक सङ्गीतकार । अहिलेसम्म दुई हजार भन्दा बढी सङ्गीत गरिसक्नु भएको छ । उहाँको मेहनत र सङ्गीतले उहाँलाई प्राज्ञ हुने अवसर समेत दिलाएको छ । 

तर, के यो उपलब्धि त्यसै हासिल भएको हो त ? पक्कै होइन यसका पछाडि निरन्तरको मेहनत, लगन अनि धैर्य छ । 

सङ्घर्षको कुरै नगरौँ, दुख, पीडा र अनेकौँ भुक्तमानहरु छन् उहाँकाे जीवनमा । एउटा गरिब परिवारको कनिष्ठ सदस्य जसले गायक अनि सङ्गीतकार बन्नका लागि कुन हदसम्मको हण्डर, ठक्कर खायो भन्ने कुराको दसी हो यो आलेख ।  गायक/सङ्गीतकार शान्तिराम राईको जीवनका उकाली ओराली समेटिएको एउटा दस्ताबेज समेत हो यो । 

पारिवारिक अवस्था  

उहाँको परिवार असाध्यै दुखी परिवार । हातमुख जोर्न नै धौधौ पर्थ्याे,  उहाँ भन्नुहुन्छ । खेतबारीमा काम गरेर खानुपर्ने । वर्षमा एक पटक झन्डै झन्डै अनिकाल लाग्थ्यो, उहाँ भन्नुहुन्छ । 

गाउँमा थुप्रै सामन्तहरू थिए, उहाँ भन्नुहुन्छ । छिमेकीहरू पैसा कमाएका शोषक थिए । श्रमको शोषण गर्ने । काम लगाउने तर पैसा नदिने । 

अहिले ती सामन्तको इहलीला समाप्त भइसक्यो । शायद धेरै अपराध गरेका हुनाले ती छिटै गए होलान्, उहाँको पीडा निस्कियो । बरु हामी गरिब चाहिँ मनु पर्ने तर बाँचेका छौँ, उहाँ भन्नुहुन्छ । ती सामन्ती बाहुन, क्षेत्री नभएर हाम्रै जातका राई दाजुभाइ नै थिए । बाहुन, क्षेत्रीलाई त म सामन्त नै भन्दिन, उहाँ भन्नुहुन्छ ।

सामन्तको आफ्नै परिभाषा

जो मानिस शक्तिमा छ, जो मानिसको हातमा निर्णय गर्ने अधिकार छ अनि जो मानिससँग दुई चार पैसा छ त्यो सामन्ती भइहाल्छ, उहाँ भन्नुहुन्छ । सामन्त हुनलाई जात चाँहिदैन् । दलितका लागि सामन्त दलित नै छ, आदिवासीको लागि सामन्त आदिवासी नै छ भने बाहुन, क्षेत्रीका लागि सामन्त बाहुन क्षेत्री नै छ । 

बाहुनहरू मलाई सामन्त लाग्दैनन्, उहाँ भन्नुहुन्छ । यत्रो शक्तिमा भईकन पनि उनीहरू सामन्त छैनन् । बरु उनीहरूको ठाउँमा आदिवासी त्यसमा पनि मगरहरू थिए भने उनीहरू जत्तिको सामन्त कोही पनि हुँदैन थिए, उहाँ भन्नुहुन्छ । 

आफ्नो आवाज ठिकै लाग्यो । ए, यत्तिको भए त गीत गाउन सकिन्छ भन्ने एक प्रकारको आत्मविश्वास पनि भयो, उहाँ भन्नुहुन्छ । अब चौतारीमा फेरी गीत गाउन नाम लेखाउनुभयो उहाँले । अब साथीभाइको सङ्गत बढ्दै पनि गयो । शम्भु राई लगायत अन्य गायक पनि साथी बन्दै गए । आफूले त्यस बेला सुनिरहेका सङ्गीतका हस्तीहरू तारादेवी, मिरा राणा, नातिकाजी देख्न, भेट्न अनि नमस्कार गर्न पाइयो, उहाँ भन्नुहुन्छ । उहाँहरूलाई भेट्दा त्यस बेला साक्षात् भगवान् नै भेटेजस्तो भयो भन्नुहुन्छ, उहाँ । 

उहाँ भन्नुहुन्छ, मैले देखेको मगर जत्तिको सामन्त कोही पनि हुँदैन । बाहुन, क्षेत्री त स्वभावैले बुद्धि बेचेर खाने जात हो । षडयन्त्र गर्ने नै हो । जालझेल गर्ने नै हो । बाहुनहरूलाई सामन्त भन्नै हुँदैन । उनीहरू गरेर खाने जात होइन । उनीहरू हलो जोत्दैनन् । पण्डित्याइँ गर्ने, पुरेत्याइँ गर्ने, बोलेर अनि सोचेर खाने हो । स्वभावैले त्यो त उनीहरूको पेसा नै हो ।

तर, हामी जस्तो श्रम गरेर खाने, कुटो कोदालो गरेर खाने, देश विदेशमा गएर ज्याला मजदुरी गरेर खाने मान्छे भने अलिकति ठाउँ पाए भने झन् महासामन्त भइहाल्ने हुन्छन्, उहाँ भन्नुहुन्छ । यी प्रसङ्ग कतै विवादित त हुँदैनन् भन्दा उहाँ यो लेख्नकै लागि भनिएको हो । यसमा मलाई कुनै आपत्ति छैन भन्नुहुन्छ । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०२७ साल । गते पनि २७ नै । महिना भने भदौ । जिल्ला खोटाङ । हालको दिक्तेल रुपाकोट मझुवागडी  नगरपालिका वडा नं २ । उहाँ कान्छो छोरो । दुई दाजु तथा एक दिदी । थाङ्नाको भकुन्डो, डन्डी बियो, खोपी अनि गुच्चा खेलेर आम नेपालीको जसरी नै बितेको हो उहाँको बाल्यकाल पनि, उहाँ भन्नुहुन्छ । 

खेल्ने भन्ने समय पनि कमै हुन्थ्यो त्यस बेला । त्यो बेला बारीमै बित्थ्यो समय पनि । घाँस काट्यो, बारी जोत्यो, डल्ला फुटायो, स्याउला काट्यो यसरी नै बित्थ्यो समय, उहाँ भन्नुहुन्छ । 

प्रारम्भिक शिक्षा 

उहाँको प्रारम्भिक शिक्षा गाउँको हिमालय प्राथमिक विद्यालयमा भएको हो, पाँच कक्षासम्म । फी एक मोहोर, एक रुपैयाँ यस्तै होला, उहाँ भन्नुहुन्छ । 

स्कुलको सामान्य भवन थियो । फलेक मात्र तेर्स्याइएका बेन्चहरू थिए । खासै गतिला बेन्चहरू थिएनन् । कक्षामा नौ, दश जना विद्यार्थी हुन्थे भने त्यसमा महिलाहरू भनेका केवल तीन/चार जना हुन्थे, उहाँ भन्नुहुन्छ ।

टाँक मसी भन्ने हुन्थ्यो त्यतिखेर पानीमा भिजाएर मसी बनाउनुपर्थ्यो । अनि फुल्टिनले मसी छादेर लुगा मसीदार हुन्थे । घुँडा फाटेका लुगा हुन्थे । युग नै अन्धकार, अशिक्षा र गरिबीको थियो । अहिले सम्झँदा रमाइलो लागे पनि त्यो बेला भोग्दा भने निकै कष्टप्रद थियो, उहाँ भन्नुहुन्छ । 

सरहरु रक्सीले मातेर नै स्कुल आउँथे, उहाँ भन्नुहुन्छ । शुक्रबार प्रायः स्कुल छेउमा रक्सी पार्थे अनि सरहरु रक्सी खाएर आएर पिट्ने, उहाँ भन्नुहुन्छ । यो उहाँको स्कुलको मात्र नभएर पहाडी भेगको अधिकांश स्कुलको कथा हो, उहाँ भन्नुहुन्छ । 

सरहरु रक्सी खाएर स्कुल आउनुहुन्थ्यो । र, यसलाई स्वाभाविक पनि मानिन्थ्यो । गाउँमा चिसो अनि त्यो बेलाको परिवेश नै त्यस्तै थियो, उहाँ भन्नुहुन्छ । 

खेतबारीमा मल छरेर हातै नधोईकन स्कुल आउनुहुन्थ्यो सरहरु किनभने त्यो समय नै त्यस्तै थियो । सर र विद्यार्थी दुवैको यो अवस्था सामान्य मानिन्थ्यो । अहिले सम्झँदा त्यो पनि रमाइलो लाग्छ, उहाँ भन्नुहुन्छ । 

यो २०३५ सालतिरको कुरा हो, उहाँ भन्नुहुन्छ, सरहरु कामका लागि मास्टर बन्ने एउटा कुरा, तर पूरा चेतना भएका सरहरु थिएनन, उहाँको बुझाई छ । यसपछि उहाँको माध्यमिक शिक्षाको दौडाहा सुरु भयो सरस्वती मावि दिक्तेलमा । स्कुल करिब पच्चीस मिनेटको पैदल दूरीमा थियो । 

त्यस बेला स्कुलमा पनि स्ववियु खोल्न पाइन्थ्यो । नेविसंघ र अखिलको लँडाइले पढाई नै हुँदैनथ्यो । अनि भागाभाग हुन्थ्यो के को पढाई । त्यस बेला स्कुलको फी चार पाँच रुपैयाँ थियो होला, उहाँ सम्झनुहुन्छ । सदर मुकामको स्कुल राम्रै थियो । डेस्क बेन्च पनि राम्रा थिए । नराम्रो त पढाई मात्र थियो लँडाइले, उहाँले ठट्टा गर्नुभयो । 

उहाँ सी सेक्सनमा । बयालिस जना जति थिए होला । महिलाहरू पनि सत्र अठार जना जति थिए । त्यो भनेको राम्रै उपस्थिति हो, उहाँ भन्नुहुन्छ । 

त्यस बेला स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा उहाँ भने सांस्कृतिक क्रियाकलापमा बढी भाग लिनुहुन्थ्यो । खेलकुदमा उहाँको रुचि भलिबल तथा फुटबलमा थियो । खेलकुद र सांस्कृतिक कार्यक्रमका सामग्रीहरू सबै थिए । सुविधा नै थियो, उहाँ भन्नुहुन्छ । 

उहाँको बसाई बिचतिरको बेन्चमा हुन्थ्यो । बसाई जस्तै थियो पढाई पनि । न पढन्ते न त लद्दु । उहाँले २०४४ सालमा एसएलसी दिनुभएको हो । उहाँको सेकेन्ड डिभिजन आयो । उहाँको ब्याचमा त्यस बेला न कसैको फर्स्ट डिभिजन आयो न थर्ड । सबै सेकेन्ड डिभिजन, सुन्दै रमाइलो, उहाँले भन्नुभयो ।  

एसएलसी पछि उहाँ दिक्तेल बहुमुखी क्याम्पस भर्ना हुनुभयो । तर, त्यहाँ पहिलो वर्षको पढाई पनि पूरा भएको थिएन उहाँ लाग्नुभयो काठमाण्डौंतिर । गायक बन्ने सपना लिएर । 

गायन यात्रा 

गाउँमा हुँदा त्यति बेला दसैँ तिहार तथा अन्य चाडपर्वमा सांस्कृतिक कार्यक्रम तथा नाचगान हुन्थे । दिक्तेल क्याम्पसमा पढ्दै गरेको बेला त्यहाँ एउटा प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । त्यस बेला थर्ड भएर स्टीलको गिलास उपहार पाउनु भएको थियो उहाँले । 

रमाइलो कुरो फर्स्ट र सेकेन्ड हुनेलाई चाहिँ साथीहरूले केही भनेनन् । उहाँ थर्ड हुनेलाई चाहिँ रेडियो नेपाल जा कि जा भनेर कर गरे साथीहरूले, उहाँ भन्नुहुन्छ । साथीहरूले उकासे अनि आफ्नो पनि इच्छा । त्यसपछि काठमाडौँ जाने निधो गर्नुभयो उहाँले । आमासँग सल्लाह गर्नुभयो । आखिर पैसा पनि त चाहियो काठमाडौँ जान, बस्न अनि खान । 

अनि आमाले खोज मेल गरेर उहाँलाई सोह्र सय रुपैयाँ दिएर पठाउनु भयो काठमाडौँ । त्यो भनेको निकै ठूलो रकम थियो त्यस बेला, उहाँ भन्नुहुन्छ । जबकि काठमाडौँमा डेढ सय रुपैयाँले कोठा आउँथ्यो भने अर्को डेढ सयले महिनावारी खान पुग्थ्यो, उहाँ भन्नुहुन्छ । सलेदोवाला स्टोभ बालिन्थ्यो । मट्टितेल छ, सात रुपैयाँ लिटर थियो । चामल केजीकाे बढीमा बाह्र पन्ध्र रुपैयाँ थियो होला, उहाँ भन्नुहुन्छ । 

काठमाडौँ यात्रा 

उदयपुरको गाईघाटसम्म पैदलै आएपछि त्यहाँबाट गाडी चढेर काठमाडौँ आउनुभएको हो उहाँ । २०४५ सालमा । पहिलो पटक ।

शायद, गाडीको भाडा तीस चालीस रुपैयाँ हुनुपर्छ, उहाँ भन्नुहुन्छ । मामा पनि सँगै हुनुहुन्थ्यो जो अमेरिकन दूतावासको चिफ गार्ड समेत हुनुहुन्थ्यो । भाडा उहाँले नै तिरे जस्तो लाग्छ उहाँलाई । 

सुनेको काठमाडौँ र देखेको काठमाडौँको अन्तर बल्ल गाडीबाट रत्नपार्कमा ओर्लिएपछि अनुभव भयो उहाँलाई । तर, त्यति स्पष्ट भने होइन धमिलो धमिलो । गाउँबाट आएर एकै पटक झर्दा सहर असाध्यै भव्य, अनौठो, सोचेभन्दा, कल्पना गरेभन्दा एकदमै भिन्न लाग्यो उहाँलाई । 

काठमाडाैंमा धेरै कुरा एकै पटक देख्दा कुन के हो भन्ने नै अत्तोपत्तो भएन उहाँलाई । गाडी त चलेको देखिएको छ तर, सानो, डल्लो तथा लाम्चो गाडीको नाम के हो थाहा छैन । गुडेको देखे जति सबै गाडी, उहाँ भन्नुहुन्छ । पछि मात्रै थाहा भयो कोही ट्याक्सी, कोही मिनिबस अनि कोही ट्याम्पो पो रहेछ । 

उहाँको काठमाडौँ बसाई लाजिम्पाट उत्तर ढाेकामा भयो । मामाको डेरामा । तीन महिना मामासँगै बस्नुभयो उहाँ । मामाले उहाँलाई काठमाडौँ चिनाउनुभयो । सिकाउनुभयो । 

हिँडाएर असन, इन्द्रचोक, महाराजगन्ज तथा पुतलीसडक लिएर जानुहुन्थ्यो । भान्जाले ठाउँको नाम जानोस् भनेर उहाँले तीन पटक हिँडाउनुहुन्थ्यो रे एउटै ठाउँ । भान्जा नहराओस् अनि हरायो भने सञ्चारको सुविधा नभएको त्यस बेलाको काठमाडौँमा कहाँ खोज्नु भन्ने सतर्कता समेत थियो त्यो । 

कथंकदाचित बाटो बिरायो भने चोकमा गएर फोन गर्ने तथा त्यसका लागि गोजीमा फोन नं राख्न समेत भन्नुहुन्थ्यो मामाले ।काठमाडौँका रहन सहन, बोल्ने, लाउने तथा खाने ढङ्ग पनि मामाले बिस्तारै सिकाउँदै लग्नु भयो उहाँ भन्नुहुन्छ । 

तीन महिना पछि भने मामाले एउटा साइकल किनिदिनुभयो । सिकाउनुभो र उहाँ साइकल चलाउन सक्ने समेत हुनुभयो । काठमाडौँमा बाँच्न सजिलो छैन त्यस कारण पैसा पनि कमाउनु पर्छ भनेर उहाँले बांगेमुढाको एउटा पत्रिका पसलमा काम समेत लगाइदिनुभयो । 

त्यस बेला हेराल्ड ट्रिब्युन, टाइम्स अफ इण्डिया लगायतका पत्रिका आउँथ्यो उक्त पसलमा भारतबाट । र, त्यो पत्रिका उहाँले दूतावास लगायत विभिन्न स्थानमा पुर्याउनु पर्ने हुन्थ्यो । उक्त कामबाट उहाँले दुई तीन सय रुपैयाँ थाप्नुहुन्थ्यो मासिक । त्यो राम्रै पैसा थियो त्यस बेला । त्यो नै उहाँको पहिलो कमाई थियो । 

त्यो पैसाले उहाँले टाइपराइटर सिक्नुभयो लाजिम्पाटमा । त्यसबेला कम्प्युटर आइसकेको थिएन । महिनाको साठी रुपैयाँ थियो टाइपराइटर सिकेको, उहाँ विगततिर लाग्नुभयो । काठमाडौँ आउनुका उहाँका मुख्य तीन उद्देश्य थिए । गीत गाउने, उच्च शिक्षा हासिल गर्ने र  अनि जागिर खाने । यी मध्येका उद्देश्य क्रमशः पूरा पनि हुँदै थिए । 

रेडियो नेपाल प्रवेश 

मामा आफैँ पनि सिंहदरबार छिर्नु भएको थिएन । त्यसैले उहाँले सिंहदरबार त देखाइदिनुभयो तर, जाने कसरी ? उहाँलाई बित्यास पर्याे । उहाँले सिंहदरबार प्रवेशका लागि हप्तौँ कोसिस गर्नुभयो । खासमा बोल्न पनि राम्रोसँग आउँदैनथ्यो । कसरी छिर्ने केही थाहा थिएन । पछि गएर बल्ल पुलिसलाई सोध्नुभयो । रेडियो नेपाल भित्र छ भनेर त भने तर, फेरी रेडियो नेपाल पुग्न गाह्रो भयो ।

बल्ल रेडियो नेपाल भने पुग्नुभयो । तर, फेरी गेटमा रोके । अनि उहाँले गेटमा आफू चौतारी कार्यक्रमका लागि गीत गाउन आएको भनेपछि नाम टिप्नुभयो उहाँहरूले । तीन महिनामा बल्ल पालो आउने रहेछ त्यस बेला चौतारीमा पनि उहाँ भन्नुहुन्छ ।

तीन महिना पछि बल्ल पालो आयो अनि गीत पनि गाइयो, उहाँ भन्नुहुन्छ । त्यस बेला चौतारी कार्यक्रम पाण्डव सुनुवारले सञ्चालन गर्नुहुन्थ्यो । रेडियो नेपालबाट आफ्नो नाम भनाउने एउटा ठुलो धोको थियो उहाँको । जो तीन महिनापछि बल्ल पुरा भयो । 

उहाँले आफूले गाएको पनि सुन्नुभयो । आफ्नो आवाज ठिकै लाग्यो । ए, यत्तिको भए त गीत गाउन सकिन्छ भन्ने एक प्रकारको आत्मविश्वास पनि भयो, उहाँ भन्नुहुन्छ । अब चौतारीमा फेरी गीत गाउन नाम लेखाउनुभयो उहाँले । अब साथीभाइको सङ्गत बढ्दै पनि गयो । शम्भु राई लगायत अन्य गायक पनि साथी बन्दै गए । 

आफूले त्यस बेला सुनिरहेका सङ्गीतका हस्तीहरू तारादेवी, मिरा राणा, नातिकाजी देख्न, भेट्न अनि नमस्कार गर्न पाइयो, उहाँ भन्नुहुन्छ । उहाँहरूलाई भेट्दा त्यस बेला साक्षात् भगवान् नै भेटेजस्तो भयो भन्नुहुन्छ, उहाँ । 

त्यो समयमा कलाकारलाई असाध्यै उच्च सम्मान गरिन्थ्यो । त्यस कारण पनि यो भाव उत्पन्न भएको हो, उहाँ भन्नुहुन्छ । अहिले कसैलाई धेरै अपमान गरिन्छ भने त्यो कलाकार हो, उहाँको चित्त दुखाई छ यसमा । त्यसपछि अरु गीत गाउँदै गइयो त्यसले पनि वातावरण सामान्य बन्दै गयो उहाँ भन्नुहुन्छ । 

स्कुलको जागिर 

केही समय पछि उहाँले बौद्धको एउटा स्कुलमा जागिर खान थाल्नुभयो । गणित शिक्षकका रुपमा । उहाँ गाउँमा हुँदा पनि गणितमा भने बिच्छु नै हुनुहुन्थ्यो, उहाँ भन्नुहुन्छ । 

कामका रुपमा पत्रिका पुर्‍याउने पहिलो भए पनि संस्थागत जागिरका रुपमा भने स्कुलको मास्टर नै उहाँको पहिलो जागिर थियो । स्कुलमा तलब थियो छ सय रुपैयाँ । यो भनेको त्यस बेला भारी रकम हो उहाँ भन्नुहुन्छ । त्यस बेला अनामनगरमा दश हजार आनामा त जग्गै पाइन्थ्यो, उहाँले रमाइलो किस्सा सुनाउनु भयो । 

त्यो बेला उहाँ मामासँग छुट्टिएर एक्लै बस्न थालिसक्नु भएको थियो । र, गायक शम्भु राईसँग सङ्गीत सिक्ने, गाउने र उहाँले कार्यक्रमतिर लैजाने पनि गर्न थाल्नुभएको थियो उहाँलाई । 

अलिक घनिष्ठता गाँसिसकेको थियो शम्भु राईसँग उहाँको । अनि कार्यक्रमबाट फर्किएपछि शम्भु राईले त्यस बेला चलेको रुस्लान भोड्का र खाजा पनि ख्वाउने गर्नुहुन्थ्यो, उहाँ भन्नुहुन्छ ।उक्त छ सय रुपैयाँले भने उहाँले एउटा खाट, स्टोभ र केही घरायसी सामग्री किन्नुभयो । बसाई अब अलि व्यवस्थित भयो, उहाँ भन्नुहुन्छ । 

पछि उहाँले शम्भु राईको बालबच्चालाई ट्युसन पढाइदिने काम पनि गर्नुभयो । शम्भु राईले आफूले चलाई राखेको एउटा पुरानो हार्मोनियम पनि दिनुभयो उहाँलाई । अनि कोठामा हार्मोनियम बजाउँदै अभ्यास गर्दै बस्न थाल्नुभयो । 

त्यो बेलामा सञ्चारको भने चरम अभाव नै थियो, उहाँ भन्नुहुन्छ । गाउँबाट बाबुआमा छोडेर आएको होम सिक हुन्थ्यो । अब काठमाडाैंबाट पनि तुरुन्तै बुरुक्कै भएर गाउँ जान सकिँदैनथ्यो, उहाँ भन्नुहुन्छ । कारण गाडीको टिकट काट्ने पैसा नै हुँदैनथ्यो । कोठाभाडा, राशनको उधारो, यसो चिया नास्ता अनि कहिलेकाँहीको सुरापानले खल्ती सँधै खाली, उहाँले हँसाउनुभो । 

अन्य जागिरका प्रस्ताव

काठमाडौँ आउँदाका उहाँका तीन सपना मध्येको एक थियो जागिर । उहाँको मामा पर्ने त्यस बेला राष्ट्रिय पञ्चायतका उपाध्यक्ष हुनुहुन्थ्यो पर्शुराम राई । 

उहाँको मामाले उहाँलाई साझा बसको कण्डक्टरमा जागिर लगाइदिनुभो । तर, उहाँलाई भने यो जागिर पचेन । उहाँले ल म यो जागिर चाहिँ गर्दिन भनेर भन्नुभयो । तर, उहाँलाई पछि मात्रै थाहा भयो कि यो पैसा कमाउने ठाउँ रहेछ भन्ने । 

पछि फेरी उहाँले नै सडक विभागको सुपरभाइजरको जागिर लगाइदिनुभयो । त्यसका लागि धरान जानुपर्ने थियो । तर, उहाँलाई भने काठमाडौँमै बस्नुपर्ने हुनाले त्यो पनि गर्नुभएन । 

यी दुबै जागिरले पैसा त दिन्थे तर, मेरो सङ्गीत कर्ममा असर पर्थ्याे, उहाँ भन्नुहुन्छ । पैसा कमाइन्थ्यो होला तर नाम भने हुने थिएन । सङ्गीत सधैँ मेरो पहिलो प्राथमिकता रह्यो, उहाँ भन्नुहुन्छ ।

स्कुलको जागिर पनि तीन चार वर्षसम्म मात्र गर्नुभयो उहाँले । त्यसपछिकाे कर्म, साधना जे जे भनेपनि सबै सङ्गीत मात्रै हो, उहाँ भन्नुहुन्छ । काठमाडौँ आएर राम्रो जागिर खाने सपना भने उहाँको पूरा भएन बाँकी अरु भने पूरा हुँदै गए । शायद जागिरको सपना पूरा भएको भए अरु पूरा हुँदैनथ्यो होला, उहाँ भन्नुहुन्छ । 

रेडियोको गायक

उहाँले २०४६ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गर्नुभयो । अनि सङ्गीत गर्न थाल्नुभयो, तिमी तारे भिर म त लहरा, तिमी मै म लहराउँछु तिमी सहारा, धोका दियौ तिमीले कलेजोमा घाउ लाग्यो जस्ता चर्चित गीतहरू । 

यसले उहाँको जीवनको मोड नै अर्कै भयो । काठमाडौँ आउँदाका उहाँका सपनाहरू पूरा हुँदै थिए । उहाँले काठमाडौँ आएर रत्न राज्य लक्ष्मी क्याम्पस भर्ना हुनुभयो र बिस्तारै समाज शास्त्रतर्फ स्नातकोत्तर पनि गर्नुभयो । 

त्यस्तै सङ्गीतमा पनि इलाहाबादको एम म्युजको कोर्स गर्नुभयो । जो काठमाडौँबाटै गर्न पाइन्थ्यो । 

संघसंस्थामा संलग्नता

हाल उहाँ सङ्गीतकार सङ्घको अध्यक्ष हुनुहुन्छ । रोयल्टी सङ्कलन समाजको महासचिव । आदिवासीको पहिचान लगायत अन्य झन्डै दर्जन संस्थामा रहेर काम गरिसक्नु भएको छ । 

उहाँले नेपाली काँग्रेसमा सत्ताइस वर्ष सांस्कृतिक मोर्चा सम्हालेर बस्नुभएको थियो । अहिले भने उहाँ नेकपाको जनसाँस्कृतिक महासङ्घको केन्द्रीय सदस्य । 

सम्मान तथा पुरस्कार

विभिन्न सङ्घसंस्थाले दिएका सम्मान तथा पुरस्कारको त लेखाजोखा नै छैन, उहाँ भन्नुहुन्छ । राष्ट्रिय प्रतिभा पुरस्कार सम्मान २०७० बाट पुरस्कृत हुनुभएको छ । 

प्रबल जनसेवाश्री चौथोबाट पनि उहाँ विभूषित हुनुभएको छ । तर, कोरोनाका कारण उक्त सम्मान भने उहाँले प्राप्त गर्न सक्नु भएको छैन । 

विवाह 

उहाँको दुई वटा विवाह । प्रेम विवाह थियो पहिलो । २०५१ सालमा । त्यो भने दश वर्षपछि आएर टुगिंयो । पहिलो श्रीमतीका तर्फबाट उहाँको एउटा छोरा जो हाल उहाँसँगै हुनुहुन्छ । 

त्यस्तै उहाँको दोस्रो विवाह २०७३ सालमा भएको हो । त्यो पनि प्रेम विवाह नै हो । यताबाट पनि उहाँको तीन वर्षको छोरा हुनुहुन्छ । 

अन्त्यमा   

एउटा कृषि प्रधान मुलुकले अरबौँको खाद्यान्न आयात गरेर देशको पैसा विदेश पठाइरहेको छ । त्यस्तै अवस्था हिजो सङ्गीतमा पनि थियो । तर, उहाँजस्ता स्रष्टा, सर्जकका कारण नेपाली सङ्गीत आत्मनिर्भर भएको छ । सङ्गीतको आयात घटेको छ । 

उहाँहरू जस्ता एउटा सामान्य परिवारबाट आएको मानिसको अथक मेहनत र प्रयासले यति ठूलो उपलब्धि नेपाली सङ्गीतले, समाजले हासिल गर्न सकेको छ । यहाँ गर्दा जे पनि हुन्छ भन्ने कुरा उहाँको जीवनकाबाट सिक्न सकिन्छ ।