वायु जब समतामा प्राप्त हुन्छ सोही अवस्थाको नाम निर्वाण हो

वायु जब समतामा प्राप्त हुन्छ सोही अवस्थाको नाम निर्वाण हो

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  मंसिर २७, २०७७

  ते तं भुक्त्वा स्वर्गलोकं विशालं 
 क्षीणे पुण्ये मत्र्यलोकं विशन्त । 
  एवं त्रयीधर्ममनुप्रपन्ना
  गतागतं कामकामा लभन्ते ।। २१ ।।

 
अन्वय र अर्थ – ते = तिनीहरू, तं = त्यो, विशालं = विशाल, स्वर्गलोकं = स्वर्गलोकलाई, भुकत्वा = भोग गरेर, पुण्ये = पुण्य, क्षीणे (सति) = क्षय भएका छँदा, मत्र्यलोकं = मत्र्यलोकमा, विशन्ति = प्रवेश गर्दछन्, भोगकामाः = विषय वासना युक्त भएका छँदा, त्रयीधर्मं = वेदत्रयीविहित धर्म, अनुप्रपन्नाः (जनाः) = अनुष्ठान गर्ने जनहरू, एवं = यस प्रकार, गतागतं = आवागमन, लभन्ते = प्राप्त गर्छन् ।

भावार्थ – ती मानिसहरू विशाल स्वर्गलोकको भोग गरेर पुण्यक्षय हुनाले मत्र्यलोकमा प्रवेश गर्छन् । भोग कामनाका साथ वेदत्रयविहित धर्मको अनुष्ठान गर्नाले यस प्रकारको आवागमनमा प्राप्त हुन्छन् । 

विशिष्टार्थ – पुण्य पु =पुंज्+ (देह) + ण = निर्वाण,    स्व– स्वरूप अर्थात् मलमूत्रमय देहलाई त्यागेर  स्व–स्वरूपमा अवस्थान हुनुको नाम पुण्य हो ।  अर्थात् जब मैले देहामिमान छोडेर आप्mनो स्वस्वरूपमा स्थित भएँ, तब मेरो चंचलता नष्ट भयो, सोही चंचलता शून्य अवस्थालाई पुण्य भन्दछन् । 

यसको व्यक्तिक्रम नै पाप हो । जबसम्म ‘स्व’ स्वरूपमा अवस्थान छ तबसम्म मात्र अनन्तत्व वा ब्रम्हत्व छ । यो विशाल, निस्तरंग, अवधिरहित छ ।  जबसम्म साधक सजीव समाधिमा पनि यस विशाल ब्रम्हको संस्पर्श सुखको अनुभव गर्दछ, तबसम्म,साधकमा माया विकारको केही पनि स्फुरण हुँदैन । 

यो विश्वकोष मेरो गर्भमा नै छ र ती देवता पनि विश्वातिरिक्त नभएका कारण तब ‘म’ हुन्छन् । अन्य देवताको उपासना गरेर पनि साधकले मेरो नै उपासना गरेको हुन्छ । परन्तु भेदज्ञानले मोहित भएर अज्ञानताका कारण साधक, ती देवताको ‘म’ देखि पृथक् भावले भजन गर्दछ र मनमा सोच विचार राख्दछ – तिनै देवताले उसको कल्याण गर्ने छन् । यो जुन भ्रम हो त्यही अविधि हो ।

जसै जसै त्यस अवस्थाको शेष भैरहन्छ अर्थात् त्यो गर्भस्थ संसार बीज समाधि भङ्गका लागि संसार रस ग्रहण गरिरहन्छ, तब तब बिस्तारै बिस्तारै मर जगत्को देहाभिमान पनि आइरहन्छ र त्यो स्वरूप स्थितिको स्थिरत्व कम भएर चंचलताको बृद्धि भइरहन्छ । यो जुन स्थिरत्व र चंचलत्व छ यो दोस्रो स्तर वा स्वर्ग हो । यी दुबै नै त्रिगुणमयी मायाको लीला हो । यसमा आवागमन अर्थात् आउनु जानु सिद्ध गर्दछ, किन कि क्रिया गरेर क्रियाको परावस्थामा रहने जुन अभिलाषा हो, त्यो पनि काम हो ।

    अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते ।
    तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम् ।। २२ ।।

अन्वय र अर्थ – अनन्याः (सन्तः) = अनन्यभावले युक्त भएका छँदा, मां = मलाई, चिन्तयन्तः = निरन्तर चिन्तन गर्ने, ये = जुन, जनाः = मानिस (सन्यासी) हरू, पर्युपासते = उपासना गर्दछन्, अहं = म, तेषां = ती नित्याभियुक्तानां = निरन्तर मेरो चिन्तन गर्नेहरूको, योगक्षेमं (योग = भगवत्स्वरूपको प्राप्ति, क्षेमं = भगवत् प्राप्तिको लागि साधनको रक्षा) = योग र क्षेम यी दुबै काम, वहामि = बहन गर्छु ।

भावार्थ – जुन मानिसहरू अनन्यभावले युक्त भएर मेरो चिन्तन गर्दै गर्दै उपासना गर्दछन्, म तिनै नित्ययुक्त साधकहरूको योग र क्षेनलाई बहन गर्दछु ।

विशिष्टार्थ – चित्तको धर्म चिन्तन हो, त्यो चित्तले जब ‘म’ विना अरू कसैको चिन्तन गर्दैन भने अनन्य भएर ‘म’ को चिन्तन गरेको ठहर्छ । खयसरी जुन साधक ‘म’ मा निर्भर रहेर, संसारलाई विर्सेर स्थिर रहन्छ त्यो नित्य (‘म’) मा  अभियुक्त (अभि = निर्भय, युक्त = मिलेर एक हुनु, जस्तो कलमी वृक्ष) हुन्छ अर्थात् ‘म’ मा युक्त भएर निर्णय हुन्छ, कारण ‘म’ मा परिणाम छैन, किन्तु साधकको संसार अवस्थामा मात्र केवल परिणामता छ । 

 अतः म मा स्थिर रहनाले साधकको त्यो परिणमनता त्यागिएर अपरिणामित्व प्राप्त हुन्छ । भय केवल मर्नुको हो, त्यो हटेर जान्छ । यसरी बरावर रहनाले भगवान् स्वयं साधकको योग र क्षेम बहन गर्नुहुन्छ । 

अप्राप्त वस्तुको प्राप्ति योग हो । अब ‘मत्संस्था शान्ति’ नै साधकले प्राप्त गर्ने वस्तु हो, यो भन्दा ठूलो अरू पाउने बस्तु केही छैन (हेरौं ५ अ. को १५ र २२ औं श्लोकको विशिष्टार्थ) । 
अतएव मत्संस्था शान्ति नै योग हो र क्षेम प्राप्त वस्तुको रक्षण हो । अनन्य भएर ‘मां’ चिन्ता गर्न सक्नाले अरू साधकको कुनै भावना रहदैन, त्यो मत्संस्था शान्ति        (आत्मभावावस्था) पाउनलाई चेष्टा पनि गर्नु पर्दैन र प्राप्त भएपछि त्यसको रक्षा गर्ने चेष्टा पनि गर्नु पर्दैन । 
किनकि, तब साधक भाग्यवान् हुन्छन्, त्यसकारण भगवान्ले साधकको भारी वहन गर्नुहुन्छ ।

येऽप्यन्यदेवता भक्ता यजन्ते श्रद्धयान्विताः ।
तेऽपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम् ।। २३ ।।

अन्वय र अर्थ – कौन्तेय = हे कौन्तेय १, ये = जुन मानिसहरू, अपि = पनि, भक्ताः = भक्त, श्रद्धयान्विताः      (सन्तः) = श्रद्धाले युक्त भएर, अन्य देवताः = अरू देवताहरूको, यजन्ते = पूजा गर्दछन्, ते अपि = तिनीहरू पनि, मां एव = मलाई नै,  अविधिपूर्वकं = अविधिपूर्वक    (अज्ञानपूर्वक), यजन्ति = पूजा गर्दछन् ।

भावार्थ – हे कौन्तेय ! जुन मानिसहरू, भक्ति तथा श्रद्धाले युक्त भएर अरू अरू देवताहरूको भजन पूजन गर्दछन्, तिनीहरू मलाई नै अविधिपूर्वक भजन गर्दछन् ।

विशिष्टार्थ – भक्ति र श्रद्धाले युक्त भएर ‘म’ देखि भिन्न अन्य देवताहरूको भजन पूजन गरिए तापनि वास्तबमा ती देवताहरू ‘म’ लाई छोडेर कहिल्यै अलग हुन सक्दैनन् ।  किनकि साधकले जब जुन देवताको भजन गर्दछ, तब उसको अन्तःकरणले तिनै देवताको आकारमा मिलेर सोही देवताको रूप धारण गर्दछ । 

यो विश्वकोष मेरो गर्भमा नै छ र ती देवता पनि विश्वातिरिक्त नभएका कारण तब ‘म’ हुन्छन् । अन्य देवताको उपासना गरेर पनि साधकले मेरो नै उपासना गरेको हुन्छ ।
परन्तु भेदज्ञानले मोहित भएर अज्ञानताका कारण साधक, ती देवताको ‘म’ देखि पृथक् भावले भजन गर्दछ र मनमा सोच विचार राख्दछ – तिनै देवताले उसको कल्याण गर्ने छन् । यो जुन भ्रम हो त्यही अविधि हो । यस प्रकारको पूजनको फलस्वरूप पुनरागमन भइरहन्छ ।

    अहं हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च ।
    न तु मामभिजानन्ति तत्वेनातश्च्यवन्ति ते ।। २४ ।।

अन्वय र अर्थ – हि = किन कि, अहं = म, सर्वयज्ञानां = श्रौत र स्मार्त सम्पूर्ण यज्ञहरूको, भोक्ता = भोक्ता, च = र, प्रभुः एव च = ती यज्ञहरूको  स्वामी पनि हुँ । तु = किन्तु, ते = ती अज्ञानीहरू, मां = मलाई, तत्वेन = यथार्थरूपले, न अभिजानन्ति = जान्न सक्दैनन्, अतः = त्यसकारण, च्यवन्ति = पुनरावृत्तिमा प्राप्त हुन्छन् ।

भावार्थ – किन कि सर्वयज्ञको भोक्ता पनि म नै हुँ, प्रभु पनि म नै हुँ, परन्तु तिनीहरू यथार्थ रूपले मलाई जान्न सक्दैनन् । त्यसकारण पुनरावृत्तिमा प्राप्त हुन्छन् ।

विशिष्टार्थ –अग्निमा साकल्य (समस्त वस्तु) को आहुतिको नाम यज्ञ हो । यो श्रुतिउक्त तथा स्मृति उक्त विधान हो । श्रुति अशरीरी वाणीलाई भन्दछन् भने स्मृति पुराकृत      (पहिले गरिएको) कार्यको स्मरणलाई भन्दछन् । 

यी दुबैको वीचमा म छु । म जब सर्वस्वरूप संसाररूप अज्ञानतालाई ‘म’ मा आहुति दिन जान्छु तब त्यो जुन श्रुति उक्त यज्ञ, स्मृति उक्त यज्ञ र यो संसाररूपी अज्ञानताको आहुतिरूपी यज्ञ हो यी तीनैको भोक्ता र प्रभु ‘म नै म’ हुँ । 

यस ‘म’ लाई नजानेर अनि एक पृथक् ‘म’ लाई बनाउनाले नै पुनरावृत्ति अवश्यंभावी छ ।

यान्ति देवव्रता देवान् पितृन् यान्ति पितृव्रताः ।
भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनो ऽपि माम् ।।२५।।

क्रमश:

याे पनि 

साधनाको  शेष : ज्ञानाग्निमा अज्ञानता आफै आहुतिमा जलेर चिरकालका लागि भस्म हुन्छ

काठभित्रकाे अग्नि : उत्पत्ति हुने स्थानलाई नै खान्छ अनि पछि आफूले पनि विश्राम लिन्छ

धर्म संकल्प र विकल्प :मनको त्राण जसले गर्छ त्यही मन्त्र हो

जगतको मतमा मत : बाँच्नुको नाम कल्याण हो र मृत्युको नाम अकल्याण

जसको एक निश्वास पनि खेर जाँदैन त्यही सुरेन्द्र हो