एचआइभी सङ्क्रमित ७९९ द्वारा  नियमितरूपमा एआरटी औषधि सेवन

एचआइभी सङ्क्रमित ७९९ द्वारा  नियमितरूपमा एआरटी औषधि सेवन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर २८, २०७७

डोटी । जिल्लामा ७९९ एचआइभी सङ्क्रमितले नियमितरूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् । हालसम्म जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा अहिले नियमितरूपमा ७९९ जनाले एआरटी सेवन गरिरहेको पाइएको छ । जिल्लामा विगतका वर्षहरुमा एचआइभी सङ्क्रमित आफू सङ्क्रमित भए पनि रोग लुकाएर बस्ने गरेकामा अहिले भने खुल्न थालेको बताइएको छ ।

डोटीमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बर्सेनि घट्न थालेको पाइएको छ । पछिल्लो चार वर्षको तथ्याङ्क हेर्ने हो भने डोटीमा सङ्क्रमित घट्न थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआइभी सङ्क्रमितमा कामका लागि भारत गएर फर्केका र उनीहरुका कारण घरमा श्रीमतीमा पनि एचआइभी देखिने गरेको पाइएको छ ।

एआरटी सेवनका कारण आफूलाई निकै सहज भएको डोटीका सङ्क्रमित बताउँछन् । आर्थिक वर्ष २०७३/७४ मा ४०, २०७४/७५ मा ३५ र २०७५/७६ मा २९ जना एचआइभी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, 'अर्थाभावका कारण सङ्क्रमितको दैनिक जीवनयापनमा समस्या परिरहेको भए पनि उनीहरुको उपचारमा उल्लेख्य प्रगति भएका कारण सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।' एचआइभी सङ्क्रमित बढी हुने क्षेत्रमा सुदूरपश्चिम प्रदेशको डोटी तेस्रो जिल्ला हो । पहिलो कैलाली तथा दोस्रो जिल्लाका रूपमा अछाम पर्दै आएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार एचआइभीका कारण जिल्लामा १७२ जनाको मृत्यु भइसकेको छ ।

राज्यले एचआइभी सङ्क्रमितका सवालमा केन्द्रित रहेर अहिलेसम्म पनि खासै ठोस कार्यक्रम ल्याउन नसक्दा जिल्लाका सङ्क्रमित दुःखमा पर्ने गरेको सङ्क्रमितहरुको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाजका अध्यक्ष कमलादेवी मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीलाई राज्यका सबै क्षेत्रबाट बेवास्ता गरिएको छ, गाउँघरमा एचआइभी सङ्क्रमितका समस्या जस्ताका तस्तै छन्, सङ्क्रमितका समस्यामा ध्यान दिन जरुरी छ ।'